ग्वार्कोमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै बढ्न थाल्यो जाम (तस्बिरहरु)
ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । आज बिहानबाट ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो ।
ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ । आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रवारदेखि फ्लाइओभर निर्माण शुरू गरेको हो । फ्लाइ ओभर निर्माणका लागि डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ ।
चक्रपथ बिस्तार आयोजनाअन्तर्गत बिस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ । जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो । ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ । कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ ¥याम्प निर्माण गरिनेछ ।
शुरूमा ब्यारेकेडहरू राखेर काम शुरू गरिनेछ । काठमाडौंको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो । फ्लाइ ओभर निर्माण कार्य शुरु भएसँगै यातायात सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही मंसिर २३ गते बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुईपाँग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट चलाइने छ ।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, माहलबाहक तथा दुईपाँग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फास्ट ट्रयाकबाट सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ