बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यःमरि बनाउँदै पुस्तक विमोचन

बुधबार, २१ मङ्सिर २०७९, १९ : ५३
बुधबार, २१ मङ्सिर २०७९

काठमाडौं नेवारी संस्कृतिसँग सम्बन्धित चित्रपुस्तक ‘यःमरि’ बुधबार राजधानीमा फरक शैलीमा विमोचन भएको छ । सधैँ अतिथिका साथमा पुस्तक लोकार्पण हुने चलनभन्दा भिन्न स्टेजमै प्रत्यक्ष यःमरिसमेत बनाएर देखाइएको थियो ।

शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक/चित्रकार कृषा ताम्राकारका साथमा  दि एलिट्स को–एड स्कुल स्वयम्भूका बालबालिकाले पुस्तक विमोचन गरे । सँगसँगै सेफ रविन श्रेष्ठले छेउमै यःमरि बनाउन  थाले । उद्घोषक लुनिभा तुलाधरले कार्यक्रम अगाडि बढाइरहिन् ।​ यःमरिका लागि चाहिने सामग्री र बनाउने तरिका बताउँदै सेफ श्रेष्ठले यःमरि बनाइरहँदा दर्शकहरूले चासोपूर्वक हेरिरहेका थिए । 

कार्यक्रममा इलाइट्स को–एड स्कुलका ५ कक्षाकी विद्यार्थी शैना महर्जन, डेनियल कँडेल र ४ कक्षाकी रक्षा खनालले पुस्तकको पहिलो भाग वाचन गरेर सुनाए भने सोही स्कुल कक्षा ५ की विद्यार्थी सनिरा शाहीले पुस्तकमाथि समीक्षा गरिन् । चाकु र चामलको झगडा परेको भाग आफूलाई खुब मन परेको उनले बताइन् ।

लेखक ताम्राकारले यःमरिको इतिहास र किंवदन्तीलाई नयाँ शैलीमा प्रस्तुत गरेको सुनाइन् । सन् २०१८ मै पुस्तकको तयारी गरिएको उनले बताइन् । किन र कसरी खाने भन्ने वैज्ञानिक कोणलाई पनि पुस्तकमा समेटिएको भन्दै उनले बालबालिका मात्रै नभई अभिभावकका लागि पनि पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरिन् ।

कथालयकी सीईओ सुनिती अमात्यले विमोचन कार्यक्रमको नयाँ शैलीलाई उत्साहका रूपमा लिएको बताइन् । कथालयले बालसाहित्य मात्र नभई किशोर साहित्यसमेत प्रकाशन गरिरहेको जानकारी गराउँदै उनले अन्तर्राष्ट्रिय लेखकका नेपाली संस्करण प्रकाशन गर्दै आएको    बताइन् । १५ वर्षअगाडि स्थापना भएको कथालयले निरन्तर गुणस्तरीय, सचित्र, रंगीन बालपुस्तक प्रकाशन गरिरहेको उनको भनाइ थियो । 

यःमरि बनाउँदै यःमरि पुस्तक विमोचन गरिएको कार्यक्रम समापनपछि सहभागी अतिथिहरूलाई यःमरि खुवाएरै बिदाइ गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप