शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

मलको हाहाकारका बीच धानको उत्पादनमा वृद्धि

शुक्रबार, २३ मङ्सिर २०७९, १२ : ४९
शुक्रबार, २३ मङ्सिर २०७९

मोरङ बेलबारी–९ का कर्णबहादुर थापाले १० विगाहा जग्गामा धानबाली लगाएका थिए । यो पटक मात्रै होइन, अघिल्लो वर्षदेखि नै रासायनिक मलको निकै अभाव थियो । तर, मलको अभाव हुँदा पनि धान उत्पादन नघटेको उनी सुनाउँछन् । धान पोटाउने सिजनमा पानी परेको कारण धान वृद्धि भएको उनको भनाइ छ । साम्बा मन्सुली, राधा १२, चैते २, हर्दिनाथ, सोना मन्सुलीलगायतको जातको धान लगाएका उनले जानकारी दिए ।  उनी धानको बिउ पनि उत्पादन गर्छन् । 

बेलबारी–८ का लिलानाथ ओझाले पनि ३ विगाहा जग्गामा धान लगाएका छन् । उनलाई पनि मल पर्याप्त नपाउँदा उत्पादन घट्ने चिन्ता थियो । तर, अहिले धान उत्पादन बढ्ने उनको अनुमान छ । ‘उत्पादनको अवस्था अहिले नै कति हुन्छ भन्न सकिएको छैन । तर, बढेको अनुमान छ,’ उनी सुनाउँछन्, ‘धान जतिखेर पोटाउने बेला भएको थियो त्यसबेला आकासे पानी पर्दा धान उत्पादन बढेको जस्तो लाग्छ । धानका लागि मल प्रमुख कारण होइन रहेछ । धानका लागि सिँचाई र गोडमेल भयो भने धेरै मल नचाहिने रहेछ ।’

 मोरङ रंगेली १ का योगेन्द्र बस्नेत पनि मल अभाव हुँदा पनि धान उत्पादन बढेको सुनाउँछन् । ‘मल गत वर्षदेखि पाएको अवस्था नै थिएन । यस पटक मौसमले साथ दिएको हो । पानी कम आउँदा धान उत्पादन बढेको अनुमान छ,’ उनी भन्छन् । 

प्रदेश १ कृषि निर्देशनालयले दिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षभन्दा यो वर्ष १ दशमलव  २७ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ । प्रदेश १ मा ३ लाख ३१ हजार ८८ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने १२ लाख ९८ हजार ८५५ दशमलव  १५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा भने धान उत्पादन १२ लाख ८२ हजार ५७३ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष १६ हजार २८२ मेट्रिकटन धान बढी उत्पादन हुने उक्त कार्यालयको अनुमान छ । 

मल अभावकाबीचमा पनि धान उत्पादन बढ्नुमा सिँचाइ सुविधा र खेती गर्ने तरिकामा परिवर्तन मुख्य कुरा भएको विज्ञहरु बताउँछन् । ‘हाम्रोमा चाहिँ धान पसाउने बेलामा युरिया हाल्ने चलन थियो त्यसले भुसमात्रै उत्पादन हुन्थ्यो । यस पटक मल हाल्न नपाएको कारण भुस हुन पाएन र धान उत्पादन बढ्यो,’ धान विज्ञ डाक्टर राजेन्द्र उप्रेती बताउँछन्, ‘अर्को कुरा पानीले भिजाएर डुबाएर खेती गर्ने हाम्रो जस्तो प्रणालीमा युरिया भनेको हालेकोमध्ये २५ प्रतिशत मात्रै धानमा प्रयोग हुन्छ । त्यसकारण मलले मात्रै धेरै रूवाबासी गर्नुपर्ने अवस्था छैन । मलको मात्रा मुख्य होइन मल प्रयोगको तरिका चाहिं मुख्य हो ।’

उप्रेतीले धान उत्पादन वृद्धिमा अन्य केही कारणहरु पनि रहेको बताए । ‘अघिल्लो वर्ष भन्दा यो वर्ष धानको उत्पादन राम्रो देखिएको छ । यो हुनुमा दुई तीन कारण छन् । नेपालमा मात्रै होइन संसारका अरु थुप्रै देश भारत, चीनमा पनि धान बढेको छ । हाम्रोमा मल प्रयोग भइरहेको थियो तर, चाहिने भन्दा धेरै भएको थियो,’ उप्रेती भन्छन्, ‘मैले अध्ययन गरेर हेर्दा प्रतिकठ्ठामा ३ मन फलाउने र ७ मन धान फलाउने किसानले उत्तिनै मल प्रयोग गरिरहेका छन् । त्यो तीन मन फलाउनेले त मल खेर फालिरहेको थियो नि । त्यो खेर फाल्न यस पटक पाएनन् । अर्को कुरा खेतमा पानी छेकेको छेकेकै गर्ने हाम्रो बानी छ नि त्यसले धानको जराको विकास हुँदैन ।  जराको विकास नभएपछि जमिनको तल्लो तहमा भएको मल तानेर लिन सक्दैन । यो पटक पानी चाहिं कुनैकुनै समय मात्रै आयो । त्यसले गर्दा धानको जरा तलतलसम्म जान सक्यो ।’ 

धान पसाउने बेलामा पानी पर्दा धानको लागि पर्याप्त सल्फर उपलब्ध हुँदा पनि धान उत्पादन बढेको उनी बताउँछन् । ‘धानलाई सँधै पानी चाहिन्छ भन्ने छैन । भिजेको मात्रै जमिन भयो भने राम्रो काम गर्छ । जरा तलसम्म जान पाउँछ । स्वस्थ जराले स्वस्थ खान पाउँछ । हामी परम्परागत रुपमा धान भनेको माछा जस्तो डुबाएर राख्ने चलन छ । त्यसले वृद्धि र विकासमा असर गरेको छ । उत्पादन घटेको छ । सुकाउने र लगाउने मात्रै गर्दै गयो भने धानमा केही मात्रामा उत्पादन बढ्छ र मल पनि उचित समयमा लगाउने गर्नुपर्छ,’ उप्रेती भन्छन् । 

धानबारे जानकार पूर्वकर्मचारी सागर भट्टराई पनि धानमा बढी पानी जमाउने गर्दा उत्पादनमा असर गर्ने बताउँछन् । यसपटक धेरै पानी नपरेर चाहिने समयमा पानी परेको कारण पनि उत्पादन बढेको उनी बताउँछन् । ‘हामी धानमा बढ्ता समय पानी जमाउँछौँ । जसले बढी कार्बन उत्सर्जन पनि हुन्छ र धान उत्पादन पनि कम हुन्छ । मल हाल्दा कति उत्पादन भयो भन्ने पनि किसानसँग आँकडा छैन र मल नहाल्दा पनि कति उत्पादन भयो भन्ने आँकडा किसानमा छैन, यतिकै मल नहुँदा यस्तो उस्तो भन्नुभन्दा त्यसको प्रयोग सही ढंगले गर्ने गर्नुपर्छ । रासायनिक मल नै सबै कुरा होइन,’ भट्टराईले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप