बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सेवालाई प्रभावकारी बनाउँदै जलेश्वर अस्पताल

शनिबार, २४ मङ्सिर २०७९, १३ : ४१
शनिबार, २४ मङ्सिर २०७९

महोत्तरीको सदरमुकाम जलेश्वरमा राणाकालमै स्थापना गरिएको जिल्ला अस्पतालले प्रादेशिक अस्पताल भएसँगै आफ्नो सेवासुविधा प्रभावकारी बनाउन थालेको छ । विगत एक दशकदेखि दक्ष जनशक्ति, औजार उपकरणको कमी, विशेषज्ञ चिकित्सकको अभाव र अन्य स्रोतसाधनको अभावमा सामान्य बिरामीलाई समेत अन्यत्र सिफारिस गर्दै आएको जलेश्वर अस्पतालले अहिले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न थालेको छ । 

एउटा बिरामीका लागि चाहिने प्रत्येक क्षेत्रका डाक्टर, विभिन्न किसिमका जाँचको सुविधा र अधिकांश औषधिसमेत अहिले अस्पतालमा नै पाउन थालेपछि उपचारका लागि जलेश्वर अस्पतालमा पुगेका सेवाग्राही खुसी देखिएका छन् ।

काठमाडौँको वीर अस्पतालसँगै एकैदिन राणाकालमा जिल्ला अस्पतालका रुपमा स्थापना गरिएको यस प्रादेशिक जलेश्वर अस्पतालका भौतिक संरचना फेरिएका छन् । यस अस्पतालमा ठूलो तीनतले भवन बनाइएको छ । यहाँ विभिन्न अत्याधुनिक उपकरण छन् । बिरामीको चापअनुसार विशेषज्ञ चिकित्सक नहुँदा स्वास्थ्य सेवा लिन समस्या भइरहेका बेला प्रदेश सरकारले करिब दुई महिना पहिले करारमा दक्ष जनशक्ति भर्ना गरेपछि कुनै पनि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने बाध्यता हटेको अस्पतालका प्रमुख डा. सतिश साहले बताए । 

जिल्लाको सात लाख जनसङ्ख्यालाई विभिन्न स्वास्थ्य सेवा दिँदै आइरहेको महोत्तरीकै सबैभन्दा पुरानो अस्पतालप्रति यहाँका बासिन्दामा आशा भरोसा जागेको छ । मधेस–प्रदेश सरकारले यस अस्पतालमा चिकित्सक अभाव रहेका बेला ३५ जना दक्ष जनशक्ति भर्ना गरेपछि अहिले अस्पतालमा उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ ।

यस अस्पतालमा हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ, महिला तथा प्रसूति रोग विशेषज्ञ, जनरल फिजिसियन, जनरल सर्जनलगायत आठ विशेषज्ञ चिकित्सकसहित ३५ जनालाई मधेस प्रदेश सरकारले करारमा भर्ना गरेपछि रेफर अस्पतालका रुपमा परिचित यस अस्पतालको मुहार फेरिएको छ । 

त्यस्तै यस अस्पतालमा ल्याबतर्फ थाइराइड जाँच, लिपिड प्रोफाइल, सोडियम, पोटासियम, एलएल एसपी, आरएसपी, मधुमेह र विभिन्न किसिमका रगतको जाँचका साथै यस अस्पतालमा अक्सिजन प्लान्ट र २४ घण्टे एम्बुलेन्स सेवा विस्तार भएसँगै अब अस्पतालमा सेवाग्राहीले सबै सेवा प्राप्त गर्न थालेका छन् । सेवाग्राहीले अस्पतालकै ल्याबमा सबै परीक्षण पाउन थालेपछि बाहिर चर्को मूल्य तिरेर जाँच गराउनुपर्ने बाध्यतासमेत हटेको छ । 

यसरी अस्पतालमा पर्याप्त भौतिक संरचना, विशेषज्ञ डाक्टर तथा दक्ष चिकित्सक र सुविधा सम्पन्न ल्याब भएपछि अस्पतालमै सबै प्रकारको जाँच गराउन तथा विभिन्न रोगको उपचार गराउन आउने रोगीको सङ्ख्या पनि वृद्धि भएको र अब यो अस्पतालको सेवा सुविधामा कुनै कमी नहुने अस्पताल प्रशासनले जनाएको छ ।

विभिन्न सेवा सुविधाले काँचुली फेर्न थालेको जलेश्वर अस्पताललाई जलेश्वर नगरपालिकाले समेत आवश्यक सहयोग गर्ने नगर प्रमुख सुरेश साह सोनारले बताए । मधेस प्रदेश सरकारले गरेको चिकित्सक भर्नाका कारण सरकारी अस्पतालप्रति सेवाग्राही आकर्षित हुन थालेको ल्याब टेक्नीसियन गेनु राउतले बताए ।

अहिले अस्पतालमा विभिन्न रोगका पर्याप्त निःशुल्क औषधि उपलब्ध रहेका कारण बिरामीलाई उपचार र औषधिमा निकै सहजता महसुस भइरहेको अस्पतालका स्टोर प्रमुख भाग्यनारायण झाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप