बरु, युवतीहरूले फूल सिउरिएर जाऊन्
सहर बजारको बसाइँ छ, रहर भने फूलबारीको छ । जहाँ रहर छ, उपाय पनि त त्यहीँ खोज्नु जो छ ।
फूल लगाउन माटोका सिमेन्टका गमला पाइन्छन् । तर म पुराना पानी ट्याङ्कीका पिँध काटेर गमला बनाउँछु । बिग्रिएका र फुटेका पानीका जार काट्छु । प्लास्टिकका ड्रम र जारहरू माटोले भर्छु । त्यसैमा फूलका बिरुवाहरू रोपिदिन्छु । फूलका बोटमा मलजल गर्नु नित्य कर्म रहन्छ मेरो । फूलहरू मन्किन्छन् ।
मान्छे माया र सहानुभूति खोज्छ । फूलका बोटहरु पनि मलजल र गोडमेल खोज्दा हुन् । म मल हालिदिन्छु । एकाध दिन पानी नपाउने बित्तिकै ती लल्याकलुलुक भएर ओइलाउँछन् । म नियमित पानी सिँचिरहन्छु । कति छिटो तिनले हरेक हाँगामा, हरेक पातमा पानी पुर्याई दिन्छन् । उनीहरूको वितरण क्षमता र प्रणाली देखेर छक्क पर्छु ।
हरियालीले धेरैलाई लोभ्याउँदो रैछ
नयाँ किरा आउँछन्, अन्डा पार्छन् । अन्डाबाट लार्भामा रूपान्तरण हुन्छन् र झुसिल्किरा बन्छन् । लार्भाले बोटका कोमल मुनाहरू छानी छानी खाइदिन्छन् । म विचलित हुन्छु । औषधि छर्छु । स्वयम् फूलका बोटले हरेक परिस्थितिको डटेर सामना गर्छन् । फूलहरूको सङ्घर्ष नियाल्छु । उनीहरू हाँगामाथि हाँगा हाल्छन् । नयाँ नयाँ मुना निकाल्छन् ।
फूलमा कोपिला लाग्छन् । म नियालिरहन्छु हरेक दिन । उनीहरू फक्रिउन् भन्ने कामना गर्छु । फूलका कोपिला बिस्तारै बढ्दै जान्छन् । म जतिसुकै छट्पटिउँ, उनीहरू बिस्तारै बढ्दै जान्छन् । मेरो छट्पटीसँग उनीहरूलाई के सरोकार, के को लेनदेन ? उनीहरू आफ्नै तिथिमिति मिलाएर तयारी गर्दा रहेछन् । उनीहरूको आफ्नै क्यालेण्डर हुँदो हो ।
फूलले सधैँ धैर्यता सिकाउँछ ।
र, एक दिन फूलहरूले जिते, फूलेरै छाडे ।
फूलहरू ढकमक्क फक्रिएका छन् यतिबेला । फूलहरू क्लाईमेक्समा छन् । उत्सव मनाउँदैछन् फूलहरू । फूलहरूको उमङ्ग देखेर म आफै दंग छु । घरको लागि रंग (कलर) बेच्ने म आफ्नो मेहनतमा रंग आएको देखेर मख्ख छु ।
म फूलको तस्बिर खिच्छु । मोबाइलको ग्यालरी तस्बिरले भरिँदैछ । सामाजिक सञ्जालमा फूलका तस्विरहरु पस्किई रहन्छु । यति मेहनतले फूलाएका फूलको तस्बिर सार्वजनिक गर्ने अलिअलि हक त छ नि मसँग । म आफैसँग मुस्कुराउँछु ।
फूलहरूको पनि फूल्ने याम हुँदो रहेछ । आफ्नो याममा फूलहरू फूलेरै छोड्छन् । फूल फूल्न मल, पानी मात्रै होइन, घाम चाहिन्छ । घामको ताप चाहिन्छ । घामका किरणहरूले घरको छतलाई पहिलो चुम्बन गर्दिन्छन् । बिहानको पहिलो किरणले छतका फूलहरू पुलकित हुन्छन् । म मल हालिदिन्छु, जल हालिदिन्छु । फूल मन्किन्छन् ।
मेरो पसल छ । र, पसल अगाडि पनि फूलहरू छन् । शेपमा त न मान्छे फक्रिँदो रैछ न फूल । जाडोमा घाम दिउँसै मधुरा हुन्छन् । बिहानै घामको मुख देख्नु र नदेख्नुको अन्तर सरकारी आरक्षणजस्तै हुन्छ । छतका फूलहरू ओइलिन थाल्दा पसल अगाडि भर्खर कोपिलाहरू फक्रिने तरखरमा छन् ।
फूललाई माया गर्नेलाई नै फूलको चिन्ता हुन्छ ।
फुटपाथमा फूल रोप्नु कहाँ सजिलो हुन्छ र ?
कहिले गाईबस्तुले खाइदिन्छन्, कहिले मानिसले उखेलिदिन्छन् ।
गाईबस्तुलाई फूल घाँस मात्र हो । यो संसारको सौन्दर्यबारे हुन सक्छ, उनीहरू जान्दैनन् । उनीहरूमा सौन्दर्य चेत छैन । उनीहरू घाँस र फूलको अन्तर थाहा पाउँदैनन् र उनीहरूले फूल खाइदिनु अस्वाभाविक ठहर्दैन ।
तर मान्छेसँग त चेतना हुन्छ । मसँग चेतना छ भन्ने मान्छेले फूल टिपेको सुहाउँदैन । फूल निमोठिएको डाँठ, घाँटी निमोठिएजस्तै लाग्छ मलाई ।
कोही साँझ रोपेका फूल राति उखेलेर लगिदिन्छन् । कोही फूल फूलेपछि प्लास्टिक झोला बोकेर फूल टिप्न आउँछन् । म बोट उखेलिएका डोब र फूल निमोठिएका डाँठ हेरेर खिन्न हुन्छु । र, पनि म हारेको छैन फूलहरूसँग । म थाकेको छैन, फूल टिप्नेहरुसँग ।
...
मङ्सिर महिना निख्रिन लाग्दा पनि घमाइलो छ कोहलपुर । म सडकको रेलिङमा उभिएर फूल नियाल्दै छु । कवि नवीन अभिलाषी सँगै छन् । हामी कविताको कुरा गर्दै थियौँ । एक जना स्कुले किशोरी फूल टिपिहाल्छिन् । फूल देखेपछि कोही कोही मन रोक्नै सक्दैनन् । म फूल किन टिपेको ? भनेर प्रश्न गर्छु । उनी सरी भन्छिन् ।
म फूलको माली भएको नाताले झर्किन्छु, उनको अनुहार अँध्यारो बन्छ । तर नवीनजी, ओइलिएर जाने न हुन् फूलहरू, टिप्न दिनुस् भन्नुहुन्छ । म लक्ष्मीप्रसाद देवकोटा सम्झिन्छु । नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ । नच्यात्नु फूल नानी हो, दया र धर्म भाग्दछ । र वर्तमान कवि नवीन अभिलाषी ओइली जाने फूल टिप्न दिनुस् भन्नुहुन्छ । म अलमलिन्छु ।
फूलहरू फक्रिन पाउनुपर्छ
मलाई थाहा छ, फूलहरू आफ्नै उद्देश्यले फूल्छन् । म सोच्छु पनि, बिरुवा आफ्नो गमलामा सार्दैमा त्यो फूल मेरै हुन्छन् ? यदि हुन्छन् भने मैले चाहेकै समयमा किन नफूलेका ? म सोचको पहिरोमा पर्छु ।
फूलहरू चरा, पुतली, भमरा डुलेको मन पराउँछन् कि ? तर कसैले टिपेको विरोध जनाउन सक्दैनन् । फूल चुँडिदिँदा उनीहरूलाई पनि त दुख्छ होला भन्ने म सोच्छु । टिपिएका फूलहरू तत्कालै रंगहीन भएको देखेको छैन ।
युवतीहरूले बरु फूल कपालमा सिउरिउन्, त्यो मलाई स्वीकार्य छ । म पनि फूलजस्तै राम्री छु भन्ने उनीहरूको सोच पक्कै राम्रो पक्ष हो नि । ढुंगाको मूर्तिमा, कागजको तस्बिरमा फूल चढाएर के हुन्छ र ?
मान्छेले फूलको उपयोग अर्कै गरिदियो ।
खैर, छाडिदिऊँ यी कुरा ।
म व्यवसायी हुँ । पेसाले बाँधिएपछि कति रहरहरू बन्दी हुँदा रहेछन् । फूल प्रतिको मोहलाई त्याग्न सकेको छैन । त्यही मोहको उपलब्धि हो मेरो फूलबारी ।
यति सानो बगैँचाले मलाई प्रकृतिको स्वाद दिएको छ । भँगेरा, परेवा, माकुरा, पुतली, छेपारा, फट्याङ्ग्रा, गँड्यौला अनेक जीवको जीवनचक्र देख्न र महसुस गर्न पाएको छु ।
माहुरी, भमरा भुनभुनाउँदै एउटा फूलबाट अर्को फूलमा उडेको हेर्न पाएको छु ।
फूल फूल्दा मलाई सन्तुष्टि मिल्छ ।
एउटा उज्यालो बिहानमा म फूल हेरेर दिनको सुरुवात गर्छु । छ्याङ्ग भैसकेको दिनमा म फूल हेरेरै आफ्नो व्यापार गर्छु । व्यापार नभएको क्षण म फूलहरूसँग सम्वाद गर्छु । फूलहरूले मलाई जीवन, समय र आयू बताउँछन् । सम्बन्ध, त्याग र कसैलाई केही दिनुको अर्थ सुनाउँछन् । साँझका अन्तिम क्षणहरु पनि फूलहरुसँगै निभ्छन् ।
अँध्यारोमा फूलहरूले पनि रंग गुमाउँछन् ।
कोही पनि नहोस् आफूसँग, अनेक खालका मनोभाव आउँछन् मनभित्र । एउटा दार्शनिक चेत, एउटा कवि मन, एउटा कलाकार, एउटा प्रेमिल मन । म आफैभित्र अनेकन भइदिन्छु । म आफैलाई अनेकन रूपमा विभाजित पाउँछु ।
म पृथ्वी भरका फूलबारी कल्पिन्छु । मालीको निःस्वार्थपन सम्झिन्छु । उसको एउटै उद्देश्य रहन्छ, सुन्दर फूल फूलाउने ।
फूल सुन्दर हुन्छन्, कोमल हुन्छन् । तर फूलहरूलाई आफू सुन्दर छु भन्ने चेत होला ? कुनै फूल बिहान फूल्छन र साँझसँगै ढल्छन् झर्छन् । फूलहरूले अनित्य जिन्दगीको दर्शन बोक्छन् । क्षणिक आयुमा सम्पूर्ण समयको खोला तर्छन् । जिन्दगीका रंग बोक्छन् । खुसीका उमङ्ग बोक्छन् । सुन्दरता दिन्छन् संसारलाई, सुवास छर्छन् प्राणीहरूलाई ।
फूलहरूले मानिसलाई पनि फूल हुन सिकाउँछन् ।