शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

शुक्रबार, २३ मङ्सिर २०७९, २० : ४४
शुक्रबार, २३ मङ्सिर २०७९

आज मिति २०७९ साल मंसिर महिनाको २४ गते शुक्रबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–

१. सर्वोच्चको आदेश

सर्वोच्च अदालतले संसद सचिवालयले प्रधानन्ययाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै पठाएको पत्र कार्यान्वयन नगर्न आदेश दिएको छ ।  महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले बुधबार जबरालाई पत्र दिएका थिए ।

तर, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले पत्र कार्यान्वयन नगर्न तथा नगराउन आदेश दिएको हो ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरू विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधबार उक्त पत्र बदर गर्न माग राख्दै रिट निवेदन दायर गरेका थिए ।

२. समानुपातिकका ३३० सांसद छान्न ७ दललाई सकस

निर्वाचन आयोगले दलहरूले पाएको मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित हुने नामहरू पठाउन पत्राचार गरेसँगै बिहीबारबाट आन्तरिक गृहकार्यमा जुटेका राजनीतिक दलहरुलाई समयमै समानुपातिकबाट निर्वाचित हुनेहरूको नाम आयोगमा पठाउन सकस परेको छ । 

 मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणामअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एनेकपा समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टी लगायतले समानुपातिक सांसद छान्न पाउँछन् । प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० गरी ३३० जना सांसद समानुपातिक निर्वाचन प्रणालीमार्फत छानिन्छन्।

प्रतिनिधि सभातर्फ नेकपा एमालेले सबैभन्दा धेरै मत ल्याएर ३४ सांसद छान्दैछ भने दोस्रो ठूलो दल नेपाली कांग्रेसले एमालेको भन्दा २ सिट कम हुनेगरी मत पाएकाले ३२ जना सांसद छान्दैछ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७ जनता समाजवादीले ५ र जनमत पार्टीले ५ जना छान्दैछन् । त्यसैगरी प्रदेशतर्फ सबै दलले गरेर २२० सांसद छान्नुपर्ने हुन्छ । आयोगले बिहीबार पत्र पठाएर शनिबारसम्म नाम पठाउन भनेको छ । तर अधिकांश दलहरूले शनिबारमात्रै बैठक बोलाएर समानुपातिक नाम टुंग्याउने तयारी गरेका छन् । 

​नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले समानुपातिक संसद्को नाम तय गर्नुका साथै बैठकमा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनमा पार्टीको भूमिकाको विषयमा पनि छलफल हुने बताइएको छ ।

यसैगरी, समानुपातिक सांसद छान्न जनता समाजवादी पार्टी (जसपा) ले पनि शनिबार बिहानलाई बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।

​यता, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक पनि शनिबार बस्ने भएको छ । बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने बैठकले चुनावी समीक्षाका साथै समानुपातिक सांसद चयन गर्ने भएको छ ।

​राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बिहान ११ बजे बस्ने भएको छ । बैठकले निर्वाचनको समीक्षा एवं प्रतिनिधि सभा तर्फको ७ र विभिन्न प्रदेशसभातर्फको १७ समानुपातिक सदस्य टुङ्गो लगाउने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

​माओवादी केन्द्रको बैठक पनि शनिबार फेरि बस्ने भएको छ। 

​३. त्रिविको दीक्षान्त समारोह

त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा १० हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा १० हजार ३९२ जना विद्यार्थी दीक्षित भएको उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले जानकारी दिए ।  दीक्षान्त समारोहमा ३२ हजार भन्दा बढीको सहभागिता रहेको थियो । २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका विद्यार्थीहरूले आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् ।

​सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौं जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको बताएका हुन् ।

​४. सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टी तयार

नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन तयार देखिएको छ । शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।

जनकपुर बमकाण्डको आरोपमा जेलमा रहेका संजय साहकी बहिनी अनिताकुमारी साह सिके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिकतर्फ मधेस प्रदेशसभा सदस्य चयन भएकी छिन् । अनिता साहको बिहे महोत्तरीमा भएको हो । उनका श्रीमान जनकपुर सडक डिभिजन कार्यालयका प्रमुख हुन् । जनमत पार्टीमा अनिताकुमारी साहको खासै योगदान नरहेको भन्दै पार्टीभित्र र बाहिर त्यसको आलोचना भइरहेको छ ।

​५. भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले  भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताए ।

​सोही कार्यक्रममा बोल्दै मुख्यसचिव शंकरदास बैरागीले सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताए ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिवद्ध रहँदै आएको बताए ।

​६. काठमाडौंमा मेलम्चीको पानी

खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका छन् ।

शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन् ।  उनले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए ।

​७. नेपालमा सङ्घीयताको औचित्य रहेन : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले मुलुकमा सङ्घीयताको औचित्य नभएको बताएका छन् ।

रिपोर्टस् क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले नेता व्यवस्थापन गर्ने सङ्घीयता भन्दा जनताको समानुपातिक सङ्घीयता आवश्यक रहेको औंल्याए ।

​८. उम्मेदवारीमा महिलाहरूमाथि विभेद

राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरूमाथि व्यापक विभेद गरेको तथ्य बाहिर आएको छ । 

 प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि ठूलो विभेद् गरेको बताएका हुन् । निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैंगिकता र समावेशिता’ विषयक समीक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुलाई १० प्रतिशत उम्मेदवार पनि नबनाएर राजनीतिक दलहरुले महिलाहरुमाथि राजनीतिक हिंसा गरेको आरोप लगाए ।

९. विकास बोर्डको निर्देशन

चलचित्र विकास बोर्डले फिल्म हलमा विश्वकपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । बोर्डले चलचित्र सबै हलहरुलाई पत्राचार गर्दै नियमअनुसार चलचित्रमात्र प्रदर्शन गर्न निर्देशन दिएको हो । सञ्चारमाध्यमहरूमा कतिपय फिल्म हलमा विश्वकप प्रदर्शन गर्न लागिएको सार्वजनिक भएपछि बोर्डले एक्सन लिएको हो ।

​१०. र, यो पनि

प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले समानुपातिकतर्फ सातवटै प्रदेशमा गरी नौ सिट पाएको छ ।

​बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ ।  बुद्ध एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गर्न लागेको हो । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ ।

​सरकारी लगानीमा पहिलोपटक बन्न लागेको ग्वार्कोस्थित ‘फ्लाईओभर’ निर्माणका लागि तयारी अघि बढाइएको छ । अहिलेसम्म डिजाइनको काम भइरहेकामा भौतिक कामका लागि आजदेखि सवारी साधनको व्यवस्थापन सुरु गरिएको छ ।

​नेपाल कम्युनिष्ट पार्टी बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे  कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जाने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएको बताएका हुन् । उनले संसदवादी दलहरु कम्युनिष्टको नाममा विकृत र भ्रष्ट भएको भन्दै उनीहरु जनताको पक्षमा नरहेको बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका अध्यक्षसँग भेटवार्ता गरेका छन् । शुक्रबार पौडेलले माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपाका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्रराय यादवसँग भेटवार्ता गरेका हुन् ।

​थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप