शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनि लाग्यो अस्पतालमै किड्नी दिनेको लाइन...

मिस नेपाल जितेकी भए कि हिरोइन हुन्थेँ होला : पल्पसा डङ्गोल
शनिबार, २४ मङ्सिर २०७९, ०७ : १०
शनिबार, २४ मङ्सिर २०७९

नामले भन्दा पनि कलाकारिताको उपनाम ‘चम्मसुरी’ परिचयबाट चिनिन्छिन्– पल्पसा डङ्गोल । ‘चम्मसुरी’ परिचय उनले हास्य शृङ्खला ‘मेरी बास्सै’बाट पाएकी हुन् । यही नामबाट उनी अहिले सर्वत्र चिनिने गर्दछिन् । भन्छिन्, ‘अभिनयको परिचयले बोलाउँदा खुसी लाग्छ ।’

सानैदेखि नृत्यमा रुचि राख्ने उनी विसं ०५१ मा एसएलसीपछि राम्रो डान्सर हुने उद्देश्यले नृत्य सिक्न थालेकी थिइन् । १९९५ को मिस नेपालमा समेत सहभागी भएर बेस्ट ड्रेसको अवार्ड हात सफल उनको पाइला भने अभिनयतिर मोडियो । उनी ठूलो पर्दामा अभिनेत्री हुँदै सानो पर्दामा छाउन पुगिन् ।

ठूलो पर्दाका करिब आधा दर्जन फिल्ममा अभिनेत्रीदेखि सह–अभिनेत्रीसम्म अभिनय गरेकी उनले तीन दर्जनभन्दा बढी सानो पर्दाको टेलिसिरियल अभिनय गरिसकेकी छन् । थुप्रै विज्ञापन र स्टेज कार्यक्रमको पनि अनुभव सँगालेकी कलाकार पल्पसा डङ्गोलका जीवनका विभिन्न पाटा ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

गुन्द्रुक र ढिँडो

म बिहान कहिलै भात खाँदिनँ, ढिँडो नै खान्छु । मेरो मनपर्ने खाना गुन्द्रुक र ढिँडो हो । स्वास्थ्यका कारणले अहिले गुन्द्रुक खान मिल्दैन । त्यसैले साँग र ढिँडो खान्छु । माछामासु पहिले खाँदिनँ थिए, गत वर्ष बिरामी भएर अस्पताल भर्ना भएदेखि खान थालेँ । 

मलाई खानेकुरामा मन नपर्ने केही छैन । आफन्त, साथीभाइसँग रेस्टुरेन्ट जान्छु, रेस्टुरेन्ट खानै भनेर कहिलै जान्न, खानै परे भेज बोइल र चिकेन बोइल खान्छु । पकाउन एकदमै रुचि छ । सानैदेखि पकाउँदै आएकाले सबथोक मीठो पकाउन सक्छु ।

नियमित योग

फिट्नेसका लागि सजग छु । मिर्गौला फेरेको ३ महिनापछिबाटै दिनको २ घन्टा नियमित योगा र एरोबिक गर्छु । अपरेसनपछि डाक्टरले धेरै बाहिर नहिँड्नु भनेको भएकाले घरभित्रै एक्सरसाइज गर्छु ।

पहिले पहिले डान्स पनि गर्थें, त्यसपछि सशस्त्रको क्लबमा जाने गरेकी थिएँ । अहिले जान्नँ । घरमा एक्सरसाइजका लागि साइक्लिङ छ । ट्रेडमिल आवश्यक देखिएको छ, छिट्टै किन्छु । 

ब्रान्ड हेर्दिनँ

पोसाकमा खासै रुचि छैन । सामान्य पाइन्ट, टिसर्ट र सारी मनपर्छ । विशेष कार्यक्रम, विवाहलगायत समारोहमा सारीचोलो र गाउन प्रयोग गर्छु । म सारीमा राम्री देखिन्छु ।

पहिरनमा धेरै मनपर्ने रङ कालो हो । आमाले धेरै कालो प्रयोग गरेकोमा कराउन थालेकाले अहिले अलिअलि कम गर्न थालेकी छु । पहिरन सस्तो महँगो र ब्रान्डभन्दा पनि  मनपरेको किन्छु । पछिल्लो समय ढाकाको मनपर्छ । पहिरन उपहार पनि आउँछ ।

अध्ययनमा सौखिन

अध्ययनमा रुचि छ तर भ्याउँदिनँ । बिरामी भएर घरमा बस्दा धेरै पुस्तक पढेकी थिएँ । अन्य समय व्यस्त हुने भएकाले रातको समयमा पढ्छु । किताबहरूको कलेक्सन गर्न मनपर्छ ।

पहिले पहिले त उपन्यास पनि पढ्थेँ । अहिले धार्मिक पुस्तक मनपर्न थालेको छ । पछिल्लो समय अध्यायन गरिरहेको पुस्तक बुद्धको पाइला हो । चर्चित व्यक्तित्वका पुस्ताक भ्याएको बेला पढ्छु भनेर किनेर राख्ने गरेको छु । अहिले म डाक्टर नभए पनि भन्ने जस्ता स्वास्थ्यका विषयमा लेखिएका किताब पढ्छु ।

घुमघाममा​ रुचि

घुमघाममा एकदमै रुचि छ । संसारका सबै ठाउँ घुम्न पाए हुन्थ्यो जस्तो लाग्छ । देशको लगभग सबै ठाउँ घुमेको छु । प्राकृतिक सौन्दर्यले भरिएको ठाउँहरू विशेष मनपर्छ । 

विदेशका पनि धेरै राष्ट्र घुमेको छु । अब केही दिनमा तेस्रो पटक युरोप जाँदैछु । युरोपका सबै राष्ट्र पुगेको छु । मलेसिया, कतार, बैङ्कक गएको छु । अब यूके, जापान, यूएसएलगायत सबै देश एक पटक घुम्न मन लागेको छ, जहाँ म पुगेको छैन ।

फुर्सद छैन

जीवनमा खासै फुर्सद हँुदैन । लकडाउन र बिरामी पर्दाको समय फुर्सद भयो । काम गर्न थालेपछि भने व्यस्तव्यस्त छु । फुर्सदममा परिवारसँग रमाउँछु, घरको काम गर्छु ।

म सानैदेखि खेलाडी

म सानैदेखि खेलाडी थिएँ । बास्केटबल, टिटी, भलिबललगायत गेम खेल्थेँ । वीरेन्द्रसिल्डलगायत थुप्रै प्रतियोगितामा भाग लिएर पुरस्कार पनि जितेको छु । अहिले पनि खेलकुद धेरै मनपर्छ । फुटबलका लागि फुट्सल खेल्छु । विश्वकप हेर्छु । बास्केटबल पनि मनपर्छ ।

दुईवटा मोबाइल ​ बोक्छु

अहिले मसँग अहिले सामसुङ र आइफोन गरेर दुईवटा मोबाइल छ । पुराना नम्बर छोड्न मन नलागेको र एनसेलको सिम पनि आवश्यक भएकाले तीनवटा सिम छ । त्यसका लागि दुईवटा मोबाइल बोक्छु ।

मोबाइलका धेरै फङ्सन चलाउन जाँन्दिनँ । बिहान नियमित समाचार हेर्छु । त्यसपछि फोन गर्न, फेसबुक र इमेलका लागि प्रायोग गर्छु । कहिलेकाहीँ युट्युब पनि हेर्छु । मोबाइल नहराए, नबिग्रिएसम्म हत्तपत्त फेर्दिनँ ।

टीभी हेर्छु

टीभी प्राय साँझ हेर्छु । टीभीमा सिरियल, नेपाली कमेडी सो, कपिल शर्मा सोलगायत हेर्छु ।

फिल्म पनि हेर्ने गरेको छु । बिरामी हुनुअगाडि नयाँ फिल्म रिलिजको समय हलमै गएर हेर्थें । नेपाली फिल्म पैसा तिरेर हेर्नुपर्छ भन्ने मेरो धारणा छ ।

हिन्दी, अङ्ग्रेजी फिल्म पनि राम्रो, चर्चामा आएको हेर्छु । सामाजिक र ऐतिहासिक फिल्म बढी मनपर्छ । दीपन्द्र के खनालले बनाएको ‘आमा’ भन्ने फिल्म हेर्न मन लागेर पनि हेर्न पाएको छैन । रिलिजको समय म बिरामी थिए ।

जागिर, व्यवसाय 

पहिले व्यवसायका लागि आफ्नै रेस्टुरेन्ट नेपाली भोजन थियो । त्यसपछि विदेशीलाई नेपाली कल्चर देखाउने प्रोग्राम आफ्नो रेस्टुरेन्टको अलवा अन्य ५, ६ वटा गर्थें । लकडाउन र म आफैँ पनि बिरामी परेकाले छोडेँ । 

अहिले भोजन भूमि भन्ने रेस्टुरेन्टमा विदेशीलाई नेपाली कल्चर देखाउने काम गर्छु । मिर्गौला फेल भएर अस्पताल भर्ना हुनुअगाडिसम्म मेरिडेन्ट इन्टरनेसनल स्कुलमा नृत्य पनि सिकाउँथे । त्यस अगाडि त ४, ५ वटा स्कुलमा नृत्य प्रशिक्षकको रूपमा जागिर गरेँ । स्वास्थ्यले साथ दियो भने अर्काे सेसनबाट फेरि सुरु गर्छु ।

कलाकारिता मेरो प्राण

सानैदेखि नृत्य गर्थें म । २०५०, ०५१ मा एसएलसीपछि राम्रो डान्सर हुने उद्देश्यले साधना कला केन्द्रमा नृत्य सिक्न थाले । राजु शाह सरले नृत्य सिकाउँथे । त्यही समय सन् १९९५ को मिस नेपाल भिडेँ । त्यहाँ बेस्ट ड्रेसको अवार्ड हात पर्यो । नृत्य सिक्दै र गर्दै जाँदा विज्ञापन, साङ्गीतिक कार्यक्रमलगायत गर्न थालेँ ।

त्यही समय ‘मिस्टर फन्टुस’, ‘हत्तेरी’, ‘श्रीमान् श्रीमती’लगायत सिरियल अभिनय अवसर मिल्यो । कलाकारितामा लाग्छु भनेर कहिल्यै सोचेको थिइनँ तर पनि अभिनयमा होमिएँ म ।

त्यसपछि दमन रुपाखेतीको फोन आयो, ‘मेरी बास्सै’ अभिनयका लागि । यो अभिनय गर्न थालेपछि मैले पछि फर्किएर हेर्नुपरेन । ‘चम्मसुरी’ परिचय योबाटै पाएको हो ।

त्यो समय मिस नेपाल जितेको भए कि हिरोइन हुन्थेँ, कि अर्काे करियर हुन्थ्यो । जित्न नसकेको कारण अहिले कलाकार छु । अहिलेसम्म मैले ३० बटाभन्दा धेरै भागका सिरियल अभिनय गरेको छु । अहिले भने ‘मेरी बास्सै’ मात्र छ ।

‘मेरी बास्सै’मा चम्सुरी नाम आफैँले राखेको हो । एक दुई भाग सिरियल अभिनय गरेपछि  एउटा टिपिकल नाम राख्ने कुरा भयो । त्यो समय किरण केसी, शिवहरि पौडेललगायतले मलाई जिस्किएर चम्सुरी भन्थे । त्यो मेरो दिमागमा थियो । मैले पनि यही नाम राखौँ भने । सबैले चिप हुन्छ कि, नराम्रो हुन्छ कि भने । मैले एक दुई भाग हेरौँ, नराम्रो भए फेरौँला भनेर जिद्दी गरेर राखेँ । अहिले मेरो चर्चा त्यही नामबाट भएको छ ।

करियरको सुरुमा फिल्ममा ग्रुप डान्स गर्थें । परिभाषा, जन्मजन्म, मितज्यू गरेपछि अवतार र कस्तो सम्झौता भन्ने फिल्ममा लिड डान्स गरेँ । फिल्म नगद नारायणमा रमेश उप्रेती र माटो बोल्छ दीनेश शर्माको हिरोइनको भूमिकामा पनि अभिनय गरेँ । त्यसपछि फिल्म खेलेको छैन । मलाई पहिलेदेखि नै हिरोइनको फिल्मी आयु धेरै हुँदैन भन्ने लाथ्यो । 

दुःख, सुख

कलाकारको सुख भनेको दर्शकको माया हो । आफूले गरेको कामबाट दर्शक खुसी हुनु भनेको हाम्रो सबैभन्दा ठूलो सफलता हो ।

जब म दुवै मिर्गौला फेल भएर अस्पताल भर्ना भएँ । त्यो समयसम्म मलाई मिर्गौला जसको पनि लिन मिल्दैन भन्ने थाहा थिएन । अस्पतालबाट अर्ध चेतको अवस्थामा मैले डोनेसनको कुरोमा केही चाहिँदैन, एउटा किड्नी भएपुग्छ भनेकी थिएँ । त्यसपछि अस्पतालमा मलाई किड्नी दिनेको लाइन लाग्यो । आफ्नो शरीर काटेर मलाई किड्नी दिनेको लाइन कलाकारिताले गरेको हो । कतिका घरमा सोधेर, खाना खाएर आएकी छु । मेरो किड्नी निकाल्नुस् भनेरसमेत भने ।

अस्पतालमा किड्नीका बिरामी त कति छन्, कति । मलाई दिन लाइन लाग्यो । भ्याली बाहिरबाट फोन गरेर दिन्छु भन्ने कतिकति । त्यसले कलाकारितामा म सफल रहेछु भन्ने फिल्म भयो ।

त्यसअगाडि म आफ्नो परिवार र बच्चाका लागि बाच्नुपर्छ भन्ने सोच्थेँ । अहिले लाकारिताका लागि बाच्नुपर्छ, दर्शकका लागि बाँच्नुपर्छ भन्ने लाग्छ । कलाकारिताले मलाई नाम, दाम, इज्जत सबथोक दिएको छ । यो खुसी हो ।

कहिलेकाहीँ भनेको समय परिवार, आफन्तलाई दिन सकिन्न । त्यो दुःख हो ।

केही छैन सपना

काठमाडौँमा केही अग्लो स्थानमा एउटा सपनाको महल ठड्याउने सपना थियो । त्यो अहिले चोभार हाइटमा बन्दैछ करिब तीन करोडमा । अबको जीवन त्यसमा बिताउने सपना छ । 

प्रेम विवाह

विसं २०५१ साल माघ ५ गते मैले प्रेमविवाहमा गरेको हो । हामी सँगै डान्स गथ्र्याैं । उहाँ पनि नेवार परिवारकै हो । विवाहका लागि उहाँको परिवारबाट पहिला अलि गारो भएको थियो । त्यसपछि सहमतीमा विवाह गर्यौँ ।

विवाहअगाडि र पछाडि मलाई मनपराउने थिए, होला । मेरो कसैसँग प्रेम भए । सानैदेखि बुबाआमाले भनेजस्तो कास्टसित प्रेम भए पनि विवाह गर्दिन्छु नभाग्नु भन्नुहुन्थ्यो । फेरि म सानैदेखि विभिन्न खेलकुदलगायतमा व्यस्त भएकाले प्रेम गर्ने फुर्सद पनि भएन । 

गीत सुन्छु

गीतसङ्गीतमा रुचि छ, धेरै सुन्छु । पुराना, सदाबहार गीतहरू सुन्छु । नरायण गोपाल, अरुण थापा, अरुणा लामालगायतका गीत धेरै मनपर्छ । हिन्दीमा लता, किशोर कुमारलगायतको सुन्छु ।

गाउन रहर छ । एउटा गीत ल्याएकी छु । अर्काे एक ‘सम्धीसँग’ भन्ने कमेडी खालको रेकर्ड भएको छ । छिट्टै बाहिर आउँछ । 

यो खराब बानी

सबैलाई छिटो विस्वास गर्छु । कसैले माग्यो मसँग भएको जे पनि दिन्छु । यो मेरो खराब बानी हो । यसकारण दुःख पनि पाएको छु । विस्वास गरेकाले घात धेरै गरेका छन् ।

भूल छैन

जीवनमा जानी नजानी सानातिना भूल भए होलान् । जानेर भूल गरेजस्तो लाग्दैन । त्यसैले सधँै पछुताउनुपर्ने, सम्झने भूल केही गरेजस्तो लाग्दैन ।

छैन रोग

भगवान्को कृपाले अहिले ठूलो रोग केही छैन । दुवै मिर्गौला फेल भएको थियो । भाइले एउटा दियो । किड्नी फेर्नुअगाडि म प्रेसरको औषधि खान्थेँ । अहिले केहीको पनि औषधि खाँदिनँ, किड्नीको भने औषधि खान्छु । मैले  बाइक चलाएर हिँडेको देख्दा अहिले मानिस डराउँछन् । 

अहिले​ गर्दिनँ

अहिले मापसे गर्दिनँ । म नेवार समुदायको भएको कारणले धेरै पहिले घरमै बनेको अलिअलि खान्थेँ । कहिलेकाहीँ साथीभाइसँग पार्टीमा हल्का वाइन लिन्थेँ । किड्नी खराब भएको थाहा पाएपछि छोएको पनि छैन । विदेशबाट ल्याएको, गिफ्ट आएका चाहिँ घरमा सजाएर राखेकी छु । साथीभाइ आउँदा काम लाग्छ । 

राशि ‘तुला’

मेरो राशि ‘तुला’ हो । ग्रह दशामा पनि विश्वास लाग्छ । हेराउने, जुराउने गर्छु । पूजापाठमा धेरै आस्था छ । मन्दिर पनि जान्छु ।

मृत्यु सत्य हो

मृत्यु सत्य हो । जीवनसँगै मृत्यु जोडिएको हुन्छ । म करिब करिब मृत्युको मुखमा पुगेर फर्किन सफल भएँ । त्यसैले मानिसको जिन्दगी केही होइन जस्तो लाग्यो । मृत्यु ढिलो, चाँडो एक दिन अवश्य आउँछ ।

अस्पतालमा रहँदा मृत्यु अहिले नभए हुन्थ्योजस्तो लागेको थियो । अहिले त हत्तपत्त मर्छु जस्तो लाग्दैन । मृत्यु सहज होस्, कलाकारिता गर्दागर्दै होस्, त्यही छ कामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप