मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौँमा झापाको भक्का, तपाईंले चाख्नु भो ?

अमेरिकी दूतावासको जागिर छाडेर भक्का हाउस
शनिबार, २४ मङ्सिर २०७९, ०८ : ५९
शनिबार, २४ मङ्सिर २०७९

पुरानो बानेश्वर चोकदेखि सय मिटर पश्चिममा ‘भक्का हाउस’ लेखेको एउटा बोर्ड राखिएको छ । २९ वर्षीय विवश काफ्लेले चार वर्षअघि सञ्चालनमा ल्याएको यस भक्का हाउसमा भक्का खानेहरुको भीड लाग्ने गर्छ । 

बुद्धनगर बस्ने पर्वतकी रिता मगरले यहाँ थुप्रैपटक भक्का खाएकी छन् । ‘मलाई पहिले भक्काको बारेमा थाहा थिएन, पहिलोपटक मलाई यहाँ साथीले ल्याएर खुवाएकी थिई,’ उनी भन्छिन्, ‘मिठो लाग्यो ।’   

कतिपयका लागि ‘भक्का’ शब्द नौलो हुन सक्छ । पूर्वको विशेषगरी झापामा प्रचलित परिकारको नाम हो, भक्का । यो परिकार राजवंशी समुदायले छोरीको विवाहमा कोसेलीका रूपमा पठाउने समेत गर्छन् । झापा विर्तामोड– ५ का पूर्वकार्यपालिका सदस्य सुरेन राजवंशीका अनुसार, राजवंशीहरुले छोरी–ज्वाइँ लगायत पाहुना आउँदा विशेष परिकारका रुपमा भक्का बनाएर खुवाइन्छ । 

अमेरिकी दूतावासको जागिर छाडेर भक्का हाउस

भक्काको व्यापार गर्नुअघि विवश अमेरिकी राजदूतावासमा कर्मचारी थिए । तलब–सुविधा राम्रै भए पनि आफ्नै केही व्यवसाय अगाडि बढाउने सोचले उनले जागिर छाडे । कुनै नयाँ व्यवसायका सम्बन्धमा उनले अगाडिदेखि नै अनुसन्धान गर्दै आएका थिए । ‘भक्काकै व्यवसाय गर्छु भनेर सोचेको थिइनँ । म त खीरको बारेमा रिसर्च गर्दै थिएँ,’ विवश भन्छन्, ‘तर मलाई सानो बुवाले भक्काको व्यापार गर्ने सल्लाह दिनुभयो ।’

सानोबुवाको सल्लाह उनलाई उचित लाग्यो । उनको पुख्र्यौली घर झापा नै हो, उनलाई भक्काको बारेमा थाहा भए पनि कसरी बनाउने भन्ने ज्ञान थिएन । अफिसमा बिदा मिलाएर उनी भक्का बनाउने सीप सिक्न झापा पुगे । उनले राजवंंशीहरुसँग एक हप्ताजति भक्का बनाउन त सिके, काठमाडौँमा भक्का पसल खोलिहाल्ने आँट उनलाई आएन । त्यतिबेला उनी होस्टेलमा बस्थे । केही दिन उनले होस्टलमै भक्का बनाएर सबैलाई निःशुक्ल खुवाउन थाले । भक्का राम्रोे बन्न थालेपछि ०७५ देखि उनले यो भक्का हाउस सञ्चालनमा ल्याएका हुन् ।

भक्का हाउसको सजावटमा उनले परम्परागत शैली झल्काउने कोसिस गरेका छन् । भित्र छिर्दा नाङ्लो, डोको र बाँसका टुक्राले भित्ताहरु सजाएको देखिन्छ । 

६ लाख रुपैयाँ लगानीबाट सञ्चालनमा ल्याएको यस भक्का हाउसबाट उनले वार्षिक १४–१५ लाख जति आम्दानी गर्छन् । ‘भक्का गर्मीमा कम र जाडोमा बढी बिक्री हुन्छ,’ विवश भन्छन्, ‘जाडोमा त कहिलेकाहीँ दिनमै १०–१२ हजार रुपैयाँको व्यापार हुन्छ ।’ 

यहाँ सादा, चक्लेट र खुवा मिसाएको भक्का पाइन्छ । सादाको ४०, चक्लेट र खुवा भक्काको ६०–६० रुपैयाँ मूल्य तोकिएको छ । 

सुरुसुरुमा उनको पसलमा पूर्वतिरका मान्छे मात्रै भक्का खान आउँथे । पछिपछि सबै क्षेत्रका मानिसले यसको स्वाद चाख्न थालेका छन् । 

बनाउने विधि

भक्का चामलको पिठोलाई बफाएर बनाइन्छ । राम्रोसँग पखालेको चामललाई एक दिनअगाडि भिजाएर राख्नुपर्छ । धेरै परिमाणमा आवश्यक भएमा भिजाएको चामललाई मिलमा पिसाउन सकिन्छ । थोरै परिमाणमा हो भने मिक्सचरको प्रयोग गरेर पिठो बनाउन पनि सकिन्छ, पिठो बनाउन ढिँकीको पनि प्रयोग गरिन्छ ।

तयार पिठोलाई पानीले भिजाएर माड्ने, अनि गोलो आकार दिई उमालेको पानी रहेको भाँडोमाथि कचौरामा राखी बफाउने । यसरी भक्का तयार हुन्छ । नयाँ चामल र पोलिस नगरेको चामलबाट राम्रो भक्का बन्दछ । तयार भक्कालाई धनियाँ, गोलभेडा आदिको अचारसँग खान सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रमिला भट्ट
प्रमिला भट्ट

भट्ट प्रशिक्षार्थी पत्रकार हुन् । 

लेखकबाट थप