मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

युट्युबरका कारणले अनलाइन पत्रकारमाथि आक्रमण बढ्दै : अध्यक्ष पोखरेल

बिहीबार, २२ मङ्सिर २०७९, २० : २८
बिहीबार, २२ मङ्सिर २०७९

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि विभिन्न खालका आक्रमण भइरहेको र त्यसको सामना गर्न महासङ्घ तयार रहेको बताए । अनलाइन पत्रकार सङ्घको १५औँ स्थापना दिवस तथा ‘निर्वाचनमा के देखियो ? अनलाइन मिडिया र सामाजिक सञ्जालमा सूचना प्रवृत्ति’ विषयक अन्तर्क्रियामा उनले व्यावसायिक पत्रकारिताभन्दा पनि युट्युबरका कारणले अनलाइन पत्रकारलाई आक्रमण हुँदै थप चुनौती थपिएको बताएका हुन् ।

अध्यक्ष पोखरेलले भने, “पछिल्लो समयमा साइबर माध्यमबाट विभिन्न आक्रमण भइरहेको छ, स्वतन्त्र पार्टी र स्वतन्त्र व्यक्तिको उदयसँगै यो चुनौती बढ्दै गएको महासङ्घलाई अनुभूति भएको छ ।”

महासङ्घका महासचिव रोशन पुरीले ठुलो लगानीका साथ अनलाइन पत्रकारितामा प्रवेश गरी पत्रकारलाई सेवासुविधा र तलबको प्रलोभनमा राख्दा दिगोरूपमा व्यावसायिक पेशागत सुरक्षा नहुने हुँदा यसबाट बच्न जरुरी रहेको धारणा राखेका थिए ।

अनलाइन पत्रकार सङ्घका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले अनलाइन पत्रकारमा बढ्दै आएका चुनौतीमा विषयको सुरक्षा र पेशागतरूपमा सुरक्षाजस्ता विषयलाई अबका दिनमा कसरी अगाडि बढाउन सकिन्छ भनेर सोच्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा निर्वाचनमा अनलाइन मिडिया र सामाजिक सञ्जालमा प्रसारप्रचार भएको सूचना, परिवर्तित समयसँगै बढ्दै गएको अनलाइनप्रतिको आकर्षण बढ्दै गएको र नयाँ चुनौतीबारे सर्तकता, बनाउनुपर्ने रणनीतिलगायतका विषयमा छलफल भएको थियो ।

निर्वाचनमा अनलाइन मिडिया र सामाजिक सञ्जालबाट हालको निर्वाचनमा मिथ्या तस्विर प्रयोग, भाषणका अंश काटेर भ्रामक बनाउने, आतङ्कित बनाउने मिथ्या सूचना, मिडिया सामग्रीमा छेडछाड गरी भ्रम फैलाउने, अपुष्ट भनाइ, मिथ्या स्क्रिनसटले फैलाएको भ्रम, मिथ्या स्क्रिनसटको लहर, मतदानअघि फैलाइएका भ्रमका बारेमा जानकारी गराइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप