शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुस्तक अंश : अर्काको भागको त्यो कुटाइ

शनिबार, २४ मङ्सिर २०७९, ०६ : ५२
शनिबार, २४ मङ्सिर २०७९

स्कुल पढ्दा कविता कण्ठ पारिन्थ्योे, पार्नैपथ्र्यो । बुझेर होइन, नबुझेरै । गुरुको आदेश तामेल गर्न । नत्र कानका लोती उक्किन्थे, हातखुट्टामा सुम्ला उठ्थे । 

सरहरू हामीलाई कण्ठ पार्न भन्थे । हामी घर (कहिलेकाहीँ स्कुलमै पनि) मा सस्वर कविता पाठ गथ्र्यौँं । कविता कण्ठ भएपछि हामी फुरुङ्ग पथ्र्यौँं । किनकि कुटाइबाट बचियो । कक्षामा सबैका अगाडि आएर मुर्गा बन्नु परेन । डर र लाजको बचाउ गरिन्थ्यो ।

गुरुको कुटाइ छल्न जतिसुकै कोसिस गरे पनि कहिलेकाहीँ फेला परिहालिन्थ्यो । अहिलेजस्तो मिठाई दिएर गल्ती सुधार्ने जमाना थिएन त्यो । गल्ती घरमा होस् वा स्कुलमा सजाय कुटाइ नै हुन्थ्यो । 

सबै कुटाइ त स्मृतिमा छैनन् । तर कुनै–कुनै कुटाइ भने स्मृतिबाट हटेका छैनन् ।

वैशाखमा तराईको गर्मी ! आँखै तिरमिराउने । दिउँसोको घाम छल्न सबै कामको ‘सेड्युल’ बिहान–बेलुकी मिलाइएको हुन्थ्यो । स्कुल पनि बिहानमै चल्थे । सवा ५ देखि साढे १० बजेसम्म । 

हामी कक्षा ४ मा पढ्थ्यौँं । एक दिन मैले साथीहरूसँग प्रस्ताव राखेँ– ‘आज पौडी खेल्न जाम् ।’ 

खेल्न पाए हुन्न कसले भन्ने ? ‘काँ जानी ?’ रवीन्द्रले सोध्यो । 

‘कञ्जरुवा,’ मैले भनेँ । म कञ्जरुवासँग भलिभाँती परिचित थिएँ । 

बर्खे बिदाका पूरै डेढ महिना र अन्य स्कुल बिदाका दिन दिउँसो म कञ्जरुवामै हुन्थेँ । ती दिन म गोठालो बन्थेँ । गोठालो त बहानामात्र । हाम्रो काम बस्तुभाउ वनतिर धपाएर दिनभरि पौडी खेल्नु हुन्थ्यो । साँझ आफैँ चरेर फर्किने वस्तुका पछाडि लाग्यो, घर आयो । 

यसै गरी म पौडीबाज बनिसकेको थिएँ । साथीहरूलाई मेरो पौडी कुशलता पनि देखाउनु थियो । पौडीका अनेक चर्चा गरेर म उनीहरूलाई लोभ्याउँथेँ । 

मेरो प्रस्तावमा रवीन्द्र र कुमार सहमत भए तर लक्ष्मण मानेन । उसको स्वभाव नै त्यस्तै थियो । 

स्कुल छुट्टी भएपछि सरासर तीनजना हाम्रो घर गयौँं । साथीहरूले त्यो दिनको भात छोडे । मैले पनि साथ छोडिनँ । झोला त्यहीँ थन्क्याएर सुटुक्क पौडी खेल्न जाने हाम्रो योजना थियो । 

आमाले थाहा पाइहाल्नुभो । ‘तिमेरु आज काँ जान लाका ?’ आमाले सोध्नुभयो । हामीले मुखामुख ग¥यौँं । सुरुमा त टार्न खोज्यौँं तर सकेनौँं ।

‘आज हामी पौडी खेल्न जान ला’का,’ मैले भनेँ । 

‘यस्ता घाममा...! आमा कराउनुभयो, ‘बिरामी परिन्च अनि... ।’ 

‘आज एक्कै दिन के,’ मैले अड्डी कसेँ । ‘हुन्न, हुन्न,’ आमाले भन्नुभयो, ‘बाइर यस्तो आगो बल्योछ ।’ 

हामी हिँड्न पाएकै थिएनौँं, सरहरूको टोली हाम्रो आँगनमै टुप्लुक्क आइपुग्यो । धेरैजसो सरहरूको स्कुलबाट घर जाने बाटो यही पथ्र्यो । 

घरदेखि पाँच मिनेटको दूरीमा थियो स्कुल । स्कुल के, खरले छाएको एउटा लामो टहरो । बारबेर केही थिएन । बीच–बीचका खामाले कक्षाकोठाको सिमानाको काम गर्थे । बस्नलाई काठमा मुढा थिए ।

सरहरूको अधिकांश समय काट्ने ठाउँ थियो हाम्रो दोकान । हाफछुट्टीमा चिया खान हाम्रै दोकानमा आउँथे । चियासहितको सानो गाउँले दोकान थियो हाम्रो । बाटावारि घर, बाटापारि दोकान । 

बिदाका दिन दिनभरि सरहरूको अड्डा जम्थ्यो । एक खालले नभ्याएर दुई खाल, तीन खालसम्म बस्थे । अहिलेको ‘म्यारिज’जस्तै तिनताक ‘रमी’ र ‘कलबे्रक’ खुब चलेको थियो । एक खालमा चारजना, चार जनामा तीनजना त सरहरू नै हुन्थे । बिहानको पढाइमा पनि १२÷१ बजेपछि जम्मा भइहाल्थे ।

‘हेर्नु न बाबु यस्ता घाममा यिनेरु पौडी खेल्न जान तम्स्याछन्,’ आमाले बलराम सरसित पोल लाइदिनुभयो । बलराम सर अर्थात् मेरा माइला बा । बलराम सर हामीलाई नेपाली र संस्कृत पढाउँथे । साह्रै क्रूर शिक्षकमा गनिन्थे । कमै हाँस्थे, बोल्थे । धेरै कुट्थे । बलराम सर भनेपछि सबै विद्यार्थी थुरुरु । घरमा पनि उनको शासन कडा थियो ।

‘काँ जानी ?’ बलराम सरले हामीतिर आँखा तरे, ‘खबरदार, कहीँ ग’को थाहा पाएँ भने भोलि स्कुलमा तिमेरुको खैरियत छैन ।’

बलराम सरले यति भनेपछि काण्ड पुग्यो । कसको हिम्मत उनको विरुद्ध जाने । हामी ङिच्च प¥यौँं । सरहरू आ–आफ्ना घरतिर लागे । हामीलाई के गरौँं, के गरौँं भयो । हामी दोकानतिर आयौँं ।

‘ए ह्याँ त तास रैच नि,’ कुमारका आँखा दोकानको झ्यालमा रहेका पुराना तासका गड्डीमा परेछन् । तास समाउँदै कुमारले रविन्द्रतिर हेरेर भन्यो, ‘अब एकछिन तास खेलम् अनि घर जाम्ला ।’

‘पौडी खेल्न पाइएन के रे !’ रविन्द्रले उदास स्वरमा भन्यो, ‘अब तास भए नि खेलम् एकछिन ।’ 

हामी भित्रबाट चुकुल ठोकेर भित्री कोठामा तास खेल्न थाल्यौँं, जुटपत्ति । अरू खेल्न त आए पो ! हामी खेल्नमै मस्त थियौँं । बाहिरबाट कसैले बोलाएको आवाज आयो । हामी सतर्क भयौँं ।

‘टीकाराम दाइ, ए टीकाराम दाइ,’ आवाज गंगाराम सरको रहेछ । भित्र हामी ‘स्ट्याचु’ भयौँं । गङ्गाराम सर कति चाँडो घर पुगेर खाना खाएर आइसकेछन् !

भित्रबाट कुनै जवाफ नपाएपछि गङ्गाराम सरले ढोका ढक्ढक्याउन थाले । ढोकाको ढकढकसँगै हाम्रो सास बढ्न थाल्यो । भागौँं, भाग्ने ठाउँ छैन । बाहिर निस्कौँं, सरले था पाउलान् भन्ने डर ! हामी बोल्न पनि सकेनौँं । बाहिर आउन पनि सकेनौँं ।

एकछिनपछि आवाज आउन छाड्यो । ढोका ढक्ढक्याउन पनि बन्द भयो । 

‘सर गएजस्तो छ,’ हामीले अनुमान लगायौँँ । हामी मसिनो स्वरमा खासखुस गर्न थाल्यौँं । हामीबीच फेरि खेल्न कि नखेल्ने भन्नेमा दहलफसल भयो ।

‘पख् सन्ते, पख् । रविन्द्रे, कुमार तिमेरु पनि !’ गङ्गाराम सर झ्यालबाट चोर औँंला ठड्याइरहेका थिए ।

हामी स्तब्ध भयौँं । हाम्रो होसहवास गुम भयो । ‘अहिल्यैदेखि लुकी लुकी तास खेल्नी !?’ उनी कड्किए, ‘पख, भोलि मैले जान्या छु तिमेरुलाई ।’

उनी कुन सड्को पछाडिपट्टि आएर करेसातिरको झ्यालबाट हाम्रो चर्तिकला हेरिरहेका रहेछन् ।

मलाई हगौँं–हगौँं, मुतौँं–मुतौँं भयो । घोसेमुन्टो लाएर हामी त्यहीँ बसिरह्यौँं । ‘बा खोइ ?’ गङ्गाराम सरले सोधे । ‘कुन्नि,’ मैले मुन्टो नउठाई भनेँ । उनी हिँडे । उनीसँगै हाम्रो सातो पनि हिँड्यो । 

‘पख, भोलि मैले जान्या छु तिमेरुलाई,’ गङ्गाराम सरका शब्द हाम्रा कानमा गुञ्जिरहे । कुट्न भनेपछि गङ्गाराम सर पनि कहलिएकै थिए । उनी लठ्ठी नलिई कक्षा कोठामा पस्दैनथे । कहिलेकाहीँ लठ्ठी ल्याउन बिर्सिए भने पनि ‘जा–जा अफिस कोठामा गएर एउटा लठ्ठी लिएर आइज,’ भनेर कसैलाई पठाउँथे ।

मलाई भोलिको दिन कहिल्यै नओस् जस्तो लाग्यो । हामी नुन खाएका कुखुराजस्ता भयौँं । भोलिको कुटाइबाट बच्ने उपाय खोज्न थाल्यौँं । केही सुझेन ।

‘भोलि हाम्ले कुटाइ खानी पक्का छ । आओ अब आजैदेखि कुटाइको तालिम लिम् ।’ कुमारले उपाय सुझायो, ‘सरले हान्नी हाम्रा यिनै हातमा हो के रे, आजैदेखि हातका छाला मारम् ।’ 

उसले करेसातिरबाट एउटा लठ्ठी खोजेर ल्यायो । ‘ल हात थाप्,’ लठ्ठी उठाउँदै मतिर फक्र्याे । मैले ऊतिर दायाँ हात बढाएँ । स्वाट्ठ मेरो हातमा एक लठ्ठी हिर्कायो । ‘ऐया !’ मैले हात तानेँँ । 

त्यसै गरी उसले हात दियो, मैले हानेँ । ‘ऐया ! दुख्यो’ उसले भन्यो, ‘अल्ली सुस्तरी हान् न ।’

एउटाले हात थाप्ने अर्कोले हान्ने, अर्कोले हात थाप्ने अर्कोले हान्ने । सुरु सुरुमा विस्तारै हाने पनि पछि जोडजोडले हान्न थाल्यौँं । तीनै जनाले पालैपालो यो क्रम धेरै पटक दोहो¥यायौँं ।

हाम्रा हात रगत चुहुलान् जस्ता भए । ‘अब त सरले हाने नि दुख्दैन,’ मैले आफैँले आफ्नो दाहिने हातमा अलि बेस्सरी हान्दै भनेँ । छाला पनि अलिअलि मरेजस्तो भयो ।

निकैबेर बितिसकेको थियो । ‘कुमार हिँड् अब घर जाम्,’ रवीन्द्रले भन्यो, ‘जे होला भोलि देखाजाएगा ।’

उनीहरू गए । म त्यो रातभरि निदाउन सकिनँ ।

भोलिपल्ट स्कुलमा हाम्रा आँखा गङ्गाराम सरलाई मात्रै खोजिरहेका थिए । गङ्गाराम सर आएका थिएनन् । बिहानीको प्रार्थनाका लागि लाइन बस्यौँं । गङ्गाराम सर देखिएनन् । ‘हे भगवान् आज गङ्गाराम सर स्कुल नआऊन्,’ मैले लाइन बस्दा मनमनै प्रार्थना गरेँ । लाइन सकिएर कक्षामा जाने बेला ढाका टोपी ढल्काउँदै गङ्गाराम सर त टुप्लुक्क आइपुगे । मेरो मुटु ढक्क भयो ।

अब नचाहेर पनि हामी तेस्रो घण्टीको प्रतीक्षा गर्न विवश थियौँं । तेस्रो घण्टीमा गङ्गाराम सर हामीलाई गणित पढाउँथे ।

पियन दाइले पहिलो घण्टी ठोके । म झसङ्ग भएँ । उनले तेस्रो घण्टी नबजाइदिए हुन्थ्यो जस्तो लाग्यो । 

एक हातमा चक, डस्टर र किताब अर्को हातमा लठ्ठी हल्लाउँदै बलराम सर हाम्रो कक्षामा पसे । ‘शुभ प्रभात सर,’ कक्षा जुरुक्क उठ्यो । ‘शुभ प्रभात, ल ल बस–बस,’ बलराम सरले भने । 

उनी हाजिर कापी निकालेर हाजिर गर्न थाले– ‘रोल नम्बर १ ।’ कुमारले सरतिर नहेरी उठेर ‘हाजिर सर’ भन्यो । ‘रोल नम्बर २ ।’ ‘हाजिर सर ।’ ‘रोल नम्बर ३ ।’ ‘हाजिर सर ।’ ‘रोन नम्बर ४’ भन्दा बलराम सरले कलम टक्क अड्याए र पुलुक्क मतिर हेरे । ...‘रोल नम्बर २१, रोल नम्बर २२ ।’... हाजिर सकियो ।

हाजिर कापी टुलमा राखेर उनले किताब फुकाए । ‘आज म तिमेरुलाई नयाँ पाठ पढाउँदिन,’ सरले भने, ‘पढेका पाठबाट प्रश्न सोध्छु, हेरम् तिमेरुलाई कत्तिको आउँदो रै’छ ।’

सबका अनुहार काला नीला भए । सबैले घोसेमुन्टो लाए ।

सरले मतिर चोर औँंलो तेस्र्याउँदै भने, ‘सनत ! ल भन्, ‘राम भात खान्छ । कुन काल हो ?’

म उभिएँ । उत्तर सम्झिन खोजेँ, आएन । म घोरिएँ । उत्तर दिन सकिनँ । 

उनले फेरि त्यस्तै अर्को प्रश्न सोधे । जसको जवाफ पनि मसँग भएन ।  

बलराम सरले किताब पल्टाइ पल्टाइ यस्ता प्रश्न छानेका थिए, जसको उत्तर मलाई आउँदैन भन्ने उनलाई पक्का थियो । मैले त के कुमारलाई सोधेको भए पनि ती प्रश्नको उत्तर दिन सक्दैनथ्यो । तर उनले अरू कसैलाई सोधेनन् ।

‘ल अगाडि आइज,’ उनले भने । मैले मुन्टो उठाएर पुलुक्क उनको अनुहारमा हेरेँ । त्यहाँ क्रोधको आगो सल्किसकेको थियो । म लुरुलुरु अगाडि गएँ । 

सरले दाहिने हातले मेरो कपाल समाए र देब्रे हातले दाहिने गालामा एक चड्कन हिर्काए, ‘चड्याम्म ।’ मेरा आँखा पिल्पिल् भए । ममाथि अर्को झापड प¥यो । 

‘पढ्नु लेख्नु छैन,’ उनले हात र मुख सँगै चलाए, ‘घाममा पौडी खेल्न जानी !’ चौथो थप्पड हिर्काएपछि मलाई गालामा तातो तावाले डामेजस्तो भयो । 

‘तासको नाइके तँ नै होइनस् ?’ उनी निरन्तर थप्पड बर्साइरहेका थिए, ‘अब पनि खेल्छस् ?’ 

‘खेल्दिनँ सर,’ मेरा आँखाबाट तुरुक्क आँसु झरे । म अब सहन नसक्ने अवस्थामा पुगिसकेको थिएँ । मैले आफ्ना हातले सरको प्रहारको बचाउ गर्न थालेँ । 

‘गर्मीमा डुल्छस् ?’ उनका हात चलिरहेकै थिए । ‘डुल्दिनँ सर,’ मेरो स्वर काँपिरहेको थियो ।

म रुन थालेँ । उनले अब हात चलाउन छोडे । टुलमा भएको लठ्ठी ताने र मेरा हातमा हिर्काउन थाले ।

म छेक्दै जान्थेँ, उनी झन् जोडले हिर्काउँदै जान्थे । ‘अब गर्दिनँ सर,’ म आर्तनाद गर्थें । मेरो सुरु सुरुको सुँक्कसुँक्क पछि घ्वाँघ्वाँमा परिणत भयो । 

म रुन होइन, चिच्याउन थालेँ, ‘ऐया आमा ! मरेँ ।’ मेरो चिच्याहटसँगै उनको प्रहारको घनत्व पनि बढ्दै गयो । 

पूरै स्कुलको ध्यान हामीतिर तानियो । सरहरू पढाउन छोडेर हामीतिरै केन्द्रित भए । सबै कक्षाका विद्यार्थी उठेर बलराम सरको ममाथिको प्रहार हेर्न थाले । स्कुल आखिर पारदर्शी न थियो । 

यस्तैमा कक्षा १ बाट मेरै रुवाइको समानान्तर आवाज आउन थाल्यो ।

‘हेर न भाइ, बाले दाइलाई कुट्नुभयो,’ भाइ रवि र बहिनी (बलराम सरकै छोरी) विमला चिच्याइ चिच्याइ रोइरहेका थिए, ‘बाले दाइलाई मार्नुहुन्च ।’

स्कुलभरि तमासा भयो ।

पियन दाइले दोस्रो घण्टी ठोके । बलराम सर पिट्दा पिट्दा आधा भएको लठ्ठी भँुइमा फालेर कक्षाबाट बाहिरिए । 

मेरो पूरै शरीर भत्भती पोलिरहेको थियो । अनुहार मौरीले चिलेजस्तै सुन्निएको थियो । एकछिनपछि मैले दाहिने हात पनि चलाउन सकिनँ । लाग्यो हात भाँच्चियो ।

म हिक्क–हिक्क गरिरहेको थिएँ । दोस्रो, तेस्रो र चौथो घण्टी कसरी बिते मैले पत्तो पाइनँ ।

हाफछुट्टीको घण्टी लाग्नेबित्तिकै भाइ र बहिनी मछेउ आए । ‘दाइ बाले तपैँलाई किन हान्नुभको ?’ बहिनीले सोधी । म केही बोलिनँ । हाफछुट्टीमा हामी तीन भाइबहिनी घर आयौँं ।

मेरो हालत देख्नेबित्तिकै आमा आत्तिनुभो, ‘के भयो तँलाई ?’ म बोल्न सकिनँ । हिक्कामात्रै छुट्यो । ‘माइलाबाले कुटेर दाइको हाँत भाँच्दिनु भो,’ भाइले भन्यो । ‘खोइ त हेरम्,’ आमाले मेरो हात समात्नुभयो । ‘ऐया !’ मेरो मुखबाट अनायास निस्कियो । 

बिस्तारै सर्टको बाहुला माथि तानेर आमाले हात हेर्नु भयो । हात सुन्निएको थियो । हातभरि लठ्ठीका सुम्लैसुम्ला थिए । हात सीधा गर्न मिल्दैनथ्यो । अनुहारभरि औँंलाका डाम थिए । गाला पनि पूरै सुन्निएका थिए । आमालाई असह्य भएछ, भन्नुभयो– ‘ठनक्क भाँच्चिन नसकेका यिनका हात ।’

हाम्रा पछि पछि सरहरू पनि चिया खान हाम्रै दोकानमा आए । सरहरूलाई देख्नेबित्तिकै आमा गर्जिनुभयो । ‘बाबु तपैँले यो के गर्नु भको ?’ आमाले बलराम सरसित भन्नुभयो, ‘हान्नी भनेर नि केटाकेटीलार्ई यस्तरी हान्नी हो त ! हेर्नु त हात भाँच्चियो भनेर छुनै देको छैन ।’ 

बलराम सरको मुख अँध्यारो भयो । ‘यसो हप्काइ दप्काइ गर्नी, नभए एक दुई थप्पड हान्नी त छुट्टै हो,’ आमाको ममता बोलिरह्यो, ‘यसरी हातै भाँच्चिनी अरी नि हान्नी हो त ?’ आमा कराइरहनुभयो । सबै सरहरू चुपचाप सुनिरहे ।

‘मैले हातै भाँच्चु भनेर हानेको हुम् र !’ अन्त्यमा बलराम सरले भने, ‘अबदेखि तपैँका छोरालाई नछुम्ला भ’न ?’ 

त्यस दिनदेखि बलराम सर अर्थात् मेरा माइलाबाले मलाई कुटेको सम्झना छैन । 

जरा संस्मरण कथासंग्रहबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप