बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा कसले बनाउला सरकार ? यस्तो छ समीकरण

बुधबार, २१ मङ्सिर २०७९, १२ : ३९
बुधबार, २१ मङ्सिर २०७९

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको मत गणना सम्पन्न भएसँगै सरकार गठनका लागि आवश्यक समीकरणको जोडघटाउ सुरु हुन थालेको छ । संघ र कुनै पनि प्रदेशमा एकल बहुमतको सरकार बन्न नसक्ने प्रस्ट छ । यस्तो अवस्थामा दलहरु सरकार गठनका लागि अंकगणितको लेखाजोखा गर्दै बहुमत जुटाउने खेलमा व्यस्त हुन थालेका छन् ।

सोही क्रममा प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नुपर्ने अवस्था देखिएको छ । प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा ५६ सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् भने समानुपातिकबाट ३७ सदस्य निर्वाचित हुने व्यवस्था छ । यहाँ प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्दछ ।

प्रदेश नम्बर १ मा समानुपातिक तर्फ १८ लाख ९९ हजार १४४ मत गणना भएको छ । जस अनुसार समानुपातिकतर्फ यो प्रदेशमा ठूलो दल बन्दै एमालेले मोटामोटी १४ सिट ल्याउने देखिएको छ । प्रत्यक्षमा एमालेले २५ सिट ल्याएको छ । एमाले प्रत्यक्ष र समानुपातिक गरी ३९ सिट हाराहारी सहित पहिलो पार्टी बनेको छ ।

प्रत्यक्षमा १७ सिट पाएको कांग्रेसले समानुपातिकमा १२ सिट पाउने देखिन्छ । यस आधारमा २९ सिटसहित कांग्रेस दोस्रो दल बन्दैछ । प्रत्यक्षमा ९ सिट पाएको माओवादीले समानुपातिकमा ४ सिट पाउने अवस्था छ । जसको आधारमा माओवादी केन्द्रले प्रदेशसभामा १३ सिट पाउने देखिन्छ ।

प्रत्यक्षमा २ सिट पाएको राप्रपाले समानुपातिकमा ४ सिट पाउने सम्भावना छ । यस आधारमा उसको जम्मा ६ सिट हुने देखिन्छ । यस्तै, प्रत्यक्षमा एउटा पनि सिट नजितेको जसपाले समानुपातिकमा २ सिट र प्रत्यक्षमा ३ सिट जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा १ सिट पाउने देखिन्छ ।

सरकार गठनको विकल्प १

प्रदेश १ मा सरकार गठनका लागि विभिन्न विकल्प छन् । सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको गठबन्धन कायम रहेमा यो प्रदेशमा एमालेले प्रदेश सरकारको नेतृत्व गर्नेछ । ३९ सिटसहित पहिलो पार्टी बनेको एमालेलाई प्रदेशसभामा बहुमत जुटाउन थप ८ सांसदको समर्थन आवश्यक हुन्छ । यस्तो अवस्थामा एमालेसँगै गठबन्धन गरेको राप्रपाको ६ र जसपाको २ सांसदको समर्थनमा एमालेले बहुमत प्राप्त गर्न सक्ने देखिन्छ ।

सरकार गठनको विकल्प २

सत्तारुढ गठबन्धनले पनि सरकार गठनका लागि पहल गर्न सक्छ । यद्यपि, उसले जसपालाई साथ लिन आवश्यक हुन्छ । सत्ता गठबन्धनमा कांग्रेसको २९, माओवादी केन्द्रको १३ र नेकपा एकीकृत समाजवादीको ४ गरी जम्मा ४६ सिट हुन्छ । यस्तो अवस्थामा बहुमत हासिल गर्न यो गठबन्धनले दुई सिटसहितको जसपालाई साथ लिन आवश्यक हुन्छ ।

विकल्प–३

सत्ता गठबन्धन टुटेको अवस्थामा यो प्रदेशमा दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर पनि सरकार गठन हुन सक्छ । तर यो सम्भावना झिनो छ । अर्कोतिर एमालेले माओवादी केन्द्रसँग मिलेर पनि सरकार बन्न सक्ने सम्भावना प्राविधिक रुपमा कायम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप