सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा विदेशी चलखेल भयोः प्रचण्ड

आइतबार, २५ मङ्सिर २०७९, १७ : ०९
आइतबार, २५ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ हालै सम्पन्न निर्वाचनमा विदेशी चलखेल भएको दाबी गरेका छन् । उनले नेपालको भूराजनीतिकमा अमेरिका र चीनको स्वार्थ रहेको समेत बताए । 

आइतबार प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनावमा कसलाई हराउने, कसलाई जिताउनेसम्मको चलखेल भएको दाबी गरे । विदेशी चलखेल बढेको सन्दर्भमा पार्टी सचेततापूर्वक अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । 

प्रचण्डले पछिल्लो समय माओवादीको परिचय हराउँदै गएको भन्दै चिन्ता समेत व्यक्त गरे । माओवादीलाई युनिक आइडेन्टिटी कायम गराउन पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा प्रचण्डले अप्ठ्यारो अवस्थामा पनि प्रेस सेन्टर गतिशील रहेको बताए । 

माओवादी शान्ति प्रकृयामा आएपछि एक अर्कालाई विश्वास गर्न छाडेको बताउँदै प्रचण्डले नेताहरूको बीचमा एकता नरहेको कारण चुनावमा कमजोर भएको बताए । ‘पार्टीमै एकले अर्कालाई हराउनमा खुशी माने’,  उनले भने, मधेसमा संगठन नभएको होइन तर त्यहाँ एक अर्कालाई हराउने काम गरे ।’

जिल्ला  र प्रदेशबाट आएको प्रतिवेदन अध्ययन गर्दा नेताहरू कसैन कसैबाट प्रयोग भएको देखिएको बताउँदै अध्यक्ष प्रचण्डले गुटबन्दी र अराजकताले पार्टी महान तथा गौरवशाली हुन नसक्ने बताए । पार्टीका सबै नेता नुन खाएको कुखुरा जस्तै भएको टिप्पणी गर्दै उनले प्रतिक्रियावादीलाई क्रियाकलाप परास्त गर्न सक्नुपर्ने बताए ।

चुनावमा माओवादी कमजोर भएपनि सत्ता र सरकारको साँचो आफूसँग रहेको बताउँदै उनले अहिले पनि केही नबिग्रेको र पार्टीलाई एकताबद्ध बनाएर बलियो बनाउन सकिने बताए । कार्यक्रममा माओवादीका पोलिटब्युरो सदस्य ओम शर्माले पार्टीको संगठनप्रति नेतृत्व पक्षले ध्यान नदिएको गुनासो गरे । 

पार्टीको प्रचार मोर्चा कमजोर भएको भन्दै उनले प्रचार मोर्चाको जिम्मा युवालाई दिन सुझाव पनि दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप