बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चुनावले रोकिएको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम फेरि सुरु

आइतबार, २५ मङ्सिर २०७९, १६ : ३३
आइतबार, २५ मङ्सिर २०७९

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम सुरु गरेको छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आइतबारदेखि पुनः सुरु गरिएको हो ।

आइतबार बिहान ११ बजे देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा संचालन भएको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट श्रमिकहरूले फोनमार्फत आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् ।

कार्यक्रममा मन्त्री कुँवरसँग प्रत्यक्ष फोनमार्फत कुरा गर्दै देश विदेशबाट १० जना श्रमिकहरुले आफ्ना गुनासा, समस्या र सुझाब राखेका थिए ।  मन्त्रीसँग श्रमिकहरुले वैदेशिक रोजगारीमा ठगिएका सबैभन्दा बढि गुनासा र समस्याहरू राखेका छन् । मन्त्री कुँवरसँग श्रमिकहरूले सम्झौता अनुसार विदेशमा आफूले तलब सुविधा नपाइएका, विदेश पठाउँछु भनेर ७ लाख ५० हजारसम्म पैसा लिएको गुनासा सुनाएका थिए ।

फोनमार्फत मन्त्री कुँवरलाई दुबई, मलेशिया, साउदी लगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासाहरू बढी आएका छन् । एकजना श्रमिकले सुर्खेतबाट फोन गर्दै आफूलाई क्यानडा पठाइदिने भन्दै करिब ६ लाख ठगेको गुनासो मन्त्री कुँवरलाई सुनाएका थिए ।

दश जना श्रमिककै गुनासा र समस्याहरू सुनेपछि जवाफमा मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व जान लागेको देश, आफूले गर्ने काम, पाउने सेवा सुविधा, पठाउने म्यानपावर वा व्यक्तिका बारेमा राम्ररी बुझ्ने, जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्ने लगायतका कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । 

श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याहरूबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन दिए । साथै कार्यक्रममै मन्त्री कुँवरले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डका सम्बन्धित निकायलाई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप