बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय विस्तार कार्यका लागि सम्झौता

शुक्रबार, २३ मङ्सिर २०७९, २१ : ३६
शुक्रबार, २३ मङ्सिर २०७९

पोखरा विश्वविद्यालयको बृहत् गुरूयोजनाअन्तर्गत निर्माण हुन लागेको केन्द्रीय प्रशासनिक भवन विस्तार, विश्वविद्यालय परिसरमा पर्खाल तथा प्रवेशद्वार निर्माण एवं जग्गा विकासका लागि सम्झौता गरिएको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालको उपस्थितिमा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा डा दीपकबहादुर भण्डारी र निर्माण व्यवसायीका तर्फबाट अधिकृत प्रतिनिधि सुरेश गौतमले आज सम्झौतापत्रमा हस्ताक्षर गरे ।

पोखरा महानगरपालिका–३०, कास्कीमा अवस्थित विश्वविद्यालय परिसरभित्र अवस्थित दुई तले केन्द्रीय प्रशासनिक भवनमा दुई तला थपका साथै पर्खाल, प्रवेशद्वार, रजत स्तम्भ, जग्गा विकास (आन्तरिक बाटो, फुटपाथ, जलनिकास, बगैँचा र पार्किङस्थल आदि निर्माण) का लागि छनौट भएको एल।जि।ए। कन्स्ट्रक्सन, कोटेश्वर, काठमाडौँ र पोखरा विश्वविद्यालयबीच सम्झौता गरिएको हो ।

आगामी पुस १ गतेदेखि निर्माण सुरू भई १५ महिनाभित्र सम्पन्न हुने निर्माण कार्यको सम्झौता लागत रु ११ करोड ८४ लाख ९८ हजार आठ सय १० रूपैयाँ छ । सम्झौतामा उल्लेख भए बमोजिम एक सय १४ रोपनी जग्गाको विश्वविद्यालय परिसरभित्रको ‘ए’ ब्लकमा रहेको हालको केन्द्रीय प्रशासनिक भवनलाई परिमार्जन र लिफ्टसहित दुई तला थप गरी चार तलाको बनाउने, प्रशासनिक भवन अगाडि रजत स्तम्भ निर्माण गर्ने, केन्द्रीय प्रशासनिक भवन र परीक्षा नियन्त्रण कार्यालयको पर्खालमाथि एक मिटर उचाइको चेनबार लगाइने छ । उक्त पर्खालभित्र जोडेर चार किल्ला वरिपरि पाँचफुटको फुटपाथ निर्माण गर्ने, मूल प्रवेशद्वार निर्माण गर्ने तथा पर्खालभित्रको पार्किङस्थल र बगैँचालाई व्यवस्थित गरिने जनाइएको छ ।

त्यस्तै विश्वविद्यालय परिसरभित्रको ‘बि’ ब्लकस्थित खेलमैदानलाई व्यवस्थित गर्न चेनबार भएको पर्खालसहित प्रवेशद्वार निर्माण गर्ने र ‘सि’ ब्लकस्थित प्राज्ञिक भवन कम्प्लेक्सको उत्तरतर्फ सहायक प्रवेशद्वार निर्माण गरिनेछ । ‘डी’ ब्लकमा विश्वविद्यालयको शिक्षण अस्पताल निर्माणको अन्तिम चरण रहेको र त्यही ब्लकमा पोखरा विश्वविद्यालय सम्बन्धन प्राप्त कलेजहरूको सङ्गठन ‘ओपेन’ द्वारा अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र निर्माण भइरहेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप