हेटौंडामा नेपथ्यलाई न्यानो स्वागत
![हेटौंडामा नेपथ्यलाई न्यानो स्वागत](https://rpcdn.ratopati.com/media/albums/Nepathya_performing_in_Hetauda_iJSgsMqxF0.jpg)
विराटनगर र वीरगन्जमा भव्य सफलता आर्जन गरेर हेटौंडा आइपुगेको नेपथ्यले यहाँ पनि दर्शकबाट उत्तिकै न्यानो स्वागत पाएको छ ।
यो तेश्रो कन्सर्टमा भने ब्यान्डले उसको ‘मेन्यू’मा केही तलमाथि गरेको थियो । अघिल्ला दुवै आयोजनामा ‘भेँडाको ऊनजस्तो’बाट सुरु गरेको कन्सर्टभन्दा बेग्लै यसपाला अलिक सुस्त गतिको गीतबाट आफूलाई प्रस्तुत गर्यो । हेटौंडामा गाइएको प्रारम्भिक गीत नेपथ्यको आफ्नै इतिहासमा पनि पहिलो रचना थियो ।
‘आँगनै भरि हिउँ नै झरे
आरु फूल है टिपी राखनू’
स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राका झलक आउनेगरि तस्बिरहरुको संयोजन गरिएको थियो ।
ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाइरहँदा पूर्णिमाको जूनले हेटौंडाको मनकामना डाँडाबाट आफूलाई बिस्तारै मास्तिर उकाल्दै लगेको मनोरम दृश्य देखिन्थ्यो ।
ब्याण्डका गायक तथा अगुवा अमृत गुरुङको नजर पनि आकाशतिरै परेछ । ‘यो जुनेली रातलाई अझ रमाइलो बनाउनका निम्ति म तपाइँहरुलाई लमजुङ तर्फ लैजान चाहन्छु,’ उनले थपे, ‘म रोदीघर तिर तपाइँहरुलाई डुलाउन चाहन्छु ।’
त्यसपछि उनले सुरुगरेः
‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’
त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएको थियो । ‘म धेरैपटक हेटौंडा आएको छु,’ अमृतले दर्शकहरुलाई सोधे, ‘के तपाइहरु पोखरा जानुभएको छ ? त्यसभन्दा अलिक पर जोमसोम जानुभएको छ ? धौलागिरि जानुभएको छ ?’
दर्शकहरुलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले त्यसपछि धौलागिरितिरै तयार पारिएको गीत सुनाएः
‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’
कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो ।
यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो ।
कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।
कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा
-
जनयुद्ध दिवसका अवसरमा समाजवादी कम्युनिष्ट पार्टीको शुभकामना
-
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ
-
गजुरी गाउँपालिकामा अध्यक्षले जनयुद्ध दिवसमा बिदा दिए, उपाध्यक्षले उल्ट्याइन्