बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी तथा पूर्वप्रहरी र कर्मचारीलाई मेघा अस्पतालमा ५० प्रतिशत छुट

शुक्रबार, २३ मङ्सिर २०७९, २० : ५२
शुक्रबार, २३ मङ्सिर २०७९

बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्वप्रहरी कर्मचारी र तिनका आश्रित परिवारका लागि ललितपुर महानगरपालिका–३ धोबीघाटमा रहेको मेघा अस्पतालले अस्पतालको सेवामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

नेपाल प्रहरी श्रीमती सङ्घ र मेघा अस्पताल प्रालिबीच काठमाडौँमा आयोजित एक समारोहका बीच छुट सुविधासम्बन्धी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरी श्रीमती सङ्घको तर्फबाट अध्यक्ष श्रीमती कुसुमलता सिंह तथा मेघा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष किशोरजङ्ग राणा र चिकित्सा निर्देशक डा इवराज सिम्खडाले सम्झौतापत्रमा हस्ताक्षर गरी आदान–प्रदान गरे।

समारोहमा सङ्घकी अध्यक्ष सिंहले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको अतिरिक्त प्राकृतिक प्रकोप, आपत्विपत्मा समेत आफ्नो ज्यानको प्रवाह नगरी सेवामा खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्वप्रहरी कर्मचारीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरी अस्पतालमा स्वास्थ्योपचार तथा औषधिका लागि छुट दिने गरी भएको सम्झौताप्रति कृतज्ञता व्यक्त गरिन् ।

उनले आगामी दिनमा समेत सङ्घ र अस्पतालबीचको सहकार्य र समन्वय भइरहने बताउनुभयो । सो अवसरमा अस्पतालका अध्यक्ष राणाले नागरिक सुरक्षामा खटिने प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारलाई अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा लाभदायी हुने विचार व्यक्त गर्दै आगामी दिनमा समेत अस्पताल र सङ्घबीच आवश्यक सहकार्य हुने बताए ।

उक्त सम्झौतापत्रमा अस्पतालको सेवा–सुविधाअन्तर्गत आइसीयू शय्या, वार्ड, क्याविन रूम, ल्याब र एक्सरेमा ५० प्रतिशत छुट, ओपिडी डाक्टर, आइसीयू वार्ड तथा क्याविन वार्ड डाक्टर राउण्ड, ओटी अपरेशन र डाक्टरले दिने सुविधामा ३० प्रतिशित र फार्मेसी औषधिमा १५ प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।

साथै आर्थिक अवस्था कमजोर भई उपचार गराउन असमर्थ रहेको भनी सिफारिस भई आएमा वार्षिक तीन जनालाई अस्पतालले निःशुल्क उपचारको व्यवस्था गर्नेछ । सम्झौता आजदेखि २०८४ मङ्सिर २२ गतेसम्म पाँच वर्षका लागि लागू हुने जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप