किसानको धान खरिद नगरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रदेश कार्यालयमा तालाबन्दी
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ । धानको मूल्य निर्धारण गरेपनि धान खरिद नगरेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रदेश कार्यालयमा आइतबार तालाबन्दी गरिएको हो ।
नेकपा एमालेको अखिल नेपाल किसान महासंघ र नेपाली कांग्रेसको नेपाल किसान महासंघले संयुक्त रूपमा कार्यालयमा तालाबन्दी गरेका हुन् । सरकारले कार्तिक १६ गते मोटा र मसिनो धानको मूल्य निर्धारण गरेको थियो । तर त्यो मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग धान खरिद नगर्दा किसानले सस्तोमा धान बेच्न बाध्य भएका छन् ।
अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य डेजी पाण्डेले सरकारले तोकेकै मूल्यमा तत्काल किसानको धान खरिद गर्न दबाब दिन कार्यालयका तालाबन्दी गरेको बताए ।
सरकारले मोटो धानको मूल्य प्रति क्वीन्टल २ हजार ९७६ र मसिनो धानको मूल्य क्वीन्टल ३ हजार १२८ रुपैयाँ निर्धारण गरेको छ । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म कुनै तयारी नगरेको पाइएको छ । कम्पनीले किसानको धान खरिद नगर्दा किसानले २ हजार २ सय रुपैयाँ प्रति क्वीन्टलमा बेच्न बाध्य छन् ।
पाण्डेले भने, ‘किसानको धान खरिद गर्ने भन्दै स्थापना गरिएको कार्यालयले समयमा धान खरिद नगर्दा किसान घाटा खाएर बेच्न बाध्य छन् । तत्काल अब खरिद गर्नु पर्छ भनेर तालाबन्दी गरेका हौँ । अझै किसानको धान खरिद नगरे थप सशक्त आन्दोलन गर्न बाध्य हुने छौँ ।’
कम्पनीले गत वर्ष पनि किसानको धान खरिद गरेको थिएन । बाढीले गर्दा धान भिजेको भन्दै कम्पनी किसानको धान खरिद नगरेको हो । चालु वर्षमा भने विभिन्न बहानाबाजी गर्दै हालसम्म खरिदको तयारी नगरेको हो ।