बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

संघ र प्रदेशमा राप्रपाको शक्ति : ५ बाट ४२ सिटमा छलाङ

बिहीबार, २२ मङ्सिर २०७९, १३ : ०७
बिहीबार, २२ मङ्सिर २०७९

पाँच वर्षको अन्तरालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभामा गुणात्मक प्रगति गरेको छ । २०७४ सालको निर्वाचनमा राप्रपाले प्रदेशतर्फ ४ र प्रतिनिधिसभामा जम्मा १ सिट जितेको थियो । यस्तै राप्रपाले प्रतिनिधिसभातर्फ थ्रेसहोल्ड समेत कटाउन सकेको थिएन।

तर, मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट राप्रपाले प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सिट जितेको हो । यस आधारमा राप्रपाले औसतमा प्रदेशसभातर्फ ७ गुणा र प्रदेशसभातर्फ १४ गुणा नै सिट वृद्धि गरेको हो । २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट निर्वाचित भएका थिए । तर, तत्कालीन अवस्थामा राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीका रुपमा अस्तित्वमा रहेको राप्रपाले थ्रेसहोल्ड पार गर्न सकेको थिएन ।

यस्तै प्रदेशतर्फ एक सिट पनि जित्न नसकेको राप्रपाको समानुपातिकबाट बागमतीमा २, प्रदेश १ मा १ र कर्णालीमा सोशिला शाहीको प्रतिनिधित्व रहेको थियो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समानुपातिकबाट प्रदेश १ मा इन्दिरा राई, बागमतीमा रिता माझी, कर्णालीमा सोशिला शाहीको प्रतिनिधित्व रहेको थियो । यस्तै तत्कालीन राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङको पनि बागमती प्रदेशसमा प्रतिनिधित्व रहेको थियो । चुनाव पछि दुई राप्रपा एकता भएपछि समग्रमा पार्टीको प्रदेशमा ४ सिट कायम भएको थियो ।

सातै प्रदेशमा राप्रपाको प्रतिनिधित्व

राप्रपाले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ७ जना निर्वाचित भएका छन् । यस्तै समानुपातिकमा ५ लाख ८८ हजार ८४९ मत प्राप्त गर्दै ७ सिट पाएको छ । यस आधारमा राप्रपाको प्रत्यक्ष र समानुपातिक दुबैतर्फबाट संघीय संसदमा १४ सांसदको प्रतिनिधित्व रहने भएको छ ।

यसैगरी सातै प्रदेशमा राप्रपाको प्रतिनिधित्व पनि निश्चित भएको छ । सबैभन्दा बढी बागमती प्रदेशमा सो पार्टीको १३ जना सांसद रहने भएका छन् । बागमतीमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ६ जना निर्वाचित भएका हुन् ।

यसैगरी प्रदेश १ मा प्रत्यक्षबाट २ र समानुपातिकबाट ४ जना निर्वाचित हुँदै ६ जनाको प्रतिनिधित्व रहेको छ भने मधेस प्रदेशमा पनि राप्रपाले एक सिट पाएको छ । प्रत्यक्षमा कहीँ जित्न नसकेपनि समानुपातिकबाट सो पार्टीले एक सिटको प्रतिनिधित्व पाएको हो ।

यसैगरी गण्डकी प्रदेशमा राप्रपाको दुई जना सांसद रहने भएका छन् । दुबै सांसद समानुपातिकमार्फत आएका हुन् ।​ यसैगरी राप्रपाले लुम्बिनीमा पनि प्रत्यक्ष र समानुपातिकमा २÷२ सिट गरी ४ सिट पाएको छ भने कर्णाली र सुदूरपश्चिममा पनि १÷१ सिट पाएको छ । कर्णाली र सुदूरपश्चिममा पनि राप्रपाले समानुपातिकबाट प्रदेशसभामा प्रतिनिधित्व सुनिश्चित गरेको हो ।

यो अपेक्षाकृत नतिजा होइनः प्रवक्ता श्रेष्ठ

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ चुनावी परिणामका सन्दर्भमा पार्टीको बैठक गरेर आधिकारिक समीक्षा गरिने बताउँछन् । ‘परिणामको बारेमा बैठक राखेर आधिकारिक समीक्षा गर्छौँ । केन्द्रीय कार्यसम्पादन र केन्द्रीय समितिको बैठकमा यसबारे घनीभूत छलफल गर्छौँ’, रातोपाटीसँग उनले भने, ‘सोही बैठकबाट आगामी रणनीति पनि बनाउँछौँ ।’ यद्यपि प्रारम्भिक प्रतिक्रिया दिँदा पार्टीको पक्षमा आएको नतिजा अपेक्षाकृत नभएको उनको भनाइ छ । यति भन्दै गर्दा २०७४ को नतिजा भने बिर्सन नहुने श्रेष्ठले औंल्याए ।

‘हामीले २०७४ को चुनावलाई तुलना गर्दा प्रदेशमा ४ र प्रतिनिधिसभामा १ सिट पाएका थियौँ’, श्रेष्ठले भने, ‘प्रतिनिधिसभाकै शक्तिको तुलना गर्ने हो भने अहिले १४ गुणा प्रगति गरियो । अहिले राप्रपा राष्ट्रिय पार्टी मात्रै होइन पाँचौ शक्ति पनि भएको छ ।’ तर, पनि पार्टीले यो भन्दा माथिको नतिजा अपेक्षा गरेको उनको भनाइ छ । ‘हामीले जति अपेक्षा गरेका थियौँ । यो नतिजा अपेक्षाकृत होइन’, उनको भनाइ छ ।  साथसाथै अपेक्षाकृत नभएपनि सातै प्रदेशका संसदमा पार्टीको प्रतिनिधित्व रहेकाले आफ्नो एजेण्डा र धारणा अभिव्यक्त गर्न सक्ने वातावरण निर्माण भएकाले सन्तोष मान्नुपर्ने उनले धारणा राखे ।

श्रेष्ठले निर्वाचनबाट प्राप्त चुनावको परिणामलाई टेकेर सवल राप्रपा निर्माणमा पार्टीको ध्येय हुने बताए । ‘आगामी निर्वाचनबाट देश हाँक्ने पार्टी बनाउन सम्भव देखिएको छ’, उनको दाबी छ, ‘राप्रपाका साथै अरु केही पार्टीमा पक्षमा जुनखालको आकर्षण देखियो । यसले निर्वाचनबाट एकखालको डिपार्चर भएको छ ।’

पार्टीको महाधिवेशनबाट युवा पुस्ता (राजेन्द्र लिङ्देन) नेतृत्वमा आएपछि पार्टीले गति लिएको श्रेष्ठको बुझाइ छ । ‘पार्टीको महाधिवेशन यस्तो बेलामा भयो कि अब पार्टी रहने या नरहने भन्ने अवस्थामा थियो । पलायनको अवस्था थियो’, उनले भने, ‘नेतृत्व परिवर्तनपछि पार्टीमा एकखालको आशा जगाउन सकियो ।’

नेतृत्व परिवर्तनको छोटो समयमा सांगठनिकलगायतका धेरै काम बाँकी रहेकै बीचमा चुनावमा भाग लिनु परेको उनको भनाइ छ । ‘मूलतः हामी एक वर्षमा दुई वटा निर्वाचनमा सहभागी हुनुपर्यो । आन्तरिक र सांगठनिक कामहरु बाँकी नै थिए’, उनको भनाइ छ । यसबाहेक गठबन्धन र ठूला दलबाट भएका अस्वाभाविक खर्चको असर पनि पार्टीको नतिजामा देखिएको उनको दाबी छ ।   ‘चुनावमा विभिन्न राजनीतिक दलहरूले साधन स्रोत व्यापक परिचालन गरे । राजनीतिक रुपमा जसरी हुन्छ चुनाव जित्नका लागि गठबन्धनै बनाएर चुनावमा गए’, उनको भनाइ छ, ‘त्यसको प्रभाव हामीलाई पनि भयो । हामीले त सिट सुरक्षित गर्नका लागि एकाध ठाउँमा तालमेल गरेका हौँ ।’

सत्ता प्राथमिकतामा नपर्ने

यस्तै राप्रपाले सरकारमा सहभागितालाई प्राथमिकतामा नरहने बताएको छ । राप्रपाले चुनावी घोषणापत्रमै सत्ता केन्द्रित राजनीति नगर्ने स्पष्ट पारेकाले सोही अनुसार राजनीतिक अघि बढ्ने जनाएको छ । पार्टीको सहभागिता बिना सरकारै नबन्ने अवस्था रहे पार्टीमा छलफल गरेर निर्णय लिन सकिने राप्रपाको भनाइ छ । सरकारमा नजाने रणनीति संघ र प्रदेश दुबैमा लागू हुने सो पार्टीको भनाइ छ ।

राप्रपाको संघ र प्रदेशमा प्रतिनिधित्व

प्रतिनिधिसभातर्फ–७+७=१४

प्रदेशसभातर्फ

प्रदेश १ मा २+४=६

मधेस प्रदेशमा १

बागमती प्रदेशमा ७+६=१३

गण्डकीमा २

लुम्बिनीमा २+२ =४

कर्णालीमा १

सुदूरपश्चिममा १

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप