शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय दलमा देउवा भर्सेस थापा : ८९ सांसद को कता ?

थापाको आक्रामक तयारीले अलमलमा शेखर
आइतबार, २५ मङ्सिर २०७९, १६ : ३०
आइतबार, २५ मङ्सिर २०७९

नेपाली कांग्रेसको संसदीय दलमा सभापति शेरबहादुर देउवा पक्षको बर्चश्व देखिएको छ । कांग्रेसबाट प्रत्यक्ष र समानुपातिक गरी ८९ जना सांसद निर्वाचित हुँदा हालको समीकरणले संसदीय दलको नेतामा देउवाले बहुमत सांसदको समर्थन पाउने देखिन्छ । पार्टीका प्रभावशाली नेता प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधि लगायतको साथ पाउँदा देउवाले ६२ जना सांसदको समर्थन पाउने सम्भावना छ ।

पार्टीको संस्थापन पक्षबाट  निर्विकल्प रुपमा संसदीय दलको नेताका लागि अगाडि आएका देउवालाई प्रधानमन्त्रीका आकांक्षी सिंह र कोइरालाको समर्थन रहने परिस्थिति बनेको छ ।  यता संस्थापन इतरबाट संसदीय दलको नेताको उम्मेदवार नेता शेखर कोइराला कि महामन्त्री गगन थापा भन्ने अन्योल कायमै छ ।

संसदीय दलमा देउवासँग आफै भिड्ने शेखर कोइरालाको चाहना देखिन्छ । १४ औं महाधिवेशनमा देउवाका निकटतम प्रतिद्वन्द्वी बनेका कोइराला अहिले महामन्त्री थापाका लागि मैदान छाडेर पार्टीभित्र वैकल्पिक नेताको स्थान गुमाउने पक्षमा छैनन् । संसदीय दलमा थापालाई समर्थन गरेर जाँदा आफ्नो राजनीति संकटमा पर्ने कोइरालामा भय देखिन्छ । 

तर संसदीय दलमा थापाको आक्रामक तयारीले कोइराला अनिर्णयको बन्दी बनेका छन् । अहिलेसम्म गगनको पक्षमा नउभिएका उनी स्पष्ट ढंगले आफै पनि अगाडि आउने अवस्था छैन । कोइराला र थापाबीच पटक–पटक छलफल हुँदा पनि एक जनाको नाममा सहमति हुन सकेको छैन ।​

 

संसदीय दलमा कोइरालाको साथ पाउनेमा महामन्त्री थापा आशावादी नै छन् । यता शेखर कोइरालालाई पनि आफ्नो पक्षमा उभ्याउने देउवाको प्रयास जारी छ । शेखर कोइरालासँग देउवा पक्षका नेताहरुको बाक्लो भेटघाट भइरहेको छ ।

 

शेखर मैदानमा खडा नहुने अवस्था र उनले साथ नदिएको परिस्थितिमा पनि कांग्रेसका ८९ सांसदमध्ये ६० जनाभन्दा बढी सांसदको समर्थन देउवालाई हुने परिदृष्यले देखाउँछ । शेखर– गगनले आफू निकट ठानेका योगेश गौचन, सुरेन्द्र आचार्य, दीपक गिरि र दीपक खड्काले देउवालाई साथ दिने सम्भावना बढेको छ । 

शशांक कोइरालाले देउवालाई समर्थन गर्दा गिरि र खड्का पनि सँगै उभिने सम्भावना छ भने गौचनको झुकाव पनि देउवातिर देखिन्छ । योगेशका बुवा मुस्ताङका जिल्ला सभापति रोमी गौचन थकाली पछिल्लो समय देउवासँग नजिक देखिन्छन् । १४ औं महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका सांसद प्रदीप पौडेल भने गगन थापाको पक्षमा उभिने सम्भावना बढी छ । 

संस्थापन पक्षबाट शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, शशांक कोइराला, प्रकाशमान सिंह, किशोरसिंह राठौर, विमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्र कार्की, एनपी साउद, डा. नारायण खड्का, रमेश रिजाल संघीय सांसद बनेका छन् । यसैगरी रामचन्द्र पौडेलले पनि आफूलाई साथ दिने देउवाको विश्वास छ ।

यस्तै रमेश लेखक, वीरबहादुर बलायर, मोहनबहादुर बस्नेत, उदयशमशेर जबरा, सीता गुरुङ, राजेन्द्रकुमार केसी, श्यामकुमार घिमिरे, शंकर भण्डारी, रामहरि खतिवडा, विनोदकुमार चौधरी र मोहन आचार्य पनि संस्थापन निकट सांसद हुन् ।

अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, अजयकुमार चौरसिया, दिपक गिरि, आरजु राणा देउवा, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, टेकबहादुर गुरुङ, महेन्द्रकुमार राय, दिनेशकुमार यादव, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल र निनुकुमारी कर्ण संस्थापन पक्षका सांसद मानिन्छन् । 

यस्तै यागेश गौचन थाकाली, शान्ति विक, खमबहादुर गर्बुजा,  पूर्णबहादुर तामाङ, सरस्वती बजिमय, सीताकुमारी राना, विष्णुकुमार कार्की, सुशीला थिङ, सपना राजभण्डारी र माया राई पनि संस्थापन पक्षका सांसद हुन् ।

यस्तै सुरेन्द्रराज आचार्य, डिल्लीराज पन्त, पुष्पबहादुर शाह, दीपक खड्का, सन्तोष चालिसे, दुर्लभ थापा क्षेत्री, ऐनबहादुर शाही ठकुरी, मनोरमा सेरचन, रुपा विक, आशा विक, जावेदा खातुन जागा पनि संस्थापन पक्षसँग जोडिएका छन् ।

संस्थापन इतर पक्षबाट डा. शेखर कोइराला, धनराज गुरुङ, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, प्रदीप पौडेल, चन्द्र भण्डारी र हृदयराम थानी सांसद बनेका छन् ।

यस्तै सञ्जयकुमार गौतम, तेजुलाल चौधरी, सरिता प्रसाईं, प्रतिमा गौतम, डिगबहादुर लिम्बु, सुनिलकुमार शर्मा, रामकृष्ण यादव, रामनाथ अधिकारी, राजेन्द्र बजगाईं, राजु थापा, लीलादेवी बोखिम, सीता मिजार, दिक्पाल शाही, मैना रावल कार्की, मुक्तकुमारी यादव, विनाकुमारी थनेत र कुसुम थापामगर पनि संंस्थापन इतर निकट मानिन्छन् ।

यद्यपि देउवाविरुद्ध महामन्त्री थापा नै चुनाव लड्ने सम्भावना बलियो भएकाले केही तलमाथि हुन सक्ने सम्भवना पनि देखिन्छ । शेखर कोइरालाको समर्थन पाएर देउवाविरुद्ध मैदानमा आए थापाले ३७ जना सांसदको हिसाब गडबढ गरिदिने आकलन गरिएको छ । कांग्रेसबाट प्रत्यक्ष र समानुपातिक सांसद बनेकाहरुको तस्वीर हेर्दा थापाले चुनाव जित्न सकस पर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप