मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गिरीको सुश्री पारिजात कृति विमोचन

बिहीबार, २२ मङ्सिर २०७९, १८ : ०९
बिहीबार, २२ मङ्सिर २०७९

साहित्यकार गोविन्द गिरी प्रेरणाको अनुसन्धानमूलक कृति सुश्री पारिजात विमोचन गरिएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीको डबलीमा आयोजित कार्यक्रममा बिहीबार सो कृतिको विमोचन गरिएको हो । वरिष्ठ साहित्यकार भुवन ढङ्गाना, श्रीओम श्रेष्ठ रोदन र लेखक प्रेरणाले संयुक्त रूपमा विमोचन गरे । 

कार्यक्रमका प्रमुख वक्ता तथा स्रस्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले पारिजातका बारेमा धेरै अनुसन्धाताले अनुसन्धान गरे पनि यतिको गहन तरिकाले अनुसन्धान भएको यो पहिलो कृति भएको बताए । उनले भने, ‘यो अनुसन्धानमूलक कृतिमा पारिजातको जीवनी खण्डमा शृङ्खलाबद्ध भईकन पनि उपन्यास पढेजस्तो अनुभव हुन्छ । पुस्तकभित्र रहेका हरेक भागमा हाम्रा २० र ३० का दशकका अग्रज स्रष्टाहरूको बानी, व्यवहारका बारेमा चित्रित गरेको छ । यसमा पारिजातसँगको मात्र होइन, पारिजातका समय र सन्दर्भले ल्याएका धेरै कुरा आएका छन् ।”

 पारिजातको बाल्यकाल, काठमाडौँ आगमन, उहाँको सिर्जना, काठमाडौँमा गर्नुपरेको सङ्घर्ष र सम्पर्कको विस्तृत जानकारी यस कृतिमा समेटिएको उनले बताए । पारिजातको सम्पर्कले जन्माएको राल्फा, उनको प्रेम र यौन, मदिरा र चुरोट प्रेम, पारिजातमाथि लागेका आरोपहरू, आनीबानी र राजनीतिक आस्थाका बारेमा भरपर्दो प्रमाणका रूपमा सुश्री पारिजात भएको उनले बताए । 

साहित्यकार भुवन ढङ्गानाले पारिजातलाई २०२६ सालतिर चिनेको र त्यतिबेला आफू र पुरुषोत्तम बस्नेत मिलेर सिउँडी भन्ने समसामयिक पत्रिका निकाल्ने सिलसिलामा पारिजातलाई भेट्न गएको बताइन् । पारिजातले उक्त पत्रिकाका लागि ‘डायरीका आठौँ पाना’ भन्ने कथा पनि उनलाई दिएको सम्झना गरिन् । “सिउँडीको पहिलो अङ्कमा पारिजातको पहिलो कथा छापिएको थियो,” उनले भनिन्, “त्यो पत्रिकामा मैले लेखेका निबन्धहरू पढेर ‘बैनी लेख्न नछोड्नु है’ भन्नुहुन्थ्यो ।”

सुश्री पारिजातको अध्ययनपछि पारिजातको जीवनको भयाभह स्थितिको बारेमा थाहा पाएको उनले बताइन् । “मान्छेले कसरी सङ्घर्ष गरेको छ भन्ने प्रस्ट देखिन्छ,” उनले भनिन्, “माथि पुग्नका लागि मान्छेले सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा नै पारिजातको मूल पाठ हो ।”

ढुङ्गानाले भनिन्, “यो ३८६ पृष्ठको पुस्तक गोविन्दजीले तयार पारेकोमा मलाई आश्चार्य लागेका छ ।” पारिजातको बारेमा यति सूक्ष्म कुरा पनि यसभित्र समेटिएको उनले बताइन् । “पारिजातको बल्यकालदेखि लिएर अन्तिम अवस्थाको अन्तिम कवितासमेत यसमा समेटिएको छ । पारिजातलाई चिन्नु छ भने यो कृति अध्ययन गर्न आवश्यक छ ।” उनले भनिन्, “गोविन्द गिरीले मान्छेभित्रको मान्छेलाई खोतल्न खोजेका छन्, लेखकभित्रको लेखकलाई सुश्री पारिजातमा खोतल्न खोजेका छन् ।” 

आजीवन लेखनकै क्षेत्रमा समय बिताएकी पारिजातले उपन्यास, कथा, कविता र आत्मकथाहरू प्रकाशित गरी पाठक माझ प्रस्तुत गरेकी छन् । पारिजातका सम्पूर्ण पक्षहरु केलाउँदै उनको आधिकारिक जन्म मिति यस कृतिले प्रस्तुत गरेको र यसले तत्कालीन समयको साहित्यको अनौपचारिक इतिहाससमेत यसले प्रस्तुत गरेको दाबी कृतिको प्रकाशक फाइन प्रिन्टले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप