मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अब कसरी चल्छ लोसपा ?

शुक्रबार, २३ मङ्सिर २०७९, १७ : १०
शुक्रबार, २३ मङ्सिर २०७९

जसपाबाट विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी हालै सम्पन्न आम निर्वाचनमा राष्ट्रिय पार्टी बन्न सकेन । समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसक्दा यो पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फमात्र प्रतिनिधित्व गरेको छ ।

२०७४ को निर्वाचनसम्म राष्ट्रिय जनता पार्टीका नाममा क्रियाशील रहेको पार्टी र तत्कालीन संघीय समाजवादी पार्टीबीचको एकतापछि जसपा नेपाल बनेको थियो । तर पार्टी विभाजन भएर पूर्व राजपा पक्षका नेताहरुले लोसपा गठन गरे । मधेसवादी दल बनाएर २०६४ देखि चुनावमा भाग लिएको इतिहास बोकेको पार्टी यो निर्वाचनमा भने राष्ट्रिय दलको मान्यता पाउन वञ्चित भयो । त्यतिबेला महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी थियो । मधेसमै मधेसी जनअधिकार फोरम, सद्भावना पार्टी र तमलोपाको संयुक्त मोर्चा थियो ।

२०६४ को संविधानसभा चुनावमा तत्कालीन तमलोपाले एक्लै चुनाव लड्दा पनि प्रत्यक्षमा ११, समानुपातिक नौ र एक मनोनित गरी २१ जना संविधानसभा सदस्य पाएको थियो । त्यो चुनावमा तमलोपाका अध्यक्ष महन्थ ठाकुर भने पराजित भएका थिए । पछि उनलाई मन्त्रिपरिषदबाट मनोनित गरिएको थियो ।

संसदमा तमलोपाले राम्रो उपस्थिति देखाएर शक्तिशाली पार्टीकै रुपमा उदाएको थियो । सरकारमा निरन्तर सहभागी हुँदै रह्यो । सरकारकै कारण त्यही बीचमा पार्टी विभाजन पनि भयो । महेन्द्रराय यादव तत्कालीन तमलोपाबाट अलग भएर तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल गठन गरेका थिए ।

२०७० को चुनाव आउँदासम्म मधेसी जनअधिकार फोरम, तमलोपा र सद्भावना पार्टी विभिन्न टुक्रामा विभाजन भइसकेका थिए । र, ती सबै दल २०७० को दोस्रो संविधानसभा चुनावमा अलगअलग भाग लिएका थिए ।

त्यो चुनावमा तमलोपाले प्रत्यक्षमा चार सिटमात्र जितेको थियो भने समानुपातिकबाट सात सिट ल्याएको थियो । अर्थात् त्यतिबेला तमलोपासँग ११ जना संविधानसभा सदस्य थिए । त्यो चुनावमा पनि तमलोपाका अध्यक्ष महन्थ ठाकुर पराजित भएका थिए ।

त्यतिबेला सबै दल एक्लाएक्लै चुनाव लडेका कारण अहिलेको जस्तै सबैको साइज घटेको थियो । २०७४ वैशाखमा मधेसका तमलोपासहित विभिन्न ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी नेपाल गठन भयो । त्यसमा ६ जना अध्यक्षको एउटा अध्यक्षमण्डल बनेको थियो । उनीहरुले २–२ महिना चक्रीय प्रणालीमा आधार अध्यक्षता गर्थे । केही समय महन्थ ठाकुरले नै त्यसको नेतृत्व गरेका थिए । तर पार्टी सुस्त भएपछि चक्रीय प्रणालीमा पार्टी चलाइएको थियो ।

राजपा नेपालले २०७४ को आमचुनावमा भाग लियो । तर आन्दोलनमा रहेको कारणले सबै प्रदेशमा भाग लिन सकेन । अन्तिममा राजपाले मधेस प्रदेशमा मात्र भाग लिएको थियो । तत्कालीन राजपा र संघीय समाजवादी फोरम नेपालको गठबन्धन थियो । गठबन्धनबाट त्यतिबेला राजपाले १० वटा सिट प्रत्यक्षमा जितेको थियो भने समानुपातिकबाट ६ वटा सिट ल्याएको थियो ।

त्यतिबेला राजपाले चार लाख ७२ हजार २५४ मत ल्याएको थियो । अर्थात त्यतिबेला उसले ४.९४ प्रतिशत मत ल्याएर थ्रेसहोल्ड कटाएको थियो । प्रतिनिधिसभामा १० वटा सिट जितेर राष्ट्रिय पार्टी बनेको थियो ।

चुनावपछि राजपाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकारलाई बाहिरबाट समर्थन गरेको थियो तर पछि मधेसका माग पूरा नगरेको भन्दै समर्थन फिर्ता लिएको थियो ।

संविधान संशोधन, मधेस आन्दोलनको क्रममा लागेको मुद्दा फिर्ता, नागरिकता समस्या समाधानलगायतको माग लिएर राजपा आन्दोलन गरिरहेको थियो । त्यसको केही समयपछि उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी पनि ओली नेतृत्वको सरकारबाट बाहिर निस्केको थियो ।

सरकारको विषयलाई लिएर त्यतिबेला एमालेका अध्यक्ष ओली र तत्कालीन समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच राम्रो सम्बन्ध थिएन । त्यसको रिसमा त्यतिबेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी विभाजन गराउन थालेका थिए । फुट्न लागेको पार्टीलाई बचाउनका लागि अध्यक्ष यादवले २०७७ वैशाख १० गते रातारात महन्थ ठाकुर नेतृत्वको राजपा नेपालसँग एकीकरण गरेर जसपा नेपाल बनाएका थिए ।

जसपा नेपालमा उपेन्द्र यादव र महन्थ ठाकुर दुईजना अध्यक्ष रहने गरी व्यवस्था मिलाइयो । तर दुई अध्यक्षीय प्रणालीमा सो पार्टी धेरै दिनसम्म चल्न सकेन । पार्टी निर्माण भएको ६ महिना नपुग्दै जसपामा विवाद उत्पन्न भयो ।

त्यही विवादका कारण २०७८ भदौमा जसपा विभाजन भयो । महन्थ ठाकुर जसपाबाट अलग भएर लोसपा गठन गरे । महन्थ ठाकुर पक्षका धेरै नेताहरु उपेन्द्र यादव नेतृत्वको जसपामै बसे । उपेन्द्र यादव पक्षका पनि केही नेता महन्थ ठाकुरको पक्षमा आए ।

२०७८ भदौमा गठन भएको लोसपाले गति लिन सकेन । २०७९ वैशाखमा भएको स्थानीय चुनावमा पनि लोसपाले सन्तोषजनक नतिजा ल्याउन सकेको थिएन । त्यतिबेला नै अनुमान भइसकेको थियो कि लोसपा राष्ट्रिय पार्टी बन्न सक्दैन । राष्ट्रिय पार्टी बनाउनकै लागि महन्थ ठाकुरले गठबन्धन बनाउनका लागि मरिहत्ते गरेका थिए ।

कहिले एमालेसँग, कहिले कांग्रेससँग गठबन्धन गर्ने भनि विभिन्न तहमा वार्ता र संवाद उनले गरिरहेका थिए । एमालेसँग गठबन्धन गर्ने लगभग निश्चित भइसकेको थियो । सिट बाँडफाँटका लागि कार्यदल पनि गठन भइसकेको थियो । तर जब पाँच दलीय गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जसपा बाहिरियो अनि महन्थ ठाकुर एमालेलाई छाडेर पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरे ।

लोसपाले देशभर ५१ सिटमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये गठबन्धनसँग मधेस प्रदेशमा मात्र आठ सिटमा तालमेल गरेको थियो । लोसपाले ५१ सिटमध्ये प्रतिनिधिसभामा चार सिट मात्र जित्यो । त्यसमध्ये मधेस प्रदेशमा तीन र लुम्बनी प्रदेशमा एक सिट जितेको छ ।

समानुपातिकमा १ लाख ६८ हजार ३६७ मत ल्याएको लोसपाले थ्रेसहोल्ड कटाउन सकेन । त्यसले गर्दा लोसपा राष्ट्रिय पार्टी बन्नबाट बञ्चित भयो ।

कसरी चल्छ लोसपा ?

लोसपा गठन भएको एक वर्षभन्दा बढी भइसक्यो तर हालसम्म संगठन विस्तारको काम सकिएको छैन । एउटा कार्यकारिणी समितिको भरमा पार्टी चलिरहेको छ । केन्द्रीय समिति समेत गठन गर्न सकेको छैन । भ्रातृ संगठन, अन्य विभाग, समितिहरु पनि गठन भएको छैन ।

पार्टीमा नेताहरु जिम्मेवारी विहीन छन् । कसैलाई कुनै जिम्मेवारी दिएको छैन । त्यही कारण पछिल्लो समय थुप्रै नेताले पार्टी छाडेर अन्य पार्टीमा गइसकेका छन् । अन्य नेताहरु असन्तुष्ट भएर बसेका छन् । पार्टी चलयमान छैन ।

चुनावपछि सबै पार्टी सक्रिय छन् तर लोसपा चुपचाप बसेको छ । समानुपातिक सांसद चयनलगायतका विषयमा हरेक पार्टीको बैठक चलिरहेको छ । तर लोसपाका नेताहरु आआफ्नो काममा सक्रिय छन् । लोसपा अधिकांश शीर्ष नेताहरु काठमाडौं बाहिर छन् ।

लोसपा वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य अनिलकुमार झा, लक्ष्मण लाल कर्ण, रामप्रकाश चौधरीलगायतका थुप्रै नेता चुनाव हारे । त्यसले तल्लो तहका नेताहरुको मनोबल कम भएको छ । लोसपाका एक नेताले भने, ‘चुनाव हार्नु एउटा कुरा हो तर पार्टी नै रहेन भनि चिन्ता भयो, राष्ट्रिय पार्टी बन्न सकेन त्यसले धेरै नेता तथा कार्यकर्ताको मनोबल घटाएको छ ।’

राष्ट्रिय पार्टी बन्न सकेन, अब कसरी चल्छ लोसपा भनि जिज्ञासामा लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीमा चुनावी समीक्षा बैठक बसेर अगामी यात्रा तय गरिने बताए । लोसपा कमजोर हुनुमा उनले पार्टी नयाँ भएको, सबै ठाउँमा उम्मेदवारी दिन नसकेको, समयमा गठबन्धन बनाउन नसकेकोलाई नै मुख्य कारणका रुपमा देखाए । अब पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउने उनको तयारी छ ।

तर अन्य नेताहरु ‘वेट एण्ड सी’ को अवस्थामा छन् । अध्यक्ष ठाकुरले पार्टीका लागि अब कस्तो स्टेप लिने हो त्यसको प्रतीक्षामा नेताहरु छन् । पुरानै तरिकाले पार्टी सञ्चालन भयो भने धेरै नेताहरु लोसपाको विकल्प खोज्ने सोच बनाइसकेको नेताहरु बताउँछन् । कतिपय नेताहरुले त लोसपामा लागेर आफ्नो राजनीतिक जीवन नै बर्बाद भएको भन्न थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप