सार्वभौम संसद केही नेताको कब्जामा छ : चन्द्र भण्डारी
नेपाली कांग्रेसका नेता नवनिर्वाचित सांसद डा. चन्द्र भण्डारीले सार्वभौम संसद केही नेताको कब्जामा रहेको बताएका छन् । काठमाडौंमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा भण्डारीले जनताले चयन गरी पठाएका प्रतिनिधिहरु स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न सक्ने अवस्था नरहेको बताए ।
नेता भण्डारीले भने, ‘‘ जनताले चुनेर पठाएका प्रतिनिधिले स्वतन्त्र, निष्पक्ष र जनताको पक्षमा चाहेर पनि गर्न सक्ने अवस्था छैन । सार्वभौम संसद केही नेताको कब्जामा छ ।’’
उनले संसारमा सबैभन्दा बलियो र सार्वभौम संसद रहने गरेको दृष्टान्त दिँदै नेपालमा भने सार्वभौम संसद भन्दा केही नेता बलिया हुनु र उनको कब्जामा रहेको बताए ।
मुलुकमा बेथिति र भ्रष्टाचार मौलाउनुको प्रमुख कारण राज्य संयन्त्र भन्दा केही नेता र व्यक्ति बलिया रहेको बताउँदै उनले यस्तो बेथिति र वेविचार युवाहरुले टुलुटुलु हेरेर बस्ने नहुने बताए । साथै उनले बेथिति र विसंगति विरुद्ध विद्रोह गर्न सक्ने सार्मथ्य युवामा हुनुपर्ने बताए ।
नेता भण्डारीले मुलुकमा राजनीतिक परिवर्तन भएको ७ दशकमा पनि नागरिकले न्युनतम आवश्यकता स्वास्थ्य, शिक्षा, रोजगारबाट बञ्चित रहनुपर्ने अवस्था लज्जाको विषय भएको बताए ।
उनले यस्तो अर्कमन्यताबाट मुलुक सधै अघि बढन नसक्ने बताउँदै मुलुकमा व्यप्त वेथिति र भ्रष्टाचारका अन्त्यका लागि युवा पंक्तिबाट हस्तक्षेप आवश्यकता रहेको बताए । उनले राजाले ३० बर्ष राजाले शासन गर्दा नागरिकले गर्ने गरेको माग गणतन्त्र आएपछि पनि नागरिकले उही माग गर्नुपर्ने विडम्बना रहेको बताए।
उनले मुलुकमा नेता, प्रशासक तथा योजनाविदहरु आफू सम्पन्न हुने आफू बन्ने र मुलुक जहाँको तही रहने अवस्था नेपालको बास्तविकता रहेको बताए । संविधानले प्रत्याभूत गरेको सहज स्वास्थ्य शिक्षाको पहुँच नागरिकसम्म पुग्न नसक्नु तर देशका नेता र पहुँचवाला व्यक्ति सेवा सुविधाको दुरुपयोग हुन दुखद रहेको बताए ।
उनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएपछि केही नेता मन्त्री र प्रधानमन्त्री बन्ने होडवाजीमा रहेको तर के का लागि मन्त्री, प्रधानमन्त्री बन्ने हो त्यसको जवाफ उनीहरुसँग नहुन विडम्बना रहेको बताए ।