‘सरकारले अनभिज्ञतापूर्वक उभौलीउधौलीलाई किरातको चाड भन्यो, आज सर्व जातका चाड पर्छन्’
मार्गशुक्ल पूर्णिमालाई जनबोलीमा मङ्सिरे पूर्णिमा भनिन्छ भने शास्त्रीय भाषामा धान्य पूर्णिमा । कार्तिकको कृष्णपक्ष औँसीको दिनमा जुन लक्ष्मी पूजा गरिन्छ, त्यो धन लक्ष्मीको पूजा हो । आज मङ्सिरे पूर्णिमाको दिनमा धान्य लक्ष्मीको पूजा हुन्छ, यसरी धन र धान्य दुवैको पूजा भयो । मङ्सिरमा बाली भित्र्याएर धानको भकारी बाँधिसकिएको हुन्छ । आफ्नो कुलदेवता लगायत आफ्ना देवीदेवतालाई न्वागी चढाउने दिन हो आज ।
आजको दिनलाई नेपाल भाषामा ‘यमरि पुन्हि’ भनिन्छ । नेपाल भाषामा ‘पुन्हि’को अर्थ पूर्णिमा, ‘यः’को अर्थ सबैले मन पराउने र ‘मरि’को अर्थ रोटी हुन्छ । यसरी यःमरिको अर्थ सबैले मनपराउने पूर्णिमा भन्ने भयो । नेवारी समाजमा आजको दिनदेखि यःमरिको टुप्पो जति दिन बढ्छ भन्ने पुरानो मान्यता छ । गुरुङहरुले पुसे १५ को दिनदेखि दिन लामो हुन्छ भन्छन् । उता अंग्रेजी क्यालेन्डर अनुसार, २२ डिसेम्बरमा सबैभन्दा लामो रात २३ डिसेम्बरदेखि दिन लामो हुन्छ भनिन्छ ।
अचेल पञ्चांग निर्णायकले पुसको ६–७ गतेदेखि सूर्य उत्तरायणतिर लाग्छ भनेको छ । पहिले माघे सङ्क्रान्तिको दिनदेखि सूर्य उत्तरायण लाग्ने मानिन्थ्यो ।
आजको पूर्णिमा बडो समन्वयात्मक पर्वका रूपमा छ । जस्तो ः राईहरूको चण्डीनाच हुन्छ, लिम्बुहरूको धाननाच हुन्छ । धाननाचको अनुष्ठान पनि धान्य पूर्णिमाको दिन भएको हो । किनभने, खुट्टाले धान माड्ने, हातले पराल चलाउने, हाहा गरेर चरा धपाउने– यसो गर्दागर्दै गीतको लय र नाच पनि बन्यो । लिम्बुहरूको धाननाच यही धान्य पूर्णिमासँग सम्बन्धित छ । धाननाच भन्नासाथ हामीले लिम्बुको भन्ने सम्झन्छौँ, तर धाननाच लिम्बुको मात्रै होइन ।
कर्णालीको किनारामा राकम कर्णाली फाँट छ, पक्का धाननाच त्यहाँ पाइन्छ ।
हामीले नेपाली संस्कृतिको विवेचना गर्दा हिमालदेखि पहाड, तराई र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न समुदायको संस्कृति जान्नुपर्छ । आ–आफ्नो भाषा अनुसार हाम्रा पर्वका नाम अनेक छन्, पर्व मनाउने विधि पनि भिन्नाभिन्नै छन्, तर संस्कृतिको अन्तर्वस्तु एउटै हो ।
अहिले नेपाल सरकारले उभौलीउधौलीलाई किरातको चाड भनेर दर्ता गरिदियो । यसो गर्नु अनभिज्ञता हो, यो किरातको मात्रै चाड होइन, सम्पूर्णको चाड हो । जस्तोः यःमरि पुन्हि नेवारको चाड भयो, आजकै दिन कतिपय बाहुन–क्षत्रीको देवाली पूजा हुन्छ । आजकै दिन राकम कर्णाली फाँटमा धाननाच हुन्छ । त्यसैले आजको तिथिमा सर्व जातका पर्व पर्छन् ।
उभौली उधौली भनेको खेती भित्र्याएपछि लेकको गोठ बेसीमा झार्ने कामलाई उधौली भनियो, त्यस्तै खेती गर्ने बेला लेकको गोठ बेसीमा सार्ने कामलाई उभौली भनियो । यो प्रकृति र मानिसको कर्म अनुसारको पर्व हो । यसमा दिन लामो र छोटो हुने प्रक्रिया अर्थात् सूर्यको गति पनि जोडिएको छ ।
कुराकानीमा आधारित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्री चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
-
१० बजे १० समाचार : रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारीदेखि मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीको रिहाइसम्म
-
राहदानी विभागको सेवा सुचारु