शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय राजनीतिमा माओवादी अझै निर्णायक : प्रचण्ड

‘एजेण्डालेभन्दा फेसबुकले चुनाव जित्ने समय आयो’
शनिबार, २४ मङ्सिर २०७९, १६ : २९
शनिबार, २४ मङ्सिर २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्‍मा अपेक्षित सिट ल्याउन नसके पनि राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका निर्णायक रहेको दाबी गरेका छन् । राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका कसैले खोस्न सक्ने अवस्थामा नरहेको जिकिर गर्दै अध्यक्ष दाहालले निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् । 

पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले स्थापित गरेको सिस्टम केन्द्रीय रूपमा अघि बढेको उल्लेख गर्दै पार्टीलाई पुनर्गठित गर्दै अघि बढाउने दृढता समेत व्यक्त गरे । अध्यक्ष दाहालले भने, ‘संघले हामीले सोचेको जस्तो अपेक्षा गरेको जस्तो पक्कै पनि भएन । त्यो साँचो कुरा हो । त्यसका कारणहरूको खोजी र त्यसको समीक्षा पनि हामी गर्दैछौं । तर हामी खुम्चेउ भन्नुको मतलब यो होइन कि राष्ट्रिय राजनीतिमा हाम्रो भूमिका खुम्चियो भन्ने होइन । राष्ट्रिय राजनीतिमा अहिले पनि हाम्रो भूमिका केन्द्रीय नै छ । त्यसलाई कसैले पनि खोस्न सक्ने स्थिति देखिएको छैन । त्यसकारण हामीले निराशा बाँड्नुपर्ने, हामी चिन्तित हुनुपर्ने छैन । तर गम्भीर समीक्षा गरेर आउने दिनका निम्ति आफूलाई रूपान्तरण गर्ने एउटा प्रतिबद्धता गर्नैपर्छ । हामी जित्छौँ । जितेपछि अलि बढी मनोगत हुन्छौँ । अलि आफैँ भित्र एकले अर्कालाई दोषारोपण गर्न थाल्छौँ । हारेपछि फेरी यो के भयो भनेर गम्भीर रूपमा छातीमा हात राखेर समीक्षा गर्न थाल्छौँ । जितपछि हार, हारपछि जित यो सर्कल चलिनै रहन्छ । तर यति बेला राष्ट्रिय राजनीतिमा हामी किन निराश हुनुपर्ने अवस्था होइन भन्छु भने म एउटा त एजेन्डाहरूको हिसाबले राजनीतिक धारा हामीद्वारा स्थापित सिस्टम नै नेपालमा अहिले पनि केन्द्रीय रूपमा कायमै छ । र, शक्तिको हिसाबले पनि हामीले थोरै समीक्षा गरेर मेहनत गर्ने हो भने शक्तिको हिसाबले पनि हामी फेरी पुनर्संगठित हुन सक्ने र आन्दोलित हुन सक्ने शक्ति हामीसँग छ ।’

अध्यक्ष दाहालले सूचना र प्रविधिको सदुपयोग गरेर अघि बढ्न नसक्दा निर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरे अनुसार नतिजा ल्याउन नसकेको पनि स्पष्ट पारे । आगामी दिनमा पार्टीलाई विचारको दृष्टिले तथा सूचना र प्रविधिको सदुपयोग गर्ने दृष्टिले अगाडि बढाउनुपर्ने उनको भनाई थियो । अध्यक्ष दाहालले यस पटकको निर्वाचनमा जनताले एजेण्डालाई भन्दा पनि सामाजिक सञ्जालबाट प्रभावित भएर मतदान गरेको बताए। उनले भने, ‘हाम्रो एजेण्डा छन् । त्यसलाई निर्वाचनमा लिएर गएपछि जनताले मान्छन् भन्ने पनि छैन । एजेण्डा नै नभएको कस्तालाई भोट हाले हेर्नुस् त । त्यसकारण चुनाव एजेण्डाले जितिन्छ भन्ने पनि रहेनछ । विकासले जितिन्छ भन्ने पनि छैन । जितिन्छ के ले ? फेसबुकले । सोसल मिडियामा बेस्सरी धमाका दिन सकियो भने मान्छेको माइन्ड त्यहाँबाट कन्ट्रोल गर्नुपर्ने जस्तो देखियो । तर मेरो यो भनाईहरुलाई धेरै गम्भीर रूपले नलिन होला है । मेरो भनाइको मतलब के हो भने आइटी सेक्टरलाई, डिजिटलाईजेशनको जमानालाई हामीले सदुपयोग गर्न सकेनौँ । हामीले पनि आइटी आर्मी तयार पारेर धमाका दिन सकेनौँ भने विकास मात्रै गरिएछ । दुःख मात्रै गरिएछ भन्दैमा चुनावमा जितिन्छ भन्ने पनि रहेनछ । त्यसकारण एकातिर हामीले आईडियोलोजी र पोलिटिक्सलाई पनि समयसापेक्ष विकसित गर्नु नै छ । अर्कोतिर साइन्स टेक्नोलोजीको डेभलोपमेन्टलाई सदुपयोग पनि गर्नु नै छ ।’

अध्यक्ष दाहालले सूचना र प्रविधिको सदुपयोग गर्ने टिम परिचालन नगरी चुनाव जित्न नसकिने तथ्य पनि हालै सम्पन्न निर्वाचनले बोध गराएको बताए । त्यस अवसरमा उनले जनताको सेवा प्रवाहको काममा ध्यान दिन कर्मचारीहरूलाई पनि सचेत गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप