शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘घनश्यामजीले गलत ठाउँमा खुट्टा टेक्नुभयो, विश्लेषण एउटा र निर्णय अर्को गर्नुभयो’

एमाले सरकारको दौडधुपमा छैन : योगेश भट्टराई
शुक्रबार, २३ मङ्सिर २०७९, १० : ३४
शुक्रबार, २३ मङ्सिर २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराई पार्टीभित्र ‘१० बुँदे पक्षधर’ नेता भनेर चिनिन्छन् । त्यसबेला १० बुँदे पक्षधर भनिएका भीम रावल, घनश्याम भुसालहरु एमालेबाट कर्नरमा परेका बेला भट्टराई भने हालै सम्पन्न निर्वाचनमा ताप्लेजुङबाट टिकट पाउन सफलमात्रै भएनन्, गठबन्धनका उम्मेदवारलाई हराएर निर्वाचित नै भए ।

भट्टराई निर्वाचित भए पनि एमालेका धेरै नेता पराजित हुन परेको यो निर्वाचनलाई एमालेले कसरी विश्लेषण गरेको छ ? भट्टराईको जवाफ छ– हारजित भन्दा पनि एमालेले यो पटक आफूलाई बचाएको छ ।

प्रस्तुत छ, निर्वाचन नतिजापछि भइरहेको सरकार निर्माणको जोड घटाउमा एमालेको भूमिका, वामपन्थीबीच भइरहेको एकता प्रयासको प्रगति र आगामी राजनीतिक कोर्सबारे सचिव भट्टराईसँग रातोपाटीका रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश :

अबको ५ वर्ष एमाले सरकारमा जाँदैन त ?

हामीले सरकार बनाउने कुरा पहिलो प्राथमिकतामा राखेका छैनौं । किनभने अलग अलग पार्टी भए पनि गठबन्धन बनाएर चुनाव लडेकाले गठबन्धनतिरै सरकारको मुख फर्कियो ।  

भर्खरै सम्पन्न निर्वाचनमा तपाईलाई गोल गर्न हम्मे परेको देखियो नि ? तपाईले चाहिँ कस्तो अनुभव गर्नुभएको छ ?

स्वाभाविक हो । किनभने राजनीति पनि एउटा ‘टीमवर्क’ हो । कुनै एउटा व्यक्तिको चमत्कारिक प्रयत्नबाट मात्रै हुँदैन । त्यसमा पनि हाम्रोजस्तो मुलुक, जहाँ सामाजिक संरचना एक खालको छ । त्यो संरचनामा नेतृत्वको जन्म र विघटन पनि आफ्नै खालको छ यहाँ ।

अर्को भनेको, हाम्रो देशको धेरै ठुलो पंक्ति पार्टीसँग कुनै न कुनै रुपमा आबद्ध छ । जसले मानिसहरुले कता मत हाल्छन् भन्ने पूर्वानुमान देखिन्छ । यसपटक एमालेविरुद्ध जबरजस्त अर्को गठबन्धन थियो । त्यो गठबन्धन यति ‘टाइट’ भयो कि त्यस हिसाबले एउटा दलले अर्काे दललाई भोट ट्रान्सफर गर्छ भन्ने धेरै कम मान्छेले मात्रै सोचेका हुन्छन् । एमालेको आतंक खडा गरेर कांग्रेसले माओवादीलाई सहज भोट ट्रान्सफर गरेको देखियो । माओवादी र समाजवादीको त प्रमुख दुश्मन एमाले थियो । यसले गर्दा कांग्रेसलाई उहाँहरूले सजिलै भोट ट्रान्सफर गरिदिनुभयो, जसले हामीलाई जित निकाल्न कठिन नै थियो ।

ताप्लेजुङको हकमा गएको स्थानीय चुनावमा हाम्रोभन्दा गठबन्धनको मत करिब ३ हजार बढी थियो । अहिले समानुपातिक मत हेर्दा पनि गठबन्धन हामीभन्दा झण्डै ३ हजार मतले नै अगाडि देखिएको छ । यो सबै परिस्थितिमा पनि जित निकाल्ने कुरा कठिन थियो । तर पनि हाम्रो जिल्लाका मतदाताले जिल्लाबाट प्रतिनिधित्व गर्ने हाम्रो जनप्रतिनिधिले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सकोस्, भूमिका खेल्न सकोस् र नाम चलोस् ताप्लेजुङको भन्ने सोच्नुभयो भन्ने लागेको छ ।

पार्टीलाई आउने मत भन्दा तपाईँलाई आउने मत बढी देखियो, यसको कारण के हुनसक्छ ?

हो, १९ हजार ९ सय नेकपा एमालेको समानुपातिक मत छ तर मैले २१ हजार ९ सय जति ल्याएँ । झण्डै २ हजार बढी मत देखिन्छ । यसको मतलव एकाध भोट हाम्रै मान्छे भनिएकाहरुले पनि नातागोता आदिका कारण अर्को उम्मेदवारलाई हाल्छन् नै । हालिराखेको पनि देखिन्छ । यो हिसावले हेर्दा गठबन्धनको झण्डै २ हजार मत मैले नतान्दा जित्न सक्ने अवस्था थिएन ।

तर, तपाईहरु जस्तो केही उम्मेदवारलाई त पार्टीभित्रैबाट पनि हराउने खतरा थियो भनिन्थ्यो नि !

त्यो भनाइमात्र हो । अहिले दुईचार प्रतिशत भोट आफ्नै पार्टीको पनि आउँदैन भन्ने माइण्ड मेकअप गरेर चुनाव लड्नुपर्छ । त्यो एमालेको हकमा मात्र होइन, जुनसुकै पार्टीको हकमा पनि लागु हुन्छ । किनभने कति मानिस व्यक्तिगत कारणले पनि रिसाइरहेका हुन सक्छन् । यति सानो कुरामा पनि रिसाएका हुन्छन् कि कहिले नमस्कार फर्काएन भनेर, कहिले फोन त उठाउँदैन, के भोट हाल्नु समेत भन्छन् । ठुलो डिमान्ड नभए पनि मान्छे केमा व्यस्त हुन्छ भन्ने उसले सोच्दैन ।

धेरै ठाउँमा संस्थागत अन्तरघात भयो भनिन्छ, तपाईको हकमा भयो कि भएन त ?

भएन । एकाध साथीहरुले मलाई मन नपराएको हुनसक्छ । म सबैको निम्ति योग्य र मन पराउने व्यक्ति होइन । म त्यो ठान्दिनँ पनि । म औसत मान्छे भएकाले मलाई समर्थन गर्ने पनि छन् र विरोध गर्ने पनि छन् ।

निर्वाचनपछि पहिलो पटक केन्द्रीय कार्यालयको बैठक बस्यो, निर्वाचनको कस्तो समीक्षा गरियो ?

केन्द्रीय कार्यालयको बैठकले मुलतः अन्य पार्टी कमिटीमा छलफल गर्ने एजेण्डा तय गर्ने हो । त्यसका साथै निर्वाचनको सामान्य समीक्षा गर्ने काम त हुने नै भयो । त्यसपछि नेकपा एमालेको आगामी बाटो के हो त भन्ने विषयमा लामो छलफल पनि गर्‍यौँ । त्यसमा सामान्य समझदारी के बनायौँ भने एमाले कस्तो परिस्थितिमा चुनाव लड्दै थियो ? पहिला परिस्थिति हेर्नुपर्‍यो । त्यसरी हेर्दा एमाले निकै प्रतिकुल परिस्थितिमा थियो । किनभने हाम्रोजस्तो मुलुकमा कसको सरकार छ भन्नेले पनि अर्थ राख्छ । सरकारका संयन्त्रहरु कसले चलाएको छ भन्ने कुराले निर्वाचनमा प्रभाव पार्छ ।

यसरी हेर्दा एमालेका विरुद्ध राज्यसंयन्त्र वा सरकार थियो । सुरक्षा, कर्मचारीमात्रै होइन, कतिपय स्थानमा त न्याय क्षेत्र पनि हाम्रो विरुद्धमै थियो ।

अर्को, नेपालमा दुईवटा प्रमुख प्रतिस्पर्धी पार्टी एमाले र कांग्रेसको बीचमा २०४८ सालदेखि आजसम्म भोटको अन्तर डेढ दुई लाख, डेढ दुई लाखको अन्तर छ । बढीमा ३ लाखभन्दा बढी कहिल्यै पनि गएको छैन । त्यसैले यी मुख्य प्रतिद्वन्द्वी दल हुन् । यी प्रतिस्पर्धी दलमा अरु तेस्रो, चौथो दल कता मिल्छ ? त्यसले सामान्यतया पल्ला भारी हुन्छ ।

जस्तै, २०७४ सालमा हामी र माओवादी भएपछि हाम्रो पल्ला भारी भयो र हामी धेरै माथि गयौँ । अहिले कांग्रेससँग त्यो पोल मिलेकाले स्वाभाविक रुपमा उहाँहरुको पल्ला भारी हुन्छ, त्यो हाम्रा निम्ति प्रतिकुल अवस्था आज थियो । यो प्रतिकुल अवस्थाका बीच एमालेले जुन परिणाम ल्यायौँ, यो कमजोर होइन । हामीले थुप्रै मिडिया र सरकारी संयन्त्रको अनुमानित रिपोर्ट हेरेका थियौं । गृहमन्त्रीले क्याविनेटमा पेस गरेको रिपोर्टमा पनि एमालेले २० सिटभन्दा बढी जित्दैन भन्ने थियो । समानुपातिकमा पनि कांग्रेसकै माथि देखाइरहेको थियो । तर आज हामी २० सिट जित्छ भनेर सारा सरकारी, गैरसरकारी, देशी र विदेशीले गरेको रिपोर्टलाई उल्ट्याउँदै ४४ सिटमा पुग्यौँ । त्यस हिसाबले हेर्ने हो भने यो उल्लेख्य बृद्धि हो । हाम्रो आँखाबाट हामीले प्रत्यक्षमा बाहिर भन्दा सय सिट भन्यौँ । त्यो त फेरि एमाले जस्तो एउटा राजनीतिक पार्टीले ५ सिट जित्छ भनेर मुसो तालले त बोल्दैन । एमालेले सिंहकै गर्जन गर्ने हो । त्यसो भएकाले हाम्रो आँखाले हामी ५० देखि ६० भनेका थियौँ । तर त्यो कुरा बाहिर भनेनौं । भन्न आवश्यक पनि थिएन । र कांग्रेस पनि लगभग लगभग त्यही रेन्जमा एक दुई सिट तलमाथि हुन्छ भन्ने आन्तरिक बुझाई थियो । तर हामीले अनुमान गरेका ५–७ सिट गुमायौँ । यी सिट हामीले जित्छौँ भनेर एक नम्बरमै राखेका सिटहरु गुमायौं । कहिलेकाहीँ चुनावमा अप्रत्यासित नतिजा पनि हुन्छ ।

यसको अर्थ ५०/६० सिटको अनुमान गरेका बेला ४४ सिटमा आएपछि हामी धेरै फेल खाएका छैनौँ । अर्को कुरा, हामीले समानुपातिकमा हामी नै फस्ट हुन्छौँ भनेका थियौं, त्यो भयौँ । कांग्रेसभन्दा दुई सिट भए पनि हाम्रै बढी आयो । समानुपातिकमा संघमा १ लाख ३० हजार कांग्रेसभन्दा बढी र प्रदेशमा २ लाख २५/३० बढी छौँ । मधेस प्रदेश बाहेक ६ वटै प्रदेशमा समानुपातिकमा ‘नम्बर वान’ छौँ । भनेपछि एमालेले यी व्यापक प्रतिकुलताका बीचमा पनि आफ्नो स्ट्रेन्थ गुमाएको छैन । बहुमत ल्याएन, जितेन त्यो बेग्लै कुरा हो ।

यसको अर्थ यो निर्वाचनमा एमालेले जित्यो भन्ने नै हो ?

यो निर्वाचनमा एमालेले हारेको जितेको भन्नुभन्दा पनि आफूलाई बचायो । आफूलाई कायम राख्न सफल भयो ।

गठबन्धन, सरकार, सरकारी संयन्त्र प्रतिकुल भयो भन्नुभयो, त्यो एकातिर ठिकै होला । अर्कोतिर आफैभित्रको आन्तरिक कमजोरीले केही सिट गुमाइयो भन्ने होइन ?

छ । त्यस्ता केही ठाउँ पनि छन् । केही स्थानमा पार्टीका धेरै पुराना साथीहरु पनि पार्टीविरुद्ध बागी उठ्नुभयो । मलाई दुःख लाग्छ, ती साथीहरू पार्टीमा पचासौं वर्ष लगानी गरे । होला ! उहाँहरुले टिकट पनि पाउनुपर्थ्यो होला । तर पार्टीको निर्णय प्रक्रियाबाट त उहाँहरुले टिकट नपाएपछि बागी उठ्नुभयो । कतिपय स्थानमा बागी नभए पनि असहयोग भएका छन् । यो घटना त स्थानीय चुनावमा पनि थियो । त्यतिबेला हामीले यसलाई बाहिर ल्याएनौँ । किनभने आम चुनावमा जानु थियो ।

अबचाहिँ त्यस्ता मानिसहरूलाई कारबाही हुन्छ ?

अब छुट दिनु हुँदैन भन्ने हाम्रो प्रारम्भिक छलफल भएको छ । उम्मेदवार छनोट प्रक्रियामा गल्ती भएको छ भने रियलाइजेसन गर्छ, गर्नुपर्छ । तपाईको ठाउँमा मलाई टिकट दिएको पनि हुनसक्छ, मभन्दा तपाई लोकप्रिय हुन पनि सक्नुहुन्छ । त्यस हिसाबले एकाध ठाउँमा सही मूल्यांकन नभएको हुनसक्छ । तर पार्टी प्रणालीमा पार्टीले एउटा निकायमा अन्तिम फैसला गर्छ । त्यो फैसलामाथि चित्तबुझे पनि, नबुझे पनि फेरि अर्को मिटिङमा छलफल पो गर्ने हो नि पार्टी सिस्टम भनेको ! त्यसकारण यो कुरामा कहीँ तलमाथि भएको छ भने हामी हेर्छौँ । तर पार्टीको उम्मेदवारका विरुद्ध जानाजानी मानिसहरु मैदानमा निस्केका छन्, ती पार्टीका मानिस हुन सक्दैनन् । उनीहरुमाथि गम्भीर कारबाही हुन्छ, क्षम्य हुँदैन । त्यसले पार्टीलाई नोक्सान पनि हुँदैन ।

चुनावमा बागी उठ्ने र असहयोग गर्नेको नाम संकलन भइरहेको छ ?

अब हुन्छ । तलबाट आउनुपर्छ । रिपोर्ट त तलैबाट आउनुपर्‍यो नि !

भीम रावल र घनश्याम भुसालले टिकट नपाएको कुरा पुरानै भए पनि बहस जारी नै छ । तपाईले यसबारेमा मुख खोल्नुभएको छैन नि ?

त्यो बोलिरहनुपर्ने कुरा होइन ।

पार्टीले गल्ती गर्‍यो भन्ने नेताहरु पनि छन् नि ?

मैले भीम रावलजीलाई चुनावमा टिकट दिनुपर्छ र स्थायी कमिटीमा ल्याउनुपर्छ भनेर पार्टी मिटिङमा बोलेको हो । अध्यक्षलाई पनि बारम्बार भनेको हो । तर एक हातले त ताली बज्दैन । त्यसमा भीम रावल कमरेडको पनि पोजेटिभ रेस्पोन्स हुनुपर्थ्यो, त्यो भएन होला जस्तो लाग्छ मलाई ।

घनश्याम कमरेडलाई उहाँले निर्णय गरेर फेसबुकमा स्ट्याटस लेखेपछि फोन गरेको थिएँ र भनेको थिएँ– तपाईले इतिहासमा ठुलो गल्ती गर्नुभयो, तपाईजस्तो राजनीतिक, वैचारिक नेताको यो घातक निर्णय हो ।

घनश्यामजीले टिकट पाउनुपर्छ भन्ने आम पंक्तिको जनमत छ । त्यो घनश्यामजीको पक्षमा लाग्नेको मात्रै छैन । घनश्यामजीलाई महाधिवेशनमा भोट नहाल्नेहरु र नेता नमान्नेहरुको पनि धारणा उहाँलाई इग्नोर होइन, टिकट दिनुपर्छ भन्ने नै छ । पार्टीभित्र त्यो जनमत छ तर यो कुरा उहाँले बुझ्न सक्नुभएन । राप्रपासँगको तालमेलमा उहाँकै क्षेत्र छोड्नुपर्ने परिस्थिति भयो होला । त्यसलाई उहाँले राजनीतिक सम्झौता गर्नुपर्दथ्यो ।

अथवा आफूलाई मन नपरेको व्यक्तिले टिकट पाउनुपर्ने भयो भने त्यहीँ ठाउँमा अर्को पार्टीसँग तालमेल गरेको पनि देखियो नि ?

ठिकै छ, त्यस्तै भएको छ भने पनि छलफल गर्न त सकिन्छ नि ! तर उहाँले पार्टी छोड्ने निर्णय गर्नुभयो । त्यसमा मैले सार्वजनिक टिप्पणी गर्नु सही हुँदैन । तर कहिलेकाहीँ उहाँले विश्लेषण एउटा र निर्णय अर्को गर्दिनुहुन्छ । जहाँ टेक्नुपर्ने हो, त्यहाँ टेक्नुहुन्न । आज पनि उहाँले गलत ठाउँमा टेक्नुभयो । माधव नेपालकै पार्टीमा जानुपर्ने थियो उहाँ, त्यही बेला गएको भए हुन्थ्यो नि त ! त्यो मौका किन गुमाउनुभयो ?

भेट गरेर फोटो हाल्दैमा गइसकेको भन्न पनि नमिल्ला नि ?

समर्थन त कलम र गठबन्धनको समर्थन लिनुभयो नि ! मैले त उहाँलाई तपाई माओवादीकै समर्थन लिएर चुनाव लड्ने हो भने हिजो माओवादीका बारेमा त्यत्रो ठुलो किताव लेखेको औचित्य के ? भनेर भनेँ पनि । उहाँ लेमेन त होइन, सैद्धान्तिक, वौद्धिक, वैचारिक मान्छे हो ।

भनेपछि उहाँ जहाँ जानुभयो, त्यो गलत गर्नुभयो ?

भयंकर गलत गर्नुभयो । यो प्रसंगमा भनौं– डा. बाबुराम भट्टराईले नयाँ शक्ति नामको पार्टी बनाउनुभयो । त्यो बेला ललितपुरको समिट होटलमा हामी कांग्रेस, एमाले र माओवादीका केही युवाहरुलाई सल्लाह गर्न बोलाउनुभयो । के गर्ने ? म नयाँ शक्ति पार्टी बनाउँदैछु, तपाईहरु पनि आउनुपर्‍यो भनेर । अब कांग्रेस, एमालेले हुँदैन, माओवादी हुँदैन, नयाँ शक्ति नै चाहिन्छ भन्नुभयो । त्यो बेला अरु थुप्रैले ‘हो, नयाँ शक्ति चाहिन्छ’ भनेर उकासे तर मैले तपाई गलत बाटोमा जाँदै हुनुहुन्छ, तपाईको पार्टी बन्दैन, कांग्रेस र एमालेको विकल्पमा अर्को शक्ति खडा गर्न सक्नुहुन्न दाजु भनेँ । यो काम नगर्नुुस्, तपाईलाई होला– प्रचण्ड गुटले उठ्न नदिएको होला, तर तपाई त्यो पार्टीमा एउटा सदस्य भएर बस्नुस् न, तपाईले बनाएको पार्टी हो । आज प्रचण्डलाई हाईहाई गर्नेले भोलि हाम्रो नेतृत्व गरिदिनुपर्‍यो बाबुरामजी भनेर तपाईसँग आउँछन् आउँछन् । तर तपाई निस्कने, वैद्य निस्कने, विप्लव, बादल निस्कने हो भने त प्रचण्डलाई झन् हाईसञ्चो हुनेभो नि भनेको थिएँ । जुन कुरा पछि माधव नेपाल फुट्ने बेलामा पनि उहाँलाई भनेको थिएँ ।

निर्वाचन परिणामबारे तपाईले जस्तो व्याख्या गरे पनि एमाले ८० सिटबाट घटेर आधामा आएको छ, यसले त एमाले हारेको देखिन्छ नि ?

हिजो अर्थात्, २०७४ मा हामी माओवादीसहितको गठबन्धनमा थियौं । त्यसबेला ८० सिट प्रत्यक्षमा जित्यौँ, समानुपातिक गरेर १२१ जित्यौँ । माओवादीसहित साथ लिँदा १७४ जित्यौँ । हाम्रो गठबन्धन जितेको थियो त्यो बेला । आजको गठबन्धनलाई जस्तो निरासाजनक थिएन । १७४ भनेको झण्डै दुई तिहाइ नजिक थियो । आजको गठबन्धन हार्‍यो ।

आजको गठबन्धन चाहिँ हार्‍यो भन्ने विश्लेषण हो ?

हार्‍यो त । आजको मुख्य शक्ति भनेको कांग्रेस हो गठबन्धनको । आज कांग्रेस हिजोको एमालेको पोजिसनमा गयो त ? गएन । प्रत्यक्ष र समानुपातिक गरेर १२१ पुग्यो त ? उसको एलायन्स जोड्दा १७४ पुग्यो त ? १३६ मात्र पुग्यो । त्यसकारण २०७४ को गठबन्धनलाई जनताले अनुमोदन गरेको हो । यो गठबन्धन मुलुकका लागि आवश्यक छ भनेको हो । टिकाउन नसक्नु अलग्गै पाटो हो । तर जनताले त हामीलाई अनुमोदन गरेको हो नि ! आज कांग्रेस र माओवादीसहितको गठबन्धन बेठिक भनेर जनताले भन्यो । त्यसकारण निर्वाचनमा एमालेले आफूलाई बचायो, सत्ता गठबन्धनलाई पराजित गरायो । यदि जितेको भए, सरकार सजिलै बन्थ्यो, यस्तो दौडधुप गर्नैपर्ने थिएन ।

दौडधुपको कुरा गरिहाल्नुभयो, एमाले पनि सरकार बनाउने दौडधुपमा लागेको छ ?

हामी सरकार बनाउने दौडधुपमा छैनौँ, धैर्यतापूर्वक हेरिरहेका छौँ ।

अबको ५ वर्ष एमाले सरकारमा जाँदैन त ?

हामीले सरकार बनाउने कुरा पहिलो प्राथमिकतामा राखेका छैनौँ । किनभने अलग अलग पार्टी भए पनि गठबन्धन बनाएर चुनाव लडेकाले गठबन्धनतिरै सरकारको मुख फर्कियो संख्यात्मक हिसाबले पनि । १३८ नै नपुगे पनि १३६ पुुर्‍याएर नजिकनजिक त पुग्नुभयो नि । त्यसकारण एकपल्ट हेरौँ न उहाँहरुले पहल गर्नुहोस् भन्ने एमालेको भनाइ हो । यदि उहाँहरुको मिलेन भने एमालेको पालो आउँछ ।

तपाईहरु सुरुमै सरकार बनाउन पहल नगर्ने भनेको साथ दिने पार्टी नै नभएर हो ?

होइन । साथ दिने पार्टी पनि होलान् खोज्ने हो भने । जस्तो रवि लामिछानेजीको पार्टी, नागरिक उन्मुक्ति, सीके राउतको जनमत पार्टी । हामीले हात हाल्यौँ भने माओवादी पनि के हो–के हो हुन्छ । आज हात हालेका छैनौँ । हामीबाट गएको समाजवादी के सग्लै बस्छ त हामीले हात हाल्यौँ भने ?

फुटाइदिनुहुन्छ नेकपा एकीकृत समाजवादी ?

सग्लो बस्ला त ?

भनेको अर्थ माओवादी र समाजवादी फुट्छ ?

सग्लो बस्दै बस्दैन । तर अहिले हामी हात हाल्दैनौँ । सकसक छैन त्यसमा । हामी आनन्दले बस्छौँ, केही संगठनहरु बिग्रेका छन्, त्यो बनाउँछौँ । एमालेको सवलीकरण र नवजागरण ‘प्रोजेक्ट नेक्स्ट’ भनिरहेका छौँ । हामीलाई दिएको सिम्पल म्यान्डेट पनि हो त्यो । हामीले पाएको म्याण्डेट तिमीहरुले अलि संगठन बनाउ र अर्को चुनावलाई तयारी गर भन्ने हो । 

तर कांग्रेस र एमाले मिलेर पनि सरकार बन्छ कि भन्ने एउटा पाटो छ भने अर्को मध्यावधि गर्ने शर्तमा कांग्रेसलाई सघाउन सकिन्छ भन्ने चर्चा पनि भएका छन् नि ?

अहिले मध्यावधिको कहाँ कुरा हुन्छ ? भर्खर त चुनाव भएर सबै परिणाम नै आइसकेको छैन । दोस्रो कुरा, एमाले र कांग्रेसको सहकार्य हुनसक्छ । तर कुन अवस्थामा ? यदि यो संविधान खतरामा पर्‍यो, मुलुक र व्यवस्था खतरामा पर्‍यो भने मात्रै समीकरण बन्छ ।

त्यो त तपाईहरुबाट खतरा भयो भनेर यो गठबन्धन बनेको होइन र ?

त्यो हावा कुरा हो, त्यतातिर जानु आवश्यक छैन । त्यसको लजिक नै छैन । लजिक भएको भए त उहाँहरुको १७४ पुग्थ्यो नि त ! हामी प्रतिगामी भएको भए, संविधान र व्यवस्था खाएको भए त व्यवस्था जोगाउनतिर जान्थ्यो नि १७४ सिट । त्यसकारण नेपालको इतिहास हेर्दा पनि वामपन्थीहरुको मुख्य शक्ति भनेको एमाले हो भने लिवरल डेमोक्रेटिकहरुको मुख्य शक्ति कांग्रेस हो । यो दुईवटाको बिचमा मिलाप हुनसक्छ ? हिजो वीपीले त मिलिँदैन भन्नुभयो, पुष्पलालले मिल्नुपर्छ भन्दा पनि उहाँले मान्नुभएन । तर २०४६ सालमा नेकपा एमालेको चौथो महाधिवेशनबाट नयाँ नीति ल्यायो, त्यो नीतिबाट गणेशमानजी, किसुनजीसँग हामीले छलफल गर्‍यौँ, तब परिस्थिति बदलिएको हो । त्यसपछि कांग्रेस र कम्युनिस्टको सहकार्य सुरु भएको हो । सहकार्य त्यो बेला हुन्छ जतिबेला व्यवस्थाहरु परिवर्तन वा जोगाउनुपर्ने हुन्छ । जस्तो २०४६ मा सहकार्य गर्‍यौँ, २०६२/२०६३ मा गर्‍यौँ र संविधान निर्माणका क्रममा । यी तीन वटा ऐतिहासिक कालखण्डमा कांग्रेस र हाम्रो सहकार्य भयो ।

सरकार बनाउने कुरामा सहकार्यको कुरा गरेको हो मैले त ?

यी माइनर कुरा हुन् । अहिले त कांग्रेस र एमाले बीचमा सहकार्य भन्दा पनि प्रतिस्पर्धा हो । प्रतिस्पर्धा गर्ने दुई पार्टी मिलेर कसका विरुद्ध सरकार बनाउने ? किन बनाउने ? त्यो सरकारले के गर्छ ?

देश र जनताका लागि काम गर्दा हुँदैन ?

ठिक छ, कांग्रेसले आफ्नो गठबन्धनको बनाओस् । त्यसैले कांग्रेस र एमाले अहिले नै मिलेर सरकार बन्छ बन्दैन म जान्दिँन तर मेरो मान्यता नबनाउँ भन्ने हो । किनभने कांग्रेस र एमाले भएपछि राज्यसंयन्त्र एकलौटी हुन्छ । अनि त्यसले ज्यादती गर्न थाल्छ । त्यसलाई ‘चेक एण्ड ब्यालेन्स’ कसले गर्छ ? माओवादी ३२ सिटले ? गर्दैन । आज त प्रतिपक्ष पनि बलियो हुनुपर्छ । कि हामी सरकार बनाउँछौँ, कांग्रेस प्रतिपक्षमा बसोस्, कांग्रेसको नेतृत्वमा सरकार बने हामी प्रतिपक्षमा बस्छौँ ।

सधैँ र्‍याईर्‍याई गर्ने तर नबज्ने वाम एकताको कुरा पनि छ । तपाईहरुले चुनाव अघि वामहरुको मोर्चा बनाएर जानुपर्छ पनि भन्नुभएको थियो, अहिले के छ अवस्था ?

मारक्र्सवादी कम्युनिस्टहरुले आत्मगत र वस्तुगत अवस्था भन्छौँ । चुनावअघि वामहरुबीच तालमेल गरौँ भन्ने कमजोर आत्मगत अवस्था थियो र बस्तुगत अवस्था पनि प्रतिकुल थियो । आज वामपन्थीहरु एकातिर उभिनुपर्छ भन्ने आत्मगत अवस्था प्रवल भएको छ । र, बस्तुगत अवस्था पनि अलिकति बदलिएको छ । किनकि २०७४ मा वामपन्थीहरुलाई अनुमोदन गर्‍यो भनेपछि यो देशले दुईवटा राजनीतिक पोल नै खोजिरहेको छ । त्यसमा एउटा लेफ्ट डेमोक्रेटहरु, सोसलिस्ट वा कम्युनिस्टहरु, अर्को लिवरल डेमोक्र्याटहरु । जो कांग्रेस हो, त्यसको नेतृत्व । लेफ्टहरुको नेतृत्व एमाले हो । दुई वटा पोल नै खोजिएको छ यहाँ । अहिले त नेपालमा जे भइरहेको छ, नहुनुपर्ने काम भइरहेको छ । माओवादी र कांग्रेसको एलाइन्स भएर देश बन्छ त ? घोषणपत्र हेर्नु त एउटाको के छ, अर्कोको के छ ? भोलि कुन घोषणपत्रको आधारमा बजेट बन्छ ? व्यापारी ल्याएर सेटिङ गर्ने हो भने त घोषणा पत्र नै चाहिएन, त्यसरी जस्तो बजेट बनाए पनि भयो । साँच्चै नीतिका आधारमा मुलुक चलाउने हो भने त अब कांग्रेस र कम्युनिस्ट एजेण्डामा फरक हुने हो । ट्याक्स प्रणाली, सोसल सेक्युरिटी, वैदेशिक ऋणका सम्वन्धमा हो । आत्मनिर्भर अर्थतन्त्रमा हो, शिक्षा, स्वास्थ्य, रोजगारीमा छुट्टिने हो । तर प्रचण्डजी र देउवाजीको सोसल सेक्युरिटी एजेण्डा एउटै हो ? ट्याक्स सिस्टम एउटै हो ? त्यो हो भने पार्टी किन अलग ? प्रचण्डजीले मिसाए भइगो । जुन बेला छुट्टिनुपर्ने हो, त्यो बेला उहाँहरु मिलिरहनुभएको छ ।

वाम एकता हुन्छ त त्यसो भए ?

वाम एकता हिजोको मोडलबाट नहुन सक्छ । तर वामपन्थीहरुको पोलमा एमाले बलियो पार्टीका रुपमा खडा हुन्छ । त्यो माओवादी, समाजवादीहरुलाई एकीकरण गरेर हुन्छ कि उनीहरुको भाँडोलाई रित्याएर हुन्छ, त्यो बाटो अलग्गै हुन्छ ।

यसअघि एमालेमा वामपन्थी एकता गरौँ भन्दा पार्टीमा कारबाही हुने अवस्था थियो, अब त्यो अवस्था हट्यो ?

म त्यो तहमा त भन्दिनँ । तर प्रचण्डजी र माधवजी श्रृप व्यक्तिको रुपमा मात्रै पनि रहनसक्नुहुन्छ । हिजो पनि कतिपय वामपन्थी नेताहरु व्यक्तिका रुपमा रहेका छन् नि । एमालेले तान्न जानै परेन । कालिकोट, जुम्ला, दैलेखतिर २०४८ मा नेमकिपा थिएन र ? एमाले तान्न गएको त होइन, स्वतः उहाँहरु एमालेमा आउनुभएको हो । पछि नारायणमान विजुक्छेले यो एमालेले हाम्रा मान्छे सबै लान्छ, अनि यो सँग एकता हुँदैन पनि भन्नुभयो नि ! डिल्ली महत, विनोद शाह तानेपछि उहाँले त्यसै भन्नुभयो ।

यसको मतलब प्रचण्ड र माधव नेपाललाई पार्टीमा भित्र्याइँदैन, अरु बाँकीलाई मात्रै ?

त्यो निष्कर्ष पनि होइन मेरो । उहाँहरुसहितको पनि एकता हुनसक्छ । तर उहाँहरुले त्यो तदारुकता देखाउनुभएन भने व्यक्तिमा सीमित भएर एमालेले अर्को बाटो पनि लिनसक्छ ।

स्वतन्त्र र रास्वपा लगायतले अहिले ल्याएको भोट हेर्दा अर्को चुनावसम्म कांग्रेस, एमाले, माओवादी लालटिन बालेर खोज्नुपर्ने त होइन भन्ने पनि प्रश्न उठ्न थालेको छ, यसमा तपाईको धारणा ?

कुनै पनि पार्टीको भविष्यको आकलन गरेर ग्यारेन्टी नै त गर्न सकिँदैन । कुनैबेला हामीभन्दा मसाल नै बलियो पनि थियो । आज मसाल १ सिटमा पुगेको छ । तर पनि नयाँ पार्टीबाट उहाँहरु आउनुभएको छ, त्यो लोकतन्त्रको, व्यवस्थाको सुन्दर पक्षकै रुपमा म लिन्छु । तर कसरी आए ? भन्ने हामीले समीक्षा गर्नुपर्छ । त्यो हेर्दा सहरको बौद्धिक समुदाय र मध्यम वर्ग जो राजनीति र जनमतमा निर्णायक हुन्छ, त्यो समुदाय अहिलेका संस्थापन शक्तिसँग सन्तुष्ट छैनन् भन्ने कुराको संकेत हो ।

असन्तुष्टिमात्रै हो ? देशी–विदेशी प्रतिक्रियावादी र अन्य दायाँबायाँ होइन ?

कहिलेकाहीँ हाम्रोमा दलहरुको उत्पति विदेशी मलले पनि गर्छ, युरिया मल हुन्छ नै, नहुने त होइन । आयातित मल छन् । कतिपय आयातित मलबाट बनेका पार्टीहरू क्रमशः सुक्दै गएका पनि छन् । उनीहरुले विश्वसनीयता गुमाउँदै गएका छन् । नेपाल एउटा प्रयोग गर्ने थलो पनि भइरहेको छ । त्यसकारण अहिले मध्यम वर्गमा जुन छाल उत्पन्न भइरहेको छ, त्यो मध्यम वर्गमा उत्पन्न भइरहेको छालको करेन्ट वा गतिलाई एमाले र कांग्रेसले छाम्न सकेनन् । जसले गर्दा त्यो छाल वा करेन्ट पोखिएर अन्त गइरहेको छ । त्यसैले हरेक दल सच्चिन जरुरी छ । हामी ७० वर्षका भयौँ, पार्टी बनाएको ८० वर्ष भयो, यति वटा भोटा फटायौँ भन्ने आधारमा मात्रै मानिसले स्वीकार्दैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप