मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ठेकदारको चरम लापरबाहीले सुस्ताको अस्पताल निर्माण अलपत्र

शुक्रबार, २३ मङ्सिर २०७९, ०७ : २२
शुक्रबार, २३ मङ्सिर २०७९

ठेकदारको चरम लापरबाहीका कारण सुस्ताको अस्पताल निर्माण कार्य अलपत्र परेको छ । ठेकदारले, अस्पतालका निर्माणका लागि ४१ लाख ९० हजार रुपिया पेस्की समेत लिएर सम्पर्कविहिन रहेकाले अस्पताल निर्माण कार्य अलपत्र बनेको हो । 

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा २ कुडिया र गुदरियाको सिमानामा गाउँपालिका स्तरीय १० सैयाको अस्पताल बनाउन पालिकाले बजेट विनियोजन गरि ठेक्का लगाएको थियो । ठेक्का सम्झौता भएको १६ महिना वितिसक्दा पनि ठेकदार कम्पनीले १ प्रतिशत पनि काम नगर्दा उक्त १० सैया अस्पताल आयोजना अलपत्र बनेको छ ।  

जिल्लाको विकट गाउँपालिका सुस्ताले आफनो गाउँक्षेत्रका जनताहरुलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न उक्त १० सैयाको अस्पताल निर्माण गर्नका लागि बजेट विनियोजन गरि गतबर्ष ठेक्का आव्हान गर्यो । उक्त अस्पताल निर्माणका लागि प्रकृति, कास्यव, समिर जे.भी कम्पनीले ४ करोड, ८९ लाख २७ हजार ८१९ रुपैयामा ठेक्का कबोल गरि निर्माण कार्यको जिम्मा लियो । २४ महिनामा अस्पताल निर्माण कार्य सम्पन्न गर्नेगरि २०७८ असार ६ गते ठेकदार कम्पनी र गाउँपालिकाबीच सम्झौता भयो ।

सम्झौता भएको १६ महिना बितिसक्दा पनि ठेकदार कम्पनीले एक सुको पनि काम नगरि फरार रहेको गाउँपालिकाले आरोप लगाएको छ । ठेक्का सम्झौता भएपछि काम शुरु गर्न ठेकदारले गाउँपालिकाबाट पहिलो पेस्की किस्ता ४१ लाख ९० हजार रुपिया समेत लिएर गएको छ तर हालसम्म १ प्रतिशत पनि काम नगरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी दिए । अस्पताल निर्माण गर्न पालिकाले पटक–पटक ठेकदार कम्पनीलाई चिठी पठाउँदा पनि ठेकदारले वास्ता नगर्दा आयोजना प्रभावित बनेको छ ।

१६ महिनासम्म पनि काम सुरु नगर्ने, पालिकाको सम्पर्कमा नआउने ठेकदार कम्पनीसंग पेश्की फिर्ता लिने र बंैक ग्राण्टी जफत गरि कालुसुचीमा राखी कार्यबाही गर्ने पालिकाले योजना बनाएपछि ठेकदार कम्पनीले काम गर्ने ठाउँमा उल्टै जग्गा यकिन नगरेकाले काम गर्न नपाएको भन्दै उच्च अदालत तुल्सीपुरबाट अल्पकालिन आन्तरिक आदेश समेत ल्याएको पालिकाले जनाएको छ । आदेशमा छलफलका लागि दुबैपक्षलाई बोलाइएको र बैँक ज्ञारेन्टी जफत नगर्न आदेश रहेको छ । जनताको स्वास्थ्यसंग जोडिएको यो आयोजना छिटो सम्पन्न गरि संचालनमा ल्याउन मद्दत गर्नु भन्दा, ठेकदारले एक त यसको निर्माणमा आलटाल गर्दै भाग्ने अर्काे तर्फ आफ्नो दोष पालिका माथि थुपार्दै उल्टै पालिकालाई मुद्दा प्रकृयामा ढकेल्ने कार्यले गलत नजिर बस्ने देखिएको स्थानीय सोभा गुरौले जानकारी दिइन् ।

ठेकदारले ठेक्का कबोल गरि सम्झौता गरेपछि अस्पताल निर्माण स्थलमा आयोजनाको लागत बोर्ड मात्र गाडेको छ । ‘‘ठेक्का सम्झौता गरेपछि काम छिटै शुरु गर्ने आस्वासन दिदै पेश्की लगेर फरार भयो, अहिले पालिकाको सम्पर्कमै आउन छाडयो , यस ठेक्काको म्याद सकेपछि पुनः अर्काे ठेक्का गरि अस्पताल निर्माण गराउने गाउँपालिकाले जनाएको छ ।”

यता अस्पताल निर्माण अलपत्र परेको देख्दा स्थानीय चिन्तामा छन् । जिल्लाकै विकट क्षेत्र मानिने सुस्तामा नत्र कुनै निजी अस्पताल छ नत्र सामुदायिक नै ५-१० सैयाको अस्पताल छ । अस्पताल नभएकै कारण त्यहाँका विरामीहरू उपचार सेवा लिन जिल्लाको सदरमुकाम परासी र सामुदायिक अस्पताल चौपत्ता र बर्दघाट र जिल्ला बाहिरी ठाउँ बुटवल, भैरहवा, भरतपुर पुग्ने गर्दछन् ।  त्यस क्षेत्रमा स्वास्थ्य चौकीहरु छन जसबाट सेवा ग्राहीहरु प्राथमिक उपचार मात्र पाइरहेका छन् । अब आफ्नै क्षेत्रमा अस्पताल बन्ने भएपछि खुशी भएका स्थानीय यो अवस्था देख्दा निराश बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप