शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवनिर्वाचित सांसदका लागि ‘सुन–चाँदी’ मिश्रित लोगो बनाइँदै

शुक्रबार, २३ मङ्सिर २०७९, १८ : ५८
शुक्रबार, २३ मङ्सिर २०७९

संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरुका लागि लोगो बनाउन  सुरु गरेको छ । संसदमा प्रतिनिधित्व गर्ने २७५ जना सांसदका लागि सचिवालयले यस अघि नै डिजाइन गरेको लोगो बनाउन थालेको हो । एक साताभित्रमा लोगो प्राप्त हुने र शपथ ग्रहणका दिनसम्म सांसदहरुलाई वितरण गरिसक्ने तयारी रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए । घरेलु तथा साना उद्योग मार्फत सो लोगो बनाउने काम भइरहेको हो, जसमा सुन, चाँदी लगायतका धातु मिसाइएको हुन्छ । 

२ लाल सुनको जलप र १ तोला चाँदीको लेप लगाइएको वृत्ताकार लोगोमा सुनौलो नेपालको नक्सा, त्यसअघि नेपालको झण्डा र त्यसलाई महिला र पुरुषको गरी दुई हात फैलाएर बोकेको भावसहितको लोगो छ । लोगोको तल्लो भागको किनारामा रातो अक्षरले ‘संघीय संसद नेपाल’ लेखिएको छ । ३ दशमलब ५ सेन्टिमिटर व्यास रहेको लोगोमा पित्तलबाट बनेको नेपालको नक्सामा सुनको जलप लगाइएको छ । लोगोमा रहने दुई हात भने तामाबाट बनाइएको छ ।  

नवनिर्वाचित सांसदका लागि बनाइएको एउटा लोगोको मूल्य ५ हजार ८ सय ३१ रुपैयाँ परेको सहप्रवक्ता धमलाले जानकारी दिए । यसअघि ५ हजार ५ सय २७ रुपैयाँ लागतमा एउटा लोगो तयार भएकोमा हाल सुनको मूल्य बढेका कारण एउटा लोगोमा ३०४ रुपैयाँ मूल्य बढेको उनले बताए । लोगो बनाउने कालीगढले अघिल्लो वर्षझैँ प्रतिलोगो कुँदे बापत २५ सय रुपैयाँ ज्याला पाएका छन् । 

हालको मूल्यमा २७५ सांसदका लागि १६ लाख ३ हजार ५२५ रुपैयाँ लोगोका लागि खर्च हुने देखिन्छ । तर केही मात्रामा अघिल्लो पटकको लोगोपनि स्टक रहेको सचिवालयको भनाई छ । 

यसअघि २०७७ सालको साउनको अन्तिम सातातिर वितरण गरिएको चुच्चे नक्सासहितको नयाँ लोगो विवादमा आएको थियो । नक्सा राम्रोसँग नमिलेको, भद्दा भएको भन्दै आलोचना भएपछि फेरि लोगो सच्याएर वितरण गरिएको थियो ।

यसअघिका सांसदहरुलाई दिइएको लोगो भने फिर्ता नमागिने संसद सचिवालयले जनाएको छ ।

नयाँ दलको कार्यालय राख्न सचिवालयले पायो सिंहदरबारभित्र भवन

यो पटकदेखि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न लागेका ४ नयाँ दलका लागि संसदीय दलको कार्यालय व्यवस्थापनका लागि संघीय संसद सचिवालयले भवन पाएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयको भवन छेउ रहेको ‘हेलो सरकार र नागरिक एप’को कार्यालय बसेको प्रिफ्याव भवनमा नयाँ ४ दलका लागि संसदीय दलको कार्यालय बनाइँदैछ ।

सो भवनमा रहेको कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहेको भवनमा सार्ने तयारी भएको छ भने शुक्रबार सचिवालय सो भवनमा बोर्ड समेत टाँसेको छ ।

संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले भने, ‘हाल हेलो सरकार र नागरिक एपको कार्यालय रहेको भवनमा संसदमा प्रतिनिधित्व गर्न लागेका नयाँ दलका लागि संसदीय दलको कार्यालय व्यवस्थापन हुँदैछ । सो भवनमा गृहमन्त्रालयको पनि सामान रहेकोले त्यसलाई हटाउनका लागि गृहमन्त्रालयमा पत्राचार गरेका छौँ ।’

उनका अनुसार हेलो सरकार र नागरिक एपले पनि कार्यालय सार्ने भइसकेका छन् । ‘सो भवनमा संसदीय दलको कार्यालय रहने भनेर हामीले सूचना बोर्डपनि टाँसिसकेका छौँ,’ उनले भने, ‘सो भवनको केही कोठा गृहमन्त्रालयले पनि उपयोग गरिरहेको सन्दर्भमा त्यो कोठा खाली गर्नका लागि पत्राचार गरेका छौँ ।’

संसदमा प्रतिनिधित्व गर्न लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका लागि सो भवनमा संसदीय दलको कार्यालय स्थापना गर्न लागिएको हो । 

सांसदहरुले शपथ खाने कार्यक्रम अघि कार्यालय व्यवस्थापनको कार्य सक्ने सचिवालयले जनाएको छ । यसअघि कायम रहेका राजनीतिक पार्टीका संसदीय दलको कार्यालयमा रङरोगन गर्ने काम सकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप