बागमती सफाइ महाअभियान ५०० हप्ताका उपलब्धि
बागमती सफाई महाअभियान २०७० जेठ ५ गते ‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरुवात भएको देशकै लामो स्वयंसेवी महाअभियान हो । यो महाअभियानको कुनै किसिमको समिति छैन, कुनै पदाधिकारी छैनन् न त कुनै बैङ्क खाता नै छ । तर पनि निरन्तर महाअभियान जारी छ । सुरुवात भएदेखि हालसम्म कुनै हप्ता पनि यो महाअभियानले विश्राम लिएको छैन ।
एकैदिन, एकै समय स्वयंमसेवी रूपमा सञ्चालनमा रहेको यो महाअभियान नेपालको मात्र नभई सम्भवत संसारकै सबैभन्दा ठूलो र लामो स्वयंसेवी महाअभियान हो । यो महाअभियानमा हालसम्म करिब १५ लाखको जनसहभागिता रहेको छ । भने बागमतीलगायत सहायक नदीहरूबाट करिब १५ हजार मेट्रिक टन फोहोर निकालेर व्यवस्थापन गरिसकेको स्थिति छ ।
यही महाअभियानको प्रेरणाबाट उपत्यकामा बागमती नदीका सहायक नदीहरू क्रमशः विष्णुमती, रुद्रमती, इच्छुमती, मनहरा, हनुमन्ते, गोदावरी, नक्खु, कोडकु तथा बागमतीका विभिन्न भाग एवं विष्णुमतीको माथिल्लो भाग, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट र चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागका सफाइ अभियानहरूसमेत सञ्चालनमा रहेका छन् भने पूर्वको बिर्तामोडदेखि सुदूरपश्चिमको महेन्द्रनगरसम्म मेचीमहाकाली सफाई अभियानका साथै उपत्यका बाहिरका १०० भन्दा बढी स्थानमा सफाई अभियान निरन्तर सञ्चालनमा रहेका छन् । बागमती नदी किनारामा तीन दर्जनभन्दा बढी पार्कहरू निर्माण भएका छन् ।
नदी किनारामा करिब ५ हजारभन्दा बढी बिरुवाहरू रोपिएका छन् । जसको कारण बागमती नदी किनाराहरूमा निकै परिवर्तनका सङ्केतहरू देखिन थालेका छन् । हरेक अभियन्ताहरूले आफ्नो जन्मदिनमा बागमती नदी किनारमा वृक्षरोपण गरी मनाउने परम्परा रहेको छ भने रोपिएका ती बिरुवालाई रेखदेख समेत गर्ने गरेका कारण बिरुवा हुर्केका समेत छन् । रोपिएका बिरुवाहरू बढेर गर्मीको समयमा नागरिकहरूले शीतल छहारीमा बस्नेसमेत गरेका परिदृश्य हेर्न सकिन्छ । अभियन्ताहरूले वृक्षरोपण कार्यलाई निरन्तरता दिएकै कारण बागमती किनारामा अहिले रुद्राक्ष, बरपीपल, अम्बा, कपुर, अशोका, ओखर, साकुरा, स्याउ, सुन्तला, निम, समी, अम्बा, गुलाबलगायत विभिन्न जातका बिरुवाहरू हुर्किंदै आएका छनन् । यसले गर्दा पनि बागमती नदी किनारहरू वातावरणमैत्री बन्दै गएका छन् ।
यति हुँदा पनि सार्वजनिक स्थल र नदी किनारामा लुकिछिपी जथाभावी फोहोर फाल्ने क्रम अहिले पनि रोकिएको छैन । जसको कारण अभियानप्रति नागरिकको हेर्ने दृष्टिकोण अझै सकारात्मक हुन सकेको छैन । होस् पनि कसरी अघिल्लो हप्ता सफाई अभियान भयो पछिल्लो हप्ता फेरि फोहोर हुने गर्दछ । तर यो गतिविधि भने हालका दिनमा कमी त भएको छ तर रोकिएको भने छैन । जसको कारण यतिका वर्ष अभियान सञ्चालन हुँदा पनि खै त नदी सफा भन्नेको सङ्ख्या पनि उल्लेखनीय छ ।
नागरिकमा चेतनाको स्तरमा कमी आफ्नो घर आँगन मात्र सफा भए पुग्छ भन्ने मानसिकताका कारण घरको फोहोरलाई लुकिछिपी नदी किनारामा फाल्ने कार्यलाई रोक्न कडा कारबाहीका लागि सरकारी सम्बन्धित निकायको ध्यान जान नसकेको प्रति अभियन्ताहरूको गुनासो सधँै रहँदै आएको छ । तर पनि अभियन्ताहरू न जाडो न गर्मी न चाडपर्व नत महामारी कुनै समय पनि यो महाअभियानलाई नरोकी निरन्तर सफाई अभियान जारी राख्नुले पनि प्रायः मृत अवस्थामा रहेको बागमती नदीले पुनर्जीवन पाउन सकेको स्थानीय बासिन्दाहरूको भनाइसमेत रहेको छ ।
अहिले बागमती किनारामा सयौँ सङ्ख्याका विभिन्न किसिमका रेस्टुरेन्टहरू सञ्चालनमा रहेका छन् । यसले पनि परिवर्तनको सङ्केत देखाएको छ । निर्माण भएका पार्कहरूमा बिहान र साँझ हजारौँको सङ्ख्यामा नागरिकहरू योगा, ध्यान, शारीरिक व्यायमसम्म हुने गरेका दृश्यहरू देख्न सकिन्छ । आजभन्दा दस वर्षअगाडि नाकमुख थुनेर हिँड्नु पर्ने स्थितिबाट भने हालको स्थिति आउनुमा लाखौँ स्वयंमसेवी अभियन्ताहरूको ठूलो योगदान रहेको छ ।
यो महाअभियानमा कुनै प्रकारको आर्थिक कारोबारका साथै चन्दा सहयोग लिने नगरेको कारण पनि यो महाअभियान विवादित छैन । जसका कारण यो विशुद्ध नागरिक महाअभियान बन्न पुगेको हो । हालसम्म करिब १५ लाख जनाभन्दा बढीको संलग्नता हुनु पनि आफैँमा गर्वको विषय हो जस्तो लाग्छ । देशका दिग्जग व्यक्तिहरू राष्ट्रपतिदेखि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, लगायत राज्यका उच्च पदस्थ पदाधिकारी, कलाकारहरूदेखि नागरिकसम्म यो अभियानमा सामेल भइसक्नुभएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको यो महाअभियानमा ठूलो साथ सहयोग र योगदान रहँदै आएको छ । यो महाअभियानमा हजारौँ संस्थाहरू संस्थागत सहभागिता जनाइसक्नुभएको छ ।
महाअभियानको मूल उद्देश्य भनेको यो स्वाभिमानी विशुद्ध स्वयंसेवी अभियान भएकाले जोकोही पनि यस महाअभियानमा जोडिन सक्छ । अभियान कुनै राजनीतिक पार्टी, सङ्गठन वा धर्मसँग सम्बन्ध नराखी सबैको साझा स्वाभिमानी अभियान भएकाले जोकाही पनि यो महाअभियानको भावना अनुरूप सहभागी हुनसक्छ । यसको उद्देश्य पनि हामी हाम्रो काम आफैँ गर्न सक्छौँ भन्ने भावनाका साथ राष्ट्र निर्माणमा निस्वार्थ समर्पण हुने जनशक्ति निर्माण गर्नु हो । त्यसैले मैले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने भनेर आफैँ क्रियाशील हुने मौका पाएको हो । यो महाअयिानका कारण राज्यका सम्बन्धित निकायमा पनि ठूलो प्रभाव पर्न गई यससँग सम्बन्धित विभिन्न निर्माणका कामहरू संरक्षणका कामहरू नदी सौन्दर्यीकरणका कामले गति लिएको हामीले पाएका छौँ । अभियन्ताहरूको खबरदारीका कारण सरकारी काम कारबाहीमा पनि परिवर्तनका सङ्केत देखिन थालेका छन् । यो पनि महाअभियानको देन हो भन्ने हामीलाई लागेको छ ।
यो महाअभियानले नागरिकलाई फोहोरलाई स्रोतमै व्यवस्थापन गर्न, नदीहरू, सम्पदा तथा सार्वजनिक स्थलको सरसफाई गर्न र राष्ट्रव्यापी जनचेतना जगाउन अतुलनीय योगदान दिएको छ । यो सबैको साझा अभियान भएकाले सबैले हातेमालो गर्दै अगाडि बढने उत्प्रेरणा जागेर आएको छ । यो महाअभियानका बारे धेरैको प्रश्नसमेत उठ्ने गरेको छ । अभियान कहिलेसम्म सञ्चालन हुन्छ त भन्नेको सङ्ख्या पनि ठूलो छ । हामीले जवाफ दिने गरेका छौँ । जबसम्म बागमती नदी र सहायक नदी सफा हुँदैनन्, सफा पानी बग्दैन तबसम्म यो अभियान जारी नै रहन्छ ।
महाअभियानको माग कार्यान्वयन गर्न सके अभियानलाई विश्राम दिने योजना रहेको छ ।
१. घरबाट निस्कने फोहोरलाई घरमै वर्गीकरण गरी कुहिने फोहोरलाई अग्र्यानिक मल बनाई कौसीखेती गर्ने ।
२. प्लास्टिक, फलाम कागजलाई बिक्री गर्न सकिने भएकाले त्यो फोहोरलाई मोहर बनाउने ।
३. सरकारी सम्बन्धित निकायले जथाभावी फोहोर फाल्नेलाई कडा कारबाही गर्ने ।
४. सरकारी निकायले जनचेतना फैलाउनका लागि विद्यालय स्तरमै सफाई सम्बन्धि शैक्षिक पाठयक्रम लागू गर्ने ।
५. फोहोर व्यवस्थापनसम्बन्धीको कानुनलाई पालना गर्न नागरिकलाई जिम्मेवारबोध गराउने स्थानीय तहका जनप्रतिनिधि र सरकारी कार्यालयहरूलाई जवाफदेहीता बनाउने ।
६. नदी किनारामा रहेका अव्यवस्थित बस्तीलाई राज्यले अध्ययन अनुसन्धान गरी व्यवस्थापन गरी नदी किनारा खाली गराउनु पर्ने ।
७. नदीलाई आफ्नै बहाबमा बग्न दिनुपर्ने ।
“म मेरो बासस्थान र वरिपरि, कार्यस्थल र सार्वजनिक स्थल वरिपरि तथा नदीनालाहरू सफा राख्छु । बागमती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले लाग्नेछु ।”न्द बागमती सफाई महाअभियानका अभियन्ता हुन् ।