बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति उत्पादनमा गिरावट

आइतबार, २५ मङ्सिर २०७९, १५ : २७
आइतबार, २५ मङ्सिर २०७९

त्रिभुवन विश्वविद्यालयमा प्राविधिकतर्फका जनशक्ति उत्पादनमा गिरावट आएको छ । प्राविधितर्फ (इन्जिनियरिङ, कृषि तथा वन विज्ञान, चिकित्साशास्त्र, वन विज्ञान र विज्ञान तथा प्रविधि) का जनशक्ति उत्पादनमा अघिल्लो वर्ष झण्डै ५० प्रतिशतले गिरावट आएको छ ।

त्रिभुवन विश्वविद्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा ४४.८२ प्रतिशतले गिरावट आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा १२ हजार ३४९ प्राविधिक धारतर्फका जनशक्ति उत्पादन भएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा त्यो संख्या घटेर ११ हजार ५११ पुगेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा त झन्डै आधा काम उत्पादन भएका छन् । त्यो वर्ष ६ हजार ३५१ जनशक्ति उत्पादन भएका छन् ।

२०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा ६.७९ प्रतिशतले घटेको देखिन्छ । २०७७/०७८ मा भने ४४.८२ प्रतिशतले गिरावट आएको देखिन्छ ।

त्यस्तै साधारणतर्फ (कानुन, व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकाय) पनि जनशक्ति उत्पादनमा कमी आएको देखिन्छ । २०७५/०७६ मा साधारणतर्फ ५८ हजार २१२ जनशक्ति उत्पादन भएकोमा २०७६/०७७ मा ४५ हजार ६७२ जनशक्ति उत्पादन भएका थिए भने आर्थिक वर्ष २०७७/०७८ मा झन्डै आधा घटेर २३ हजार ८४८ जनशक्ति उत्पादन भएको देखिन्छ ।

आर्थिक वर्ष २०७६/०७७ मा १८.९६ प्रतिशतले गिरावट आएको थियो भने २०७७/०७८ मा ४७.१८ प्रतिशतले गिरावट आएको थियो ।

तीन वर्षमा विद्यार्थी (जनशक्ति) उत्पादनको अवस्था । तथ्यांक स्रोत : महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन 

२०७५/०७६ मा कुल उत्पादित जनशक्ति ७० हजार ५६१ थियो । २०७६/०७७ मा ५७ हजार १८३ र २०७७/०७८ मा ३० हजार १९९ रहेको थियो । विश्वविद्यालयको लागि नेपाल सरकारले अघिल्लो वर्ष ७ अर्ब ७८ करोड र गत वर्ष ९ अर्ब १३ करोड ३२ लाख अनुदान दिएको थियो । सरकारी लगानीको तुलनामा जनशक्ति उत्पादनमा अपेक्षित उपलब्धि प्राप्त हुन नसकेकोप्रति सरोकारवालाले चिन्ता र चासो व्यक्त गर्दै आएका छन् ।

विद्यार्थी भर्ना अनुपातमा वृद्धि, उत्पादनमा गिरावट

विश्वविद्यालयको आंगिक क्याम्पसहरू ६२ वटा र सम्बन्ध प्राप्त १ हजार ६० कलेजमा हरेक वर्ष विद्यार्थी भर्नादर भने बढिरहेको छ ।

प्राविधिक तर्फ आर्थिक वर्ष २०७५/०७६ मा ७९ हजार ३७८ विद्यार्थी भर्ना भएका थिए । तर, उत्पादन भने १२ हजार ३४९ जना मात्रै भएको देखिन्छ ।

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ७२ हजार ९१८, आर्थिक वर्ष २०७७/०७८ मा ७४ हजार २३६ जना विद्यार्थी भर्ना भएका थिए ।

विगत ५ वर्षमा त्रिविमा अध्ययनरत विद्यार्थीको संख्या । (तथ्यांक स्रोत : महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन

त्यस्तै साधारतर्फ आर्थिक वर्ष २०७५/०७६ मा ३ लाख ३६ हजार १०४, २०७६/०७७ मा ३ लाख ४२ हजार ८५९ र २०७७/०७८ मा ३ लाख ४८ हजार ४१७ विद्यार्थी भर्ना भएका थिए ।​ प्राविधि र साधारणतर्फ गरेर २०७५/०७६ मा ४ लाख १५ हजार ४८२ जना विद्यार्थी भर्ना भएका थिए । त्यस्तै २०७६/०७७ मा ४ लाख १५ हजार ७७७, २०७७/०७८ मा ४ लाख २२ हजार ६५३ जना विद्यार्थी भर्ना भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप