बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

एमालेका समानुपातिक सांसद : परिवारवाददेखि विवादास्पद सम्मलाई अवसर

शनिबार, २४ मङ्सिर २०७९, २० : ४४
शनिबार, २४ मङ्सिर २०७९

नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेश सभाका समानुपातिक तर्फ निर्वाचित हुने ३४ सांसद छनोट गरेर निर्वाचन आयोगलाई बुझाएको छ । तर, एमालेले समानुपातिकमा रोजेका कतिपय व्यक्तिहरु नेताका आफन्त र विवादास्पद समेतलाई अवसर दिलाएको भन्दै नेता कार्यकर्तामा असन्तुष्टि छाएको छ । 

शनिबार एमालेले प्रतिनिधि सभातर्फ निर्वाचित हुने समानुपातिक सांसदका लागि निर्वाचन आयोगलाई बुझाएका नामहरूमा एमाले उापध्यक्ष समेत रहेका रामबहादुर थापा ‘बादल’ की श्रीमती नैनकला थापादेखि महासचिव शंकर पोखरेलकी बहिनी मेनकाकुमारी पोखरेलसम्म छन् ।

त्यतिमात्रै होइन एमालेले क्रिष्चियन धर्म प्रचारक भनेर चिनिएका परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई पनि समानुपातिक सांसदका लागि अवसर दिएको छ । ढकाल केही वर्षअघि मात्रै होली वाइन प्रकरणमा मुछिएर चर्चामा आएका थिए । तिनै ढकाल एमालेको समानुपातिक कोटा खसआर्य क्लस्टरबाट सांसद बन्ने भाग्यमानी मध्येमा परेका हुन् ।

ढकाल अहिले पनि नेपाल परिवार दलका अध्यक्ष छन् । सो पार्टीको गत वर्ष भएको तेस्रो महाधिवेशनबाट उनी अध्यक्षमा तेस्रोपटक निर्वाचित भएका थिए । महासचिव पोखरेलकी बहिनी मेनका खसआर्य क्लस्टरबाट महिला कोटामा सांसद सिफारिस भएकी हुन् । उनी २०४६ सालअघि नै एमाले निकट अखिलकी केन्द्रीय सदस्य हुन् । त्यस्तै उपाध्यक्ष वादल पत्नि नैनकला पनि एमालेमा अवसर पाउने भाग्यमानी महिला हुन् ।

नैनकला आदिवासी क्लस्टरबाट सांसद सिफारिस भएकी हुन् । त्यस्तै एमालेले व्यवसायी तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई पनि समानुपातिक सांसद बनाएको छ । भट्टचन आदिवासी जनजाति क्लस्टरबाट सांसदका लागि सिफारिस भएका हुन् ।

समानुपातिक नाम छनोट गर्न एमाले कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकमा थापा र ढकालबारे केही नेताहरूले घुमाउरो शैलीमा विकल्प खोज्नुपर्ने संकेत गरेपनि अध्यक्ष ओलीले सुनेको नसुनै गरेको बुझिएको छ । 
‘केही नेताले सकभर विवाद नआउनेगरी नाम छनोट गरौ भन्ने सुझाव राख्नुभएको हो तर अध्यक्षले त्यो आवाज सुनेको नसुन्यै गर्नुभयो’, एक सचिवालय सदस्यले भने, ‘अध्यक्षकै चाहना भएपछि अरुको केही लाग्ने कुरा भएन ।’

त्यस्तै एमालेका पूर्वसचिव समेत रहेका नेता भीम आचार्यकी पत्नी मीरादेवी खनाल आचार्य प्रदेश १ को समानुपातिक सांसदका लागि छनोट भएकी छन् । मीरादेवी खसआर्य क्लस्टरबाट प्रदेश १ सांसद बन्ने भएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप