बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनको चपेटामा कर्णालीको कृषि क्षेत्र

शनिबार, २४ मङ्सिर २०७९, १२ : ०६
शनिबार, २४ मङ्सिर २०७९

कर्णालीको कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको छ ।  कर्णालीको कृषि मन्त्रालयका अनुसार प्रदेशमा खाद्य सुरक्षाको समस्या कायमै रहेको बेला जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर देखिन थालेको हो । 

कृषि विकास निर्देशनालयका निर्देशक एवं कृषि विज्ञ चित्रबहादुर रोकायका अनुसार कर्णाली प्रदेशका जिल्ला अनुसार फरक–फरक जातका बाली, फलफूल र पशुपालन गरिन्छ । जलवायुको प्रत्यक्ष प्रभावका कारण कृषि बालीहरूमा देखिने नयाँ खालका रोगहरूले उत्पादनमा ह्रास आएको हो ।  सरकारी कृषि निकायहरूले जलवायुको चपेटाले हरेक वर्ष नयाँ खालका रोगका कारण कर्णालीको कृषि उत्पादनमा चुनौती थपिँदै गएको बताएका छन् । 

निर्देशक रोकाय धेरै सुन्तला उत्पादन हुने दैलेख, जाजरकोट र सुर्खेतमा बोटमा सुन्तलाका दाना फुट्ने समस्या देखिएको बताउँछन् । उनका अनुसार बोटमा लटरम्म सुन्तला फलेको भए पनि कृषकहरूले विक्री गर्ने समयमा दानाहरू फुट्ने समस्या देखिएको छ ।  

उनी भन्छन्,‘यस्ता खालका समस्या सुन्तलामा मात्रै हैन, सिजनअनुसार मकैमा फौजी तथा तरुलमा किरा लाग्ने, धानको डाँठमा सेतो भएर सुक्ने, गोलभेँडाको दाना भित्र कालो भएर कुइने जस्ता विविध बाली तथा फलफूलहरूमा समस्याहरू बढिरहेका छन् ।’

निर्देशनालयले आगामी दिनमा जलवायु परिवर्तनकै कारण कृषिमा देखिएको चुनौती र त्यसको निराकरण गर्न नयाँ प्रविधिको कसरी विकास गर्ने भन्ने कार्ययोजना बनाउन जरुरी रहेको निष्कर्ष निकालेको छ । लामो समयदेखि सुर्खेतकै दशरथपुरमा रहेको कृषि अनुसन्धान निर्देशनालयले कृषिमा देखिएको समस्या पहिचान र उच्च जातको बाली, फलफूल, पशुपालन जस्ता क्षेत्रमा अनुसन्धान गरिरहेकाले ती रिजल्टहरू कृषक तहसम्म पुर्‍याउनमा एकमत हुनुपर्ने रोकाय सुझाव दिन्छन् । 

अनुसन्धान निर्देशनालयले अनुसन्धान भएका प्रविधिहरूको प्रसारलाई जोड दिएको जनाएको छ । निर्देशनालयले कृषि क्षेत्रका मूल समस्यालाई पहिचान गर्ने र कृषिमा नवीनतम प्रविधिको लागु गर्नमा सबैसँग समन्वय गरिने अनुसन्धान निर्देशनालयका निर्देशक अमरबहादुर पुन मगरले बताए । 

उनी थप्छन्,‘ जलवायुको चपेटामा कर्णाली प्रदेशको कृषि क्षेत्र परेको छ । समयमा वर्षा नहुने, भइहाले ठुलै क्षति गर्ने, तापक्रम बढ्दा कृषि क्षेत्रका विभिन्न प्रजातिका रोगहरू देखिरहेको छ  ।

बाली तथा बागवानी, नेपाल कृषि अनुसन्धान परिषद्का निर्देशक डा.श्रीमत श्रेष्ठले कर्णालीमा खाद्य सुरक्षाको समस्या अझै कायम रहेको बताए । कर्णालीमा कुल २५ लाख २५ हजार २७५ हेक्टर क्षेत्रफल छ । यो मध्ये कुल खेतीयोग्य जमिन ८.५ प्रतिशत अर्थात् २ लाख १६ हजार ८८० हेक्टर रहेको छ । ८२ हजार ४५९ हेक्टर खेती योग्य जमिनमा खेतीपाती नभएर बाँझो रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप