शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चक्रपथ बिस्तारको कामलाई छिटो अघि बढाउन पौडेलको निर्देशन

बुधबार, २१ मङ्सिर २०७९, १७ : ००
बुधबार, २१ मङ्सिर २०७९

नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् । बुधबार ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालयमा पुगेर नेता पौडेलले चक्रपथ विस्तारको सम्बन्धमा भइरहेको कामको जानकारी लिएका हुन् । उनले चक्रपथ विस्तारको काममा ढिलासुस्ती हुँदा आम नागरिकलाई समस्या परिरहेको भन्दै छिटो भन्दा छिटो बाँकी रहेका कामलाई अगाडि बढाउन निर्देशन दिएका हुन् । 

उनले विष्णुमति र सामाखुसी खोलामा वर्षातको समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक बिस्तारको क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्न आग्रह गरे । उनले चक्रपथ बिस्तार गर्दा ढल निकासको समस्यालाई पनि समाधान हुनेगरी गर्नुपर्ने बताए ।

उनले भने– ‘रिङरोड वरिपरि पचास मिटरभित्र सामानहरु हटाउनु, सफा गर्न १५ दिने सूचना जारी गरेको छ यो कार्यालयले । तोकिएको समयभित्र उहाँहरुले सफा गर्ने भन्नुभएको छ । विष्णुमति खोला, सामाखुशी खोला लगायत थुप्रै खोलाहरु वर्षातमा पानी बढेर बस्ती नै डुबानमा पर्ने स्थिति छ । ढलको क्षमता असाध्यै कम भएको कारणले बस्ती डुबानमा पर्ने स्थिति छ । सडक निर्माणको क्रममा जुन ढल निकासको प्रवन्ध हुन्छ, त्यो प्रवन्ध अलि बढी क्षमताको होस् । अहिलेको समस्या हल हुनेगरी होस् । ढल निकासको समस्यालाई रिङ रोड बिस्तारको क्रममा ध्यान दिएर समाधान गरियोस् भनेर हामीले कुरा गर्यौँ ।’

उनले स्थानीय समस्याहरुको समाधान गर्दै दोस्रो चरणको कलंकीदेखि वसुन्धरासम्मको सडक बिस्तारको काम र तेस्रो चरणको वसुन्धरादेखि चाबहिलसम्मको कामलाई पनि तत्काल शुरु गर्न आग्रह गरे । उनले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय लगायतका सरोकारवाला निकायहरुसँग पनि आफूहरुले कुरा गर्ने भन्दै चक्रपथ बिस्तारलाई छिटो अगाडि बढाउने परिस्थिति निर्माण गर्न लागि पर्ने बताए ।

उनले भने– ‘कलंकीदेखि वसुन्धरासम्म रिङरोड बिस्तारको दोस्रो चरण भनेर भनिएको छ । वसुन्धरादेखि चाबहिल धोबिखोलासम्मको तेस्रो चरण छ । त्यहाँ पनि विभिन्न खाले समस्याहरू छन् । त्यसैले त्यो तेस्रो चरणको कार्यक्रम पनि तत्काल शुरु गरियोस् भनेर अर्को कुरा राखेको । रिङ रोड बिस्तारको कामलाई छिटो, प्रभावकारी र समस्यारहित हुनेगरी अगाडि बढाइयोस् भन्नका लागि हामी यहाँ आएका हौँ । अर्थ मन्त्रालय भित्रको चाइना एड, भौतिक पूर्वाधार मन्त्रालयसँग पनि कुरा गर्छौं । र चक्रपथ विस्तारको काम हामीले छिटोभन्दा छिटो अगाडि बढाउने परिस्थिति निर्माण गर्छौं ।’

नेता पौडेसँगको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै काठमाडौं चक्रपथ सुधार योजनाका प्रोजेक्ट म्यानेजर सजना अधिकारीले दोस्रो चरणको काम अन्तर्गत कलंकी वसुन्धरासम्मको सडक खण्डमा काम भइरहेको बताए । उनले उपभोक्ताहरूले ढल निर्माणको माग राखेको र स्थान अपुग भएका कारण ढल हाल्न नसक्ने समस्या परिरहेको भन्दै यस सम्बन्धमा स्थानीयसँग छलफल भइरहेको उल्लेख गरे ।
उनले आयोजना सम्पन्न गर्नका लागि आवश्यक अन्य कामहरू पनि भइरहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप