आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

यःमरि खानेकुरा मात्रै होइन, जीवन्त संस्कृति पनि हो

बिहीबार, २२ मङ्सिर २०७९, १० : ०७
बिहीबार, २२ मङ्सिर २०७९

नेवार समुदायको परम्परागत संस्कृतिभित्रको विशेष चाड हो यःमरि पुन्हि । विशेष गरी नेवार अन्तर्गतको खेतीकिसानी गर्ने ज्यापु समुदायले नयाँ अन्न उपभोग गर्न साइतका रूपमा यो पर्वलाई लिने गर्छन् । तसर्थ नयाँ अन्न न्वागीका लागि सुरु गर्ने नेवार जातिहरूको पूर्णिमा पनि हो यो । 

हेमन्त ऋतुको समयमा यःमरि पुन्हि पर्व पर्छ । नेपाल संवत्का हिसाबले भन्दा नयाँ वर्षको दोस्रो महिना थिंलाको पहिलो पूर्णिमाका दिन अर्थात् धान्य पूर्णिमाका दिन यो पर्व मनाइन्छ ।  

संस्कृतिकर्मी ओमप्रसाद धौभडेल यो पर्वमा यःमरिलाई कुवेर, अन्नपूर्णदेवी र गणेशको प्रतीकका रूपमा लिई पूजा गर्ने चलन नेवारी संस्कृतिमा रहेको बताउँछन् । यस दिन धान, अन्नका भकारीमा यःमरिलाई चढाउने चलन छ । यसरी चढाएको यमरी प्रसादका रूपमा खाँदा घरमा अन्नको अभाव नहुने जनविश्वास नेवारी समुदायमा रहेको धौभडेलको भनाइ छ । 

धौभडेलका अनुसार यस दिन यमरी बनाउँदा कुवेर, गणेश, लक्ष्मी, ज्यापु, ज्यापुनी, महादेव, पार्वतीहरूको आकृतिमा यःमरी बनाएर अन्नका भकारी र ढुकुटी र भण्डार कोठामा चढाएर मात्र आफूले खाने चलन छ । नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको यःमरि बनाई पूजा गरी चढाउने गरिन्छ ।

यसै गरी यःमरि पुन्हिको दिनदेखि छोटो दिनको अन्त्य भई लामो दिन सुरु हुने तिथिका रूपमा यो समुदायले लिने गरेको देखिन्छ ।

नेवारी संस्कृतिमा यो पर्वको विशेष आस्था छ । यस दिन विभिन्न देवीदेवताको पूजाआराधना गरिन्छ । यो पूजाआराधना गर्नाले धनसम्पत्ति र बुद्धिले भरिपूर्ण हुने जनविश्वास यो समुदायमा छ । 

यःमरिको महत्त्व

नेपाल भाषामा ‘यः’को अर्थ मनपर्ने र ‘मरि’को अर्थ मिठाई भन्ने हुन्छ । स्वादका हिसाबले पनि यःमरि मिठाई जस्तै हुन्छ । यसमा चामलको पिठो, चाकु, तिल, घिउको प्रयोग हुने हुँदा यसमा विशेष प्रकारको स्वाद हुन्छ । यसलाई नेवारी समुदायले पञ्चतत्त्वको प्रतीकका रूपमा पनि लिने गरेको पाइन्छ । 

यःमरिमा धरतीको रूपमा चामलको पिठो, अग्निको रूपमा चाकु, जलको रूपमा पानी, आकाशको रूपमा खाली ठाउँ र वायुको रूपमा तिललाई लिइन्छ । यो बनाउने क्रममा तिल, चाकु र खुवा यःमरिभित्र राखिन्छ भने चामलको पिठो मुछेर त्यसको बाहिरी सतह बनाइएको हुन्छ । 

यःमरि नेवार समुदायमा जन्मसंस्कृतिसँग पनि जोडिएको देखिन्छ । खास गरी ती समुदायका बालबालिकाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दा सगुनका रूपमा यो परिकार खुवाउने चलन छ । जस्तै १२ वर्षभन्दा कम उमेरका बच्चाहरूको जन्मदिन मनाउँदा यःमरिको माला लगाएर पूजा गर्छन् । 

त्यसरी जन्मदिन मनाउँदा बच्चा जति उमेरको हो, त्यतिवटा यःमरिको माला लगाइदिए पूजा गर्ने चलन अझै छँदैछ । तर खास गरी जोडी वर्षमा जन्मदिन मनाउँदा यःमरि अनिवार्य गरिँदो रहेछ । 

यसै गरी नेवाः समुदायका गर्भवती छोरीलाई माइतीबाट दही, चिउरा खुवाउन जाने चलन छ । त्यसरी दही, चिउरा खुवाउन जाँदा १०८ वटा यःमरि सगुनका रूपमा लैजाने चलन पनि यो समुदायमा रहेको छ । 

नयाँ मन्दिर बनाउँदा होस् या घर बनाउँदा यःमरि अनिवार्य जस्तै हुन्छ । यसको अतिरिक्त मन्दिरमा नयाँ ध्वजापताका चढाउँदा धुरीबाट पूजा गरेर यःमरि खसाल्ने चलन अझै छ ।

नेपाल भेगन सोसाइटीका अध्यक्ष विकास श्रेष्ठका अनुसार हिजोआज यःमरि पर्व खुसियाली मनाउन र मीठो खाने उद्देश्य राखेर मनाइने गरेकोे बताउँछन् । तर यो नराम्रो भने होइन । कतिपयले यःमरि बनाएर बेच्ने गरेका छन् । व्यापार गर्ने जमानामा त्यो पनि फाइदाजनक नै हो । तर यःमरि पुन्हीलाई ज्यापु दिवस मात्र हो भन्ने सोचाइ राख्नु गलत हुन जान्छ । बरु यसलाई कृषकहरूको दिवस हो भन्दा राम्रो होला । 

अध्यक्ष श्रेष्ठका अनुसार यःमरि बनाउने सीपको विकास गरेर कसैले व्यापार गरेर फाइदा उठाउन चाहन्छ भने मौका दिनुपर्दछ । यसमा यःमरिको आकारमा बदलाव ल्याउन दिनु हुँदैन । यसको मौलिकता कायम रहनुपर्दछ । तर यःमरिभित्र राखिने चाकु र तिलमा ग्राहकलाई मनपर्ने विभिन्न कुराहरू राखेर बनाउन सकिन्छ । यसले यःमरिको स्वादमा केही फरक ल्याउनेछ ।

यःमरि बनाउने तरिका 

सर्वप्रथम नयाँ धानको चामलबाट पिठो बनाइन्छ । त्यो पिठो तातोपानीमा मोलेर गिलो डल्लो बनाइन्छ । त्यसपछि त्यसलाई नरम कपडाले छोपेर केही समय राखिन्छ । अनि यःमरिभित्र हाल्ने पदार्थ तयार गरिन्छ । त्यसका लागि चाकु वा सक्खरलाई मसिनो गरी टुक्रा बनाइन्छ । टुक्रा बनाइएको चाकुलाई केही मात्रामा तिल हालेर एकछिन दूधमा पकाइन्छ । 

चाकु पकाउँदा स्वादका लागि अलिकति घिउ पनि हालिन्छ । केहीबेर पकाएपछि चाकु बाक्लो तर नरम हुन्छ । धानको गिलो पिठोको डल्लोलाई बूढी औँलाको सहायताले बीचमा प्वाल पार्दै लाम्चो र डोलो आकारमा बनाइन्छ । यसरी लाम्चो प्रकारको आकार बनाउँदा हातमा घिउ लगाएर बनाइन्छ । त्यसपछि दूधमा पकाइएको चाकु र तिलको बाक्लो खाद्यपदार्थ राखेर यःमरिको प्वाल बन्द गरिन्छ । 

यःमरि बनाउँदा भित्र चाकु र खुवा राखेर दुई प्रकारको बनाएको पाइन्छ । खुवाको यःमरि बनाउँदा चामलको पिठोको डल्लोभित्र दूधबाट बनाइएको खुवा अर्थात् कुराउनी मात्र हालिन्छ । यति गरेपछि काँचो यःमरि तयार हुन्छ । 

काँचो यःमरिलाई उमालेको पानीको बाफमा राखेर पकाइन्छ । करिब १० मिनेट बाफमा पकाएपछि यो खानका लागि तयार हुन्छ । चामलको पिठोबाट बनाई बाफले मात्रै पकाइने भएकाले यःमरि स्वादिलो र स्वास्थ्यवद्र्धक पनि हुन्छ । 

देउसीभैलो जस्तै गीत गाउँदै मागेर खाइन्छ

यःमरि पुन्ही अर्थात् धान्य पूर्णिमाको साँझ नेवारी समुदायका टोल टोलमा देउसी, भैलो खेले जसरी केटाकेटी, युवायुवतीहरू जम्मा भएर यःमरि माग्ने चलन छ । यःमरि माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । यःमरि माग्ने गीत निकै चर्चित छ ः 

त्यः सिं त्यः बकसिं त्यः

थाबले यागु यःमरी छग ति यः 

व्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती

न्यग व्यूसा काय् वुई छग व्यूसा म्याय् वुई

तालापाता कुलिचां जुसें त्यः

यःमरी माकु, उकि दुने चाकु

व्यूम्ह ल्यासेचा, मव्यूम्ह बुरीचा

कुरी कुरी । 

दुई माना देऊ, चार माना देऊ, यस वर्षको यःमरि एउटा देऊ, दिएमा तरुनी नदिएमा सितीकुती, दुईवटा दिए छोरा, एउटा दिए छोरी जन्मिन्छ, जसरी दिएनि चुली पारेर देऊ, यःमरि मीठो त्यसभित्र चाकु दिए तरुनी, नदिए बूढी, कुरी कुरी ।

यःमरि सम्बन्धि मिथक

यःमरि पुन्हीसँग सम्बन्धित नेवारी समुदायमा एउटा ऐतिहासिक मिथक छ । जसअनुसार पाञ्चाल देशमा सुचन्द्र नाम गरेका महाजन सपरिवार व्यापार कर्म गरी बस्दथे । उनीहरु निकै धनी, दानी र उपकारी थिए । एक पटक धनसम्पत्तिका देवता मानिने कुवेरलाई ती दम्पत्तीको परोपकार र दान, धर्मप्रतिको विश्वास जाँच्न मन लागेछ । 

कुवेरले आफ्नो रूप परिवर्तन गरेर दुःखी र दरिद्रको भेषमा सुचन्द्रको घरमा परीक्षा लिन गएछन् । उनले त्यस घरमा गएर भिक्षा माग्न थालेछन् । आँगनमा दीनहीन अवस्थाको एउटा मानिस आएर भिक्षा मागेको देखेपछि सुचन्द्रकी पत्नीमा दया जागेछ । 

उनले मीठा मीठा खानेकुरा दिएर त्यस भिखारीको निकै स्वागत सत्कार गरिन् । यो व्यवहारबाट प्रसन्न भएर कुवेरले आफ्नो सक्कली रूपको दर्शन दिएछन् । सुचन्द्रकी पत्नीलाई ज्ञान प्रदान गरेर अन्तध्र्यान भएछन् । 

धनका देवता कुवेरले प्रदान गरेको सद्बुद्धि र अर्तीअनुसार सुचन्द्रकी पत्नीले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको यःमरि बनाउन सिकिन् । उनले यःमरिकै कुवेर बनाई अन्न राख्ने भकारीभित्र राखिछन् । 

अनि कुवेरले प्रदान गरेको बिमिरोलाई पनि त्यहीँ विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर राखी पूजा गरिन् । त्यसपछि उनले अन्न, धन र यःमरि दान गरिन् । यसरी कुवेरको आराधना र पूजा गरेकाले त्यसको प्रभावले सुचन्द्रको घरमा धनसम्पत्तिको वृद्धि हुन गएको किंवदन्ती छ । त्यसै बेलादेखि धान्यपूर्णिमाका दिन यःमरि बनाएर कुवेर र लक्ष्मीको पूजा गरी पर्व मनाउने चलन चलेको विश्वास नेवारी समुदायमा छ ।

यःमरि पुन्हीका दिन विभिन्न मठमन्दिरहरूमा मेला लाग्ने गर्छ । यस दिन बनेपाको धनेश्वर मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । त्यस्तै बौद्धमार्गीहरू पनि स्वयम्भू, बौद्धलगायतका विभिन्न चैत्य र विहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ । यो दिन काठमाडौंको वसन्तपुर, असन, इन्द्रचोक छेउछाउ ठूलो आकारको यःमरि बनाएर प्रसादका रूपमा सबैलाई बाँड्ने चलन पनि छ ।  

यमरि पुन्ही नेवार संस्कृतिको विशेष पर्व हो । यो पर्व न्वागी खानेदेखि जीवनमा गरिने शुभ कार्यको सगुनका रूपमा पनि प्रयोग भएको पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप