बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश चोलेन्द्रले भने– सर्वोच्च जान्छु तर न्यायिक र प्रशासनिक काम गर्ने सोच छैन’

बुधबार, २१ मङ्सिर २०७९, १३ : ००
बुधबार, २१ मङ्सिर २०७९

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत जाने भएपनि इजलासमा नबस्ने र अन्य प्रशासनिक काम पनि नगर्ने बताएका छन् । बुधबार रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्यायाधीश जबराले महाभियोग निष्प्रभावी भएसँगै आफू सर्वोच्च जान लागेको बताएका हुन् । 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग निष्प्रभावी भएको पत्र बुझिसकेका छन् । बुधबार संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिएको हो । संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेकाअनुसार मंसिर २१ गते बुधबार जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिइएको छ । निलम्बित प्रधानन्यायाधीश जबरासमेत अन्य ६ वटा निकायलाई महाभियोग निष्प्रभावी भएको पत्र पठाइएको पाण्डेले रातोपाटीलाई बताए । 

उक्त पत्र बुझेसँगै प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत जाने तयारीमा रहेका छन् । रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्यायाधीश जबराले पत्र बुझिसकेको र सर्वोच्च अदालत जाने तयारीमा रहेको बताए । उनले भने– ‘मलाई संसद सचिवालयले महाभियोग निष्प्रभावी रहेको पत्र दिइसकेको छ । म सर्वोच्च अदालत जाने तयारीमा छु ।’

सर्वोच्च अदालत गएर कामकाज पनि गर्नुहुन्छ कि भन्ने रातोपाटीको प्रश्नमा जबराले भने– ‘हामी एक महिना अगाडिबाटै बेञ्चमा बस्दैनौ । अन्य प्रशासनिक काम पनि खासै गर्ने गरिएको छैन । म सर्वोच्च त जान्छु तर न्यायिक वा प्रशासनिक काम गर्ने सोच छैन ।’

गत वर्षको फागुन १ गते संघीय संसदका ९८ सांसदले प्रधानन्यायाधीश जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । महाभियोग प्रक्रियामै रहेको समयमा संसदको कार्यकाल समाप्त भएपछि पूर्ववत् महाभियोग सिफारिस समितिले महाभियोग निरन्तर रहने र अर्को संसदले टुंगो लगाउने भन्दै संसदमा सिफारिस गरेको थियो । 

पूर्ववत् संसदको कार्यकाल सकिएसँगै जबरा सर्वोच्च अदालत जान खोजेपनि सरकारले उनलाई प्रधानन्यायाधीशको निवासबाट बाहिर निस्कन दिएको थिएन ।  मंगलबार जबराले संघीय संसद सचिवालयमा आफ्नो महाअभियोगको सम्बन्धमा के कसो भएको हो र महाभियोग अझै बाँकी नै हो कि सकियो भनेर निवेदन दिएका थिए । उक्त निवेदनमाथि बुधबार संघीय संसद सचिवालयले जबरासहित ५ वटा संवैधानिक निकाय र सर्वोच्च अदालतलाई पत्र पठाएर महाभियोग निष्प्रभावी रहेको पत्र दिएका थिए । 

त्यसपछि जबरा बुधबार नै सर्वोच्च अदालतमा पत्रसहित उपस्थित हुन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप