आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मेला महोत्सवहरुमा कुस्तीको रौनक

आइतबार, २५ मङ्सिर २०७९, १४ : २३
आइतबार, २५ मङ्सिर २०७९

रुपन्देहीका विभिन्न ठाउँमा सुरु भएका मेला महोत्सवहरुमा कुस्ती प्रतियोगिताको रौनक देखिएको छ । धेरैजसो भारतीय पहलमानहरूलाई बोलाएर कुस्ती लडाउने गरिएको छ । भारतीय पहलमनहरु निकै रोमान्चक तरिकाले कुस्ती लड्ने गर्दछन् ।

मेला महोत्सव आयोजकले दर्शक उपभोक्ताको आकर्षण बढाउन कुस्ती प्रतियोगिता गराउने गरेका छन् । भारतीय पहलमानहरुलाई महंगो शुल्क तिरेर मेला आयोजकले नेपाल ल्याउने गरेका छन् । भारतको दिल्ली, हरियाणा, पन्जाव लगायतका ठाउँबाट कुस्ती लड्न पहलमानहरू नेपाल आउने गरेका छन् । नेपाली पहलमान भने कमै देखिन्छन् । मेलामा कुस्ती हेर्न दर्शकहरुको बाक्लो उपस्थिति देखिन्छ ।  

तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा भएको  कुस्ती प्रतियोगितामा नेपालकै प्रतियोगी पहलमान सन्नी थापा बिजयी भएका छन् । उनी नेपालको तर्फबाट एक्लो प्रतियोगी थिए ।

प्रतियोगितामा भारतका गब्बर दोस्रो तथा नबाव तेस्रो भए । प्रथम हुनेले २५ हजार पुरस्कार प्राप्त गरे भने दोस्रो हुनेले १५ तथा तेस्रो हुनेले १० हजार रूपैयाँ प्राप्त गरे । यो प्रतियोगितामा दुईजना महिला पहलमानले पनि कुस्ती लडेका थिए । दर्शकहरुले उत्साहका साथ कुस्ती प्रतियोगिता हेरेका थिए । कुस्ती प्रतियोगितामा २१ जना पहलमानहरूले प्रतिस्पर्धा गरेका थिए । यी प्रतियोगीले हारे पनि जिते पनि प्रतिदिन १० मिनेट कुस्ती लडेको ३ देखि ५ हजार रूपैयाँसम्म लिने गरेको खेल उपसमिति संयोजक विवश थापाले बताए । 

मेलामा कुस्ती प्रतियोगिता हेर्न निकै धेरै दर्शकहरु आउने गरेको आयोजक संस्था तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जीएमले बताए । तीन दिन कुस्ती प्रतियोगिता राख्दा दर्शकको चाप बढेको उनले उल्लेख गरे । यसैबीच भैरहवामा सुरु भएको मेलामा पनि कुस्ती प्रतियोगिता आयोजना गरिएको छ ।

सोमबारदेखि तीन दिन मेलामा कुस्ती प्रतियोगिता गरिने खेलकुद संयोजक हरिबहादुर थापाले जानकारी दिए । त्यस्तै रुपन्देहीको बुटवल र देवदहमा हुने मेलामा पनि कुस्ती प्रतियोगिता राखिने आयोजकले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप