शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिकका ३३० सांसद छान्न ७ दललाई सकस

शुक्रबार, २३ मङ्सिर २०७९, १५ : ४७
शुक्रबार, २३ मङ्सिर २०७९

राजनीतिक दललाई समानुपातिकतर्फ निर्वाचित हुने सांसद छान्न सकस परेको छ । निर्वाचन आयोगले दलहरूले पाएको मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित हुने नामहरू पठाउन पत्राचार गरेसँगै बिहीबारबाट आन्तरिक गृहकार्यमा जुटेका राजनीतिक दलहरुलाई समयमै समानुपातिकबाट निर्वाचित हुनेहरूको नाम आयोगमा पठाउन सकस परेको हो ।

आयोगले बिहीबार पत्र पठाएर शनिबारसम्म नाम पठाउन भनेको छ । तर अधिकांश दलहरूले शनिबारमात्रै बैठक बोलाएर समानुपातिक नाम टुंग्याउने तयारी गरेका छन् ।  त्यसका लागि नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, जसपा र राप्रपाले शनिबार बैठक बोलाएका छन् भने माओवादी केन्द्रले शुक्रबार बैठक बोलाएको छ । एमालेले यसअघि शुक्रबार बोलाएको बैठक तयारी नपुगेको भन्दै शनिबारलाई सारेको छ । 

मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणामअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एनेकपा समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टी लगायतले समानुपातिक सांसद छान्न पाउँछन् । प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० गरी ३३० जना सांसद समानुपातिक निर्वाचन प्रणालीमार्फत छानिन्छन् ।

प्रतिनिधि सभातर्फ नेकपा एमालेले सबैभन्दा धेरै मत ल्याएर ३४ सांसद छान्दैछ भने दोस्रो ठूलो दल नेपाली कांग्रेसले एमालेको भन्दा २ सिट कम हुनेगरी मत पाएकाले ३२ जना सांसद छान्दैछ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७ जनता समाजवादीले ५ र जनमत पार्टीले ५ जना छान्दैछन् । त्यसैगरी प्रदेशतर्फ सबै दलले गरेर २२० सांसद छान्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप