बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमको मुख्यमन्त्रीमा फेरि माओवादीको नजर

बुधबार, २१ मङ्सिर २०७९, १३ : ११
बुधबार, २१ मङ्सिर २०७९

सशस्त्र जनयुद्धबाट संसदीय राजनीतिमा प्रवेश गरेको नेकपा माओवादी २०६४ को संविधानसभा निर्वाचनमा सबैभन्दा ठुलो दल बन्यो । दोस्रो संविधानसभा, २०७४ को प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन हुँदै हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा माओवादीको अस्तित्व नै सङ्कटपूर्ण अवस्थामा पुगेको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र निल भएको छ । २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट माओवादीका गौरीशंकर चौधरी र क्षेत्र नं. ४ बाट लेखराज भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । यस्तै, कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट विना मगर निर्वाचित भएकी थिइन् । सुदूरपश्चिमबाट नेकपा माओवादीले प्रत्यक्षतर्फ ३ सिट जितेको थियो । तर अहिले एक सिट पनि जित्न सकेन ।

नेकपा विवादपछि भट्ट र चौधरी एमालेमा प्रवेश गरे । माओवादीले भट्ट र चौधरीलाई कारबाही गरेपछि उनीहरू जितेको निर्वाचन क्षेत्र लामो समयसम्म प्रतिनिधिविहीन समेत भयो ।

हालै सम्पन्न निर्वाचनमा पनि कैलाली २ र ३ र कञ्चनपुर १ बाट सत्तारुढ गठबन्धनको तर्फबाट माओवादीले उम्मेदवारी दिएको थियो । तर माओवादीका उम्मेदवार हारेपछि सुदूरपश्चिममै निल देखिएको हो ।

सुदूरपश्चिम प्रदेशसभामा पनि माओवादी कमजोर देखिएको छ । ५३ सदस्यीय प्रदेशसभामा २०७४ को निर्वाचनमा माओवादीका १४ जना प्रदेशसभा सदस्य थिए । पछि एमालेमा प्रवेश गरेका झपट बोहरालाई माओवादीले कारबाही गरेपछि उनी पद मुक्त भए । माओवादीबाटै निर्वाचित मुख्यमन्त्री त्रिलोचन भट्टले ५ वर्षे कार्यकाल पूरा गरे ।

प्रदेशमा तेस्रो हैसियत

समानुपातिकतर्फ सुदूरपश्चिममा माओवादी केन्द्र तेस्रो हैसियतमा खुम्चिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिममा सबैभन्दा धेरै २ लाख ५३ हजार ३४ मत नेपाली कांग्रेसले ल्याउँदा २ लाख ४१ हजार ७९८ मतका साथ नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र १ लाख १२ हजार २५६ मतका साथ तेस्रो स्थानमा छ । ९९ हजार ३८१ मत पाएको नागरिक उन्मुक्ति पार्टी चौँथो स्थानमा छ ।

प्रदेशसभाको समानुपातिकतर्फ २ लाख ४८ हजार ८४० मतका साथ एमाले पहिलो पार्टी बनेको छ । २ लाख ४३ हजार ३९ मत पाएको कांग्रेस दोस्रो, माओवादी केन्द्र १ लाख १८ हजार ९०३ मतका साथ तेस्रो र ९८ हजार ५५४ मत पाएको नागरिक उन्मुक्ति पार्टी चौथो स्थानमा छ ।

प्रदेशतर्फ प्रत्यक्षमा माओवादी केन्द्रले ८ सिट जितेको छ । समानुपातिकतर्फ पाएको मतको आधारमा थप ३ सांसदसहित माओवादी केन्द्र ११ सिटको हकदार बनेको हो ।

हाम्रो आधार क्षेत्रमा नागरिक उन्मुक्ति शक्तिशाली : इन्चार्ज भट्ट

पछिल्लो मत परिणामले माओवादी नेतृत्वलाई नराम्ररी झस्काएको छ । अस्तित्व नै संकटमा परेपछि माओवादी नेतृत्व स्तब्ध भएको छ ।

खासगरी सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको अधिकांश निर्वाचन क्षेत्रमा विगतका निर्वाचनमा माओवादीले नै जितेको थियो । तर ती सबै क्षेत्र अहिले गुमेका छन् । थारु बाहुल्य कैलाली र कञ्चनपुरमा नागरिक उन्मुक्ति पार्टी उदय भएपछि माओवादीमाथि सङ्कट आएको माओवादी नेताहरू स्वीकार गर्छन् ।

माओवादी सुदूरपश्चिम इन्चार्ज तथा डडेल्धुरा (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित खगराज भट्टले भने, ‘कैलाली र कञ्चनपुर हाम्रो आधार क्षेत्र नै हो । हाल ती क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी शक्तिशाली भई आएकोले हाम्रो स्थिति कमजोर भएको हो । यसबारे गम्भीर समीक्षा गरी निचोडमा हामी पुग्छौँ ।’

त्यस्तै, माओवादी कमजोर हुँदै जानुको अर्को कारण माओवादीबाट जितेका नेताहरू नेकपा एमालेमा प्रवेश गर्नुलाई पनि लिइएको छ । माओवादीभित्र ती नेताहरूको पनि अभाव खड्किएको त छ नै, ती नेताहरू पनि एमालेमा गएपछि राजनीतिक रूपमा पतनको स्थितिमा पुगेका छन् ।

२०७४ को निर्वाचनमा कैलाली ३ बाट जितेका गौरीशंकर, कैलाली ४ बाट जितेका लेखराज र अछाम १ (१) बाट प्रदेशसभामा निर्वाचित झपट बोहरा एमालेमा प्रवेश गरेका थिए । हालै सम्पन्न निर्वाचनमा यी तीनै जना पराजित भए ।

मुख्यमन्त्रीका लागि दाबी कायमै

पछिल्लो समय कमजोर अवस्थामा रहेको माओवादी केन्द्रले प्रदेश सरकार नेतृत्वको दाबी भने कायमै राखेको छ । ११ सिट सङ्ख्याको आधारमा माओवादीले प्रदेश सरकारको नेतृत्व फेरि पाउनुपर्ने माग दाबी गर्दै आएको हो ।

निर्वाचनको पूर्वसन्ध्यामा रातोपाटीसँगको अन्तरवार्तामा इन्चार्ज भट्टले भनेका थिए, ‘जहाँसम्म मुख्यमन्त्रीको कुरा आयो, भोलि त अब गठबन्धनबीचमै छलफल हुँदा कुन प्रदेश कसले लिने भन्ने कुरा होला । स्वाभाविक रूपमा माओवादी केन्द्रको भागमा प¥यो भने दाबी त मेरो रहने नै भयो । यसमा मेरो पार्टी र गठबन्धनमा पनि कुनै समस्या छैन ।’

निर्वाचित भइसकेपछि पनि उनले सो दाबीलाई निरन्तरता दिएका छन् । रातोपाटीसँग उनले भने, ‘गठबन्धनमा आबद्ध दलहरूबीच मलाई मुख्यमन्त्री बनाउने एक किसिमको समझदारी छ । लिखित त छैन । निर्वाचनपछि मुख्यमन्त्रीबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि समझदारी भएको भएको छ । शीर्ष नेताहरूले समझदारी कार्यान्वयन गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप