बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ठूला दल मिलेर सरकार बनाउनुपर्छ : गच्छदार

बिहीबार, २२ मङ्सिर २०७९, २१ : १२
बिहीबार, २२ मङ्सिर २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । विराटनगरमा बिहीबार अपरान्ह सञ्चारकर्मीहरूसँगको भेटमा विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै उनले स्थिर सरकारले मात्र देशमा समृद्धि आउने कुरामा जोड दिए ।

उनले २०४७ सालको उत्कृष्ट संविधान भएर पनि राजनीतिक अस्थिरताले गर्दा असफल भएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनुपर्ने आफ्नो चाहना रहेको बताए । पाँच वर्ष सरकार निर्वाध रूपमा सञ्चालन भए हरेक समस्या समाधान हुँदै जाने भन्दै पूर्व उपप्रधानमन्त्री गच्छदारले भने– “वर्तमान संविधान जारी गर्न मेरो पनि अहम् भूमिका रहेकाले यो संविधानलाई दिगो र बलियो बनाउन स्थिर सरकार आवश्यक छ ।”

अहिले पनि गठबन्धनको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको उनको भनाइ थियो । उनले भने– “निर्वाचनमा जित र हार स्वाभाविक हो, मैले सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्राविधिक रूपमा पराजित भए पनि जनताको मनमस्तिष्कबाट पराजित भएको छैन ।” 

नेतृत्व हस्तान्तरण एवं परिवर्तन प्राकृतिक कुरा हो भन्दै नेता गच्छदारले जनताले आफूलाई न्याय गरेको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप