सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

समानुपातिकतर्फ को–को परे ‘आफन्त’ ?

आइतबार, २५ मङ्सिर २०७९, १५ : ३०
आइतबार, २५ मङ्सिर २०७९

सीमान्तकृत, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको लगायतका क्षेत्रबाट संसद्मा प्रतिनिधित्व सुनिश्चित गराउनका लागि व्यवस्था गरिएको हो, समानुपातिक प्रणाली । तर, सोही प्रणालीको दुरुपयोग बढ्दो क्रममा देखिएको छ । प्रतिनिधिसभामा नेताका आफन्त, पहुँचवाला, बिचौलियादेखि व्यापारीसम्मको प्रवेश देखिएको छ । खास अवसर पाउनुपर्नेको स्थानको दुरुपयोग गर्दै उनीहरू संसद्मा पुग्न सफल भएका हुन् । 

कांग्रेसका  ३२ समानुपातिक २९ जना महिला र ३ जना पुरुष सांसदका लागि सिफारिस भएका छन् । जसमा नेताका आफन्त, पहुँचवाला र आफन्तको उपस्थिति देखिएको छ । नेता विमलेन्द्र निधि सांसदमा सिफारिस हुँदा उनकी भान्जी निनुकुमारी कर्ण पनि समेटिएकी छन् । 

यस्तै सभापति देउवा पत्नी आरजुसहित गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँण, कांग्रेस नेता स्वर्गीय नविन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारी पनि सांसद बनेकी छन् । कांग्रेस केन्द्रीय सदस्यद्वय आरजु र मन्जु खसआर्य महिलातर्फ समानुपातिक सांसदका लागि सिफारिस भएकी हुन् । यस्तै आदिवासी जनजातितर्फबाट राजभण्डारी  सांसदमा सिफारिस भएकी हुन् । आरजु २०७० सालमा पनि सांसद भएकी थिइन् भने सांसदको रुपमा यो उनको दोस्रो प्रवेश हो । 

यसैगरी नेकपा एमालेले प्रतिनिधिसभाका समानुपातिक तर्फ निर्वाचित हुने ३४ सांसद छनोट गरेर निर्वाचन आयोगलाई बुझाएको छ । तर, एमालेले समानुपातिकमा रोजेका कतिपय व्यक्तिहरू नेताका आफन्त र विवादास्पद समेतलाई अवसर दिलाएको भन्दै नेता कार्यकर्तामा असन्तुष्टि छाएको छ । 

शनिबार एमालेले प्रतिनिधि सभातर्फ निर्वाचित हुने समानुपातिक सांसदका लागि निर्वाचन आयोगलाई बुझाएका नामहरूमा एमाले उपाध्यक्ष समेत रहेका रामबहादुर थापा ‘बादल’ की श्रीमती नैनकला थापादेखि महासचिव शंकर पोखरेलकी बहिनी मेनकाकुमारी पोखरेलसम्म छन् ।

त्यतिमात्रै होइन एमालेले क्रिष्चियन धर्म प्रचारक भनेर चिनिएका परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई पनि समानुपातिक सांसदका लागि अवसर दिएको छ । ढकाल केही वर्षअघि मात्रै होली वाइन प्रकरणमा मुछिएर चर्चामा आएका थिए । तिनै ढकाल एमालेको समानुपातिक कोटा खसआर्य क्लस्टरबाट सांसद बन्ने भाग्यमानी मध्येमा परेका हुन् ।

ढकाल अहिले पनि नेपाल परिवार दलका अध्यक्ष छन् । सो पार्टीको गत वर्ष भएको तेस्रो महाधिवेशनबाट उनी अध्यक्षमा तेस्रोपटक निर्वाचित भएका थिए । महासचिव पोखरेलकी बहिनी मेनका खसआर्य क्लस्टरबाट महिला कोटामा सांसद सिफारिस भएकी हुन् । उनी २०४६ सालअघि नै एमाले निकट अखिलकी केन्द्रीय सदस्य हुन् । त्यस्तै उपाध्यक्ष वादल पत्नि नैनकला पनि एमालेमा अवसर पाउने भाग्यमानी महिला हुन् ।

नैनकला आदिवासी क्लस्टरबाट सांसद सिफारिस भएकी हुन् । त्यस्तै एमालेले व्यवसायी तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई पनि समानुपातिक सांसद बनाएको छ । भट्टचन आदिवासी जनजाति क्लस्टरबाट सांसदका लागि सिफारिस भएका हुन् ।

त्यस्तै एमालेका पूर्वसचिव समेत रहेका नेता भीम आचार्यकी पत्नी नीरादेवी खनाल आचार्य प्रदेश १ को समानुपातिक सांसदका लागि छनोट भएकी छन् । नीरादेवी खसआर्य क्लस्टरबाट प्रदेश १ सांसद बन्ने भएकी हुन् ।

यसैगरी आयोगमा पठाइएको सूचीअनुसार माओवादी केन्द्रमा पनि नेताका आफन्त सांसद बनेका छन् । उपमहासचिव जनार्दन शर्माकी बहिनी नारायणी शर्मा समानुपातिक सांसद बनेकी छन् । यद्यपि उनी जयुद्धमा योगदान दिएकी संघर्षशील महिला हुन् । यस्तै माओवादी नेता शिवपुजन यादवकी आफन्त मीना यादव, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलकी श्रीमती उर्मिला माझी (पौडेल) पनि सांसद बनेका छन् । यसबाहेक माओवादीका उपमहासचिव शक्ति बस्नेतकी आफन्त ज्ञानु बस्नेत पनि समाुनपातिक सांसद बनेकी छन् । उनी माओवादी नेता सूर्य सुवेदीकी श्रीमती समेत हुन् । 

यसैगरी जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईकी श्रीमती सुशीला श्रेष्ठ पनि समानुपातिक सांसद बनेकी छन् भने जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्ना भाउजु बबिता राउतलाई प्रदेशसभा सदस्य बनाएका छन् । 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना निकटकालाई समानुपातिक सांसद बनाएको भन्दै विवाद देखिएको छ । सो पार्टीका समानुपातिक उम्मेदवार गणेश कार्कीले निकटकालाई समानुपातिक सांसद बनाउन विधि र प्रक्रिया मिचिएको भनेर सार्वजनिक रुपमै आलोचना गरेका छन् । उसो त सो पार्टीले ग्यालेक्सी फोरकेकी पूर्वकर्मचारीलाई समेत समानुपातिक सांसद बनाएको समाचार बाहिरिएको छ  । 

यस्तै राप्रपाबाट भने अधिकांश समानुपातिक सांसद पहुँचवालाहरु नै बनेका छन् । पूर्वअध्यक्ष पशुपति शमशेर राणा, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री रोशन कार्की जस्ता शीर्ष नेताहरू नै समानुपातिकमा बसेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप