बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् प्रदेश १ मा एमाले र कांग्रेसबाट चुनिने २७ समानुपातिक सांसदहरू

शुक्रबार, २३ मङ्सिर २०७९, ०६ : ३०
शुक्रबार, २३ मङ्सिर २०७९

प्रदेश १ मा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक मत परिणाम आएसँगै समानुपातिक कोटाबाट को को सांसद बन्लान् भन्ने सर्वत्र चासो छ । ९३ जना प्रदेशसभा सदस्यमध्ये ५८ जना प्रत्यक्ष र ३७ जना समानुपातिक तर्फबाट छानिने कानुनी व्यवस्था छ । प्रत्यक्षका ५८ मध्ये नेकपा एमालेले २५, नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा एसले ३ र राप्रपाले २ सिट जितेका छन् । 

समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएको नेकपा एमालेले थप १५ सांसद सिट पाउने छ । एमालेले प्रदेश १ मा ६ लाख ६५ हजार ४६० मत प्राप्त गरेको छ । काँग्रेसले ५ लाख ६२ हजार ९५६, माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, राप्रपाले पनि १ लाख ९८ हजार ५११, जसपाले ६१ हजार ७२३ र नेकपा एकीकृत समाजवादी ५५ हजार ९५७ मत पाएको छ । जसअनुसार समानुपातिकको ३७ सिटमध्ये एमालेले १५, काँग्रेसले १२, नेकपा माओवादीले ४, राप्रपाले ४, जसपाले १ र नेकपा एसले १ सांसद पाउने छन् । 

कानुन अनुसार समानुपातिक उम्मेदवार छनौट गर्दा अनिवार्य महिलाको ३३ प्रतिशत पुर्याउनु पर्दछ । यस्तै प्रदेश १ मा आदिवासी जनजातितर्फ ४६.७९ प्रतिशत, खसआर्य २७.८४ प्रतिशत, दलित १०.०६ प्रतिशत, थारु ४.१५ प्रतिशत, मधेसी ७.५७ प्रतिशत, मुस्लिम ३.५९ प्रतिशत हुनुपर्ने कानुनी व्यवस्था छ । उनीहरुमध्ये १७.५३ प्रतिशत अल्पसंख्यक हुनुपर्नेछ ।

प्रत्यक्षमा २५ सिट जित्दा पनि एमालेबाट कोही पनि महिला निर्वाचित नहुँदा समानुपातिकतर्फ पाएको १५ सिटमध्ये १३ जनालाई एमालेले संसदमा पठाउनु पर्नेछ । एमालेले समानुपातिकतर्फ १५ सिटमध्ये १३ जना महिलामध्ये ७ जना आदिवासी जनजाति र ४ जना खसआर्य पठाउनु पर्नेछ भने २ जना पुरुष पठाउन पाउने छ । यस्तै एमालेबाट दलित, मधेशी, थारु र मुस्लिमतर्फ १–१ जनाको प्रतिनिधत्व हुनेछ ।

एमालेको समानुपातिक बन्द सूचीमा रहेकामध्ये पुरुषहरूतर्फ खसआर्यको पहिलो नम्बरमा रहेका ओखलढुंगाका किशोरकुमार अधिकारी र आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका पाँचथरका श्रीप्रसाद जवेगु सांसद बन्ने देखिएको छ । 

एक जनजाति पुरुषलाई प्रदेशसभामा पठाएमा एमालेको बन्दसूचीमा रहेका ६ महिलाले प्रदेश सभा सदस्य बन्ने अवसर पाउनेछन् । उनीहरुमा उदयपुरकी ४६ वर्षीया सिर्जना दनुवार, झापाकी ५९ वर्षीया कमला थापा मगर, सुनसरीकी ४७ वर्षीय मिना श्रेष्ठ, भोजपुरकी ३८ वर्षीया सिर्जना राई, मोरङकी ६७ वर्षीया मालतीकुमारी लिम्बू र धनकुटाकी ४६ वर्षीय मनकुमारी तितुङ छन् । एमालेले श्रीप्रसाद जवेगुलाई सांसद नबनाएको अवस्थामा भने भोजपुरकी बन्दना राईले पनि अवसर पाउनेछिन् ।

खसआर्यतर्फ एमालेका ४ जना प्रदेशसभा सदस्य चुनिनेछन् । किशोरकुमार अधिकारीलाई छनौट गरेमा महिलाबाट ३ जनाले अवसर पाउनेछन् । जसमा मोरङकी ६१ वर्षीला शिला दिक्षित कार्की, झापाकी ६६ वर्षीया तारादेवी ढकाल र सुनसरीकी ५७ वर्षीया निरादेवि खनाल छन् । खनाल एमाले नेता एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यकी श्रीमती हुन् । पुरुषतर्फ खसआर्यका अधिकारीलाई एमालेले नचुनेमा उदयपुरकी गितादेवी रेग्मीले अवसर पाउनेछिन् ।

एमालेले दलिततर्फ तेह्रथुमकी ४९ वर्षीया कमलादेवी दर्नाल, मधेशीतर्फ मोरङकी ४० वर्षीया गितारानी महतो, थारुबाट मोरङकै ५१ वर्षीया ललिताकुमारी चौधरी, र मुस्लिमबाट मोरङकै ३८ वर्षीया नुर सदि बेगमलाई पठाउनेछ । पुरुष कोटामा पठाउने व्यक्तिबारे पार्टीले तलमाथि गरेको अवस्थामा भने यी नामहरुमा केहि परिवर्तन हुनसक्ने सम्भावना छ ।

समानुपातिकको बन्दसुचीबाट एमालेले ३ जना अल्पसंख्यकलाई अनिवार्य प्रदेशसभामा पठाउनुपर्छ । एमालेको बन्दसूचीमा अल्संख्यकतर्फ झापाका नम्बरलाल धिमाल, विद्यानन्दसिंह राजवंशी, उदयपुरकी सिर्जना दनुवार, सुनसरीकी यशोदा कायस्थ, संखुवासभाकी लहरुमायाँ जीमी र मोरङका अरुणकुमार राठीको नाम छ । उनीहरुमध्ये सूचीक्रममा रहेकी दनुवार प्रदेशसभा सदस्य बन्नेछन् भने बाँकी २ जना एमालेले छान्न पाउनेछ ।

अल्पसंख्यकतर्फ एमालेले धिमाललाई चयन गरेमा श्री जवेगु बाहिरिनेछन् भने कायस्थलाई चयन गरे धनकुटाकी मनकुमारी तितुङको नाम संकटमा पर्नेछ । यस्तै अल्पसंख्यकतर्फ अरुणकुमार राठीको नाम चयन भए अर्को एक जना पुरुषको मात्र नाम पर्नेछ भने गितारानी महतो बाहिरिनेछन् ।

कांग्रेसबाट को–को ?
यसैबीच प्रत्यक्षतर्फ १७ सिटमा विजयी भएको नेपाली कांग्रेसले १२ जना समानुपातिक कोटाबाट चयन गर्नेछ । प्रत्यक्षमा कांग्रेसका पनि कुनै महिलाले चुनाब जितेका छैनन् । कांग्रेसले समानुपातिकतर्फ १२ सिटमध्ये २ पुरुष र १० महिलामा ६ जना आदिवासी जनजाति र ३ जना खसआर्यलाई पठाउनुपर्नेछ । यस्तै दलित, मधेशी र थारु १–१ जनाको प्रतिनिधत्व हुनेछ ।

कांग्रेसको समानुपातिक सूचीमा रहेकामध्ये पुरुषहरु तर्फ खसआर्यको पहिलो नम्बरमा रहेका झापाका उद्धब थापा प्रदेशसभा सदस्य बन्ने निश्चित छ । उनी काँग्रेस प्रदेश समितिका सभापति हुन् भने प्रदेश १ को मुख्यमन्त्रीका सशक्त दाबेदार पनि हुन् । काँग्रेसले पाउने अर्को पुरुष कोटामा झापाकै मोहन महर्जनको सम्भावना छ । ५२ वर्षीय काँग्रेस नेता महर्जन २०६४ को जनआन्दोलनमा मण्डलेहरुले झापाका विद्यार्थी नेता राम थापाको हत्या गर्दा घाइते भएका थिए ।

महर्जनलाई प्रदेशसभामा पठाएमा काँग्रेसले आदिवासी जनजातितर्फ थप ५ महिलालाई प्रदेशसभामा पठाउनुपर्छ । पाँचथरकी ४४ वर्षीया मैया श्रेष्ठ, सोलुखुम्बुकी ४० वर्षीया डोल्मा तामाङ, उदयपुरकी ६२ वर्षीया लिलाकुमारी राई, सुनसरीकी ४२ वर्षीया ममता मगर तामाङ र मोरङकी ४७ वर्षीया शोभा चेम्जोङ पालुङ्वा प्रदेशसभा सदस्य बन्नेछन् । पुरुषतर्फका महर्जनलाई काँग्रेसले प्रदेशसभामा नपठाएमा सुनसरीकी अनु गुरुङले अवसर पाउनेछिन् ।

खसआर्यतर्फ पुरुषमा उद्धब थापालाई पठाएपछि कांग्रेसले थप २ महिला मात्र खसआर्यबाट प्रदेशसभामा पठाउनेछ । उनीहरु धनकुटाकी ५४ वर्षीया इन्दीरा थापा र इलामकी ४९ वर्षीया खगेश्वरी पौडेल छन् । 

कांग्रेसबाट दलित कोटामा सनुसरीकी ४२ वर्षीया सुनितकुमारी गुरुङ, थारु कोटामा सुनसरीकै ४२ वर्षीया सुनिता गच्छदार र मधेशी कोटामा झापाकी ४८ वर्षीय लखिकुमारी गणेश प्रदेशसभा सदस्य बन्नेछन् । गणेश र सुनसरीकी गुरुङ अल्पसंख्यक पनि हुन् । 

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरि समानुपातिक तर्फको सिटसमेत बाँडफाँड गरिसकेको छ । आयोगले बाँडफाँड गरेको सिट अनुसार दलहरुले समानुपातिकतर्फ विजयी हुने उम्मेदवारको नाम आयोगमा बुझाउनुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप