बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समानूपातिक सूची पठाउन राजनीतिक दलहरुलाई २४ गतेसम्मको समय सीमा

बिहीबार, २२ मङ्सिर २०७९, २२ : ३०
बिहीबार, २२ मङ्सिर २०७९

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरूको नामावली मागेको छ । बिहीबार आयोगले समानुपातिक तर्फबाट उम्मेदवार निर्वाचित गराउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरेको हो । 

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरि पठाउन पत्राचार गरिएको आयोगको समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले​ रातोपाटीलाई जानकारी दिए । 

राजनीतिक दलको केन्द्रीय समिति वा सो सरहको समितिले बन्दसूचीबाट उम्मेदवारको नाम सिफारिस गरेर  पठाउन पत्राचार गरिएको  उनले बताए । दलहरूले यही मंसिर २४ गतेसम्म आयोगले मागे अनुसारको विवरण पठाउनुपर्नेछ । 

समानुपातिक तर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाएर समानुपातिक तर्फ सिट पाएका दलहरुलाई सो सिटमा उम्मेदवार निर्वाचित गर्न यसअघि बुझाएको बन्दसूचीबाट नाम छनौट गरेर पठाउन पत्राचार गरिएको हो ।  दलहरूले आफूले पाएको समानुपातिक सिटमा विभिन्न समानुपातिक समावेशी क्लष्टरबाट प्रतिनिधित्व हुनेगरी उम्मेदवार छानेर आयोगमा पठाउनुपर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 

आयोगबाट अधिकांश राजनीतिक दलले सो बारेको पत्र बुझेका छन् ।   राजनीतिक दलबाट विवरण प्राप्त भएपछि त्यसको रुजु गरिने र विवरण नमिलाइ पठाएको खण्डमा फेरी २ दिनभित्र विवरण बुझाउनका लागि पत्राचार गरिने प्रवक्ता वाग्ले जानकारी दिए । अबको एक साताभित्र राजनीतिक दलहरूका समानुपातिक तर्फका सांसदहरु निर्वाचित हुने उनले बताए । 

राजनीतिक दलहरूले महिला, आदिवासी जनजाति, खसआर्य, थारू, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुनेगरी यसअघि आयोगमा बुझाएको बन्दसूचीबाट छनौट गर्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप