बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभा : १७ जनाले गरे संसदीय यात्रामा ‘डेब्यु’

मन्त्रिपरिषद्‌मा होलान् त हावी ?
बुधबार, २१ मङ्सिर २०७९, १२ : २५
बुधबार, २१ मङ्सिर २०७९

कर्णाली प्रदेशसभामा ०७४ सालको तुलनामा यो पटक नयाँ अनुहारको वर्चश्व देखिएको छ । यद्यपि समानुपातिकतर्फबाट समेटिनेहरूको सूची आउन बाँकी नै छ ।​ प्रत्यक्षतर्फ २४ सिट रहेको प्रदेशसभामा १७ जनाले पहिलो पटक संसदीय यात्रा तय गरेका छन् । डेब्यु गर्नेमा पनि धेरैजसो युवा र पढेलेखेका भएकाले अघिल्लो पटक भन्दा प्रदेश सरकारको काम कारबाही र नीति निर्माणका क्षेत्रमा अपेक्षाकृत नतिजा आउनसक्ने अपेक्षा गरिएको छ ।

पहिलो पटक संसदीय यात्रामा ‘डेब्यु’ गर्नेमा सुर्खेतबाट २ जना रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोख्रेल, १ (२) बाट निर्वाचिन नेकपा (माओवादी केन्द्र) का कृष्णबहादुर जिसीले पहिलो पटक संसदीय यात्रा तय गरेका हुन् ।

कांग्रेस नेता पोख्रेल पार्टीभित्र पाका नेता भएपनि अहिलेसम्म संसदीय चुनावमा लडेका थिएनन् । १ पटक भने स्थानीय चुनाव लडेका थिए । माओवादी केन्द्रको प्रदेश कमिटी उपाध्यक्ष समेत रहेका जिसी माओवादीभित्र युवा र आशालाग्दा नेताको रुपमा गनिन्छन् ।

दैलेख जिल्लाबाट पहिलो पटक संसदीय यात्रा तय गर्नेमा ३ जना छन् । १ (१) बाट कांग्रेसका पूर्णबहादुर खत्री , १ (२) बाट कांग्रेसकै कृष्णबहादुर विसी र २ (१) बाट कांग्रेसकै घनश्याम भण्डारीले पहिलो पटक संसदीय यात्रा तय गरेका छन् । खत्री नेविसंघ दैलेखको संस्थापक हुन् भने नेपाल रेडक्रस सोसाइटी र नेपाल परियोजन संघमा लामो समय काम गरेको अनुभव उनीसँग छ । बिसीले संसदीय यात्रा तय गर्ने वातावरण पाउँदा पनि विजय हात पार्न सकेका थिएनन् । ०७४ मा पराजित भएका उनी यो पटक गठबन्धनको बलमा चुनाव जित्न सफल भए । उनी कांग्रेसको पूर्वजिल्ला सभापति समेत भइसकेका नेता हुन् ।

यस्तै भण्डारी कर्णाली प्रदेशसभामा सबैभन्दा कान्छा सांसद हुन् । यसअघि पाँच वर्ष दुल्लु नगरपालिकाको मेयर भएर काम गरेका उनी युवाहरूबीच परिचित छन् ।  राजनीतिमा आउनुअघि पत्रकारसमेत रहेका भण्डारीलाई कांग्रेसभित्र मन्त्रीको लागि समेत दाबेदार नेताको रुपमा हेरिएको छ । उनी स्वयमले पनि मन्त्रीका लागि आकांक्षा जाहेर गरिसकेका छन् ।

सल्यान (१) बाट निर्वाचित माओवादीका भीमप्रकाश शर्मा र (२) बाट निर्वाचित कांग्रेसका सुरेश अधिकारीले पनि पहिलो पटक संसदको यात्रा तय गर्न सफल भए । शर्माले यसअघि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयमा रहेर काम गरेका थिए भने अधिकारी यसअघि सारदा नगरपालिकाको नगर प्रमुख भएर पाँच वर्षे कार्यकाल पूरा गरिसकेका व्यक्ति हुन् छन् । अधिकारी कांग्रेसका सोही क्षेत्रका क्षेत्रीय सभापति हुन् ।

रुकुम पश्चिमबाट निर्वाचित दुवै जना नयाँ अनुहार हुन् । १ (क) बाट निर्वाचित महेन्द्र केसी जनयुद्ध लडेर आएका नेता हुन् भने (२) बाट निर्वाचित राजकुमार शर्मा माओवादीभित्र सिनियर नेता हुन् । 

केसी पनि माओवादीबाट नै निर्वाचित भएका हुन् । शर्माले यसअघि पाँच वर्ष रुकुम जिल्ला समन्वय समितिको प्रमुख भएर काम गरेका थिए । यद्यपि संसदीय निर्वाचनमा भने पहिलो पटक भाग लिएर निर्वाचित भएका हुन् ।

माओवादीबाट मुख्यमन्त्रीको दाबेदार मानिएका शर्मा माओवादीको प्रदेश अध्यक्ष समेत भइसकेका नेता हुन् ।   जाजरकोट (१) बाट निर्वाचित कांग्रेसका बेदराज सिंह पनि नयाँ अनुहारमा पर्दछन् । ०७४ मा सोही पदमा पराजित उनले दोस्रो प्रयासमा संसदको यात्रा तय गरेका हुन् । सिंह कांग्रेसको जिल्ला सभापति हुन् ।

कांग्रेसभित्र पाका नेता मानिएका कालिकोटका हिक्मत विष्टले तेस्रो प्रयासमा संसदीय यात्रा तय गर्न सफल भएका छन् । कालिकोट (२) बाट गठबन्धनको बलमा निर्वाचित भएका उनी यसअघि दुई पटक पराजित भएका थिए ।

यस्तै डोल्पा (१) बाट निर्वाचित एमालेका जिल्ला अध्यक्ष शेरबहादुर बुढा, हुम्ला (१) बाट निर्वाचित माओवादीका रणसिंह परियार, मुगु (१) बाट निर्वाचित एमालेका जितबहादुर मल्ल, २ बाट निर्वाचित माओवादीका मंगलबहादुर शाही पनि पहिलो पटक संसदीय यात्रा तय गर्नेमा पर्छन् ।

यस्तै जुम्ला (१) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार देबेन्द्रबहादुर शाही र २ बाट निर्वाचित एमालेका टेकराज पछाई पनि सोही सूचीमा पर्दछन् । यद्यपि उनी यसअघि ०७४ मा प्रतिनिधि सभा चुनाव लड्दा पराजित भएका थिए ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन एवं राजनीतिक विश्लेषक पिताम्बर ढकालले नयाँ अनुहार संसदमा आउनु सकराात्मक भएको बताए । यद्यपि उनीहरुले सभाका आफ्नो ‘पफर्मेन्स’ कस्तो देखाउँछन् भन्ने कुरा महत्त्वपूर्ण हुने उनको भनाइ छ । ‘यसअघिको प्रदेश सभामा युवाहरू भएपनि खासै ‘पफर्मेन्स’ देखाउन सकेनन्,’ उनले भने,‘ अहिलेका युवा सांसदहरु पढेलेखेका अनुभवी पनि भएकाले विगत भन्दा केही अपेक्षाकृत काम गर्न सक्छन् की भन्ने लागेको छ ।’

ढकाल युवा अनुहार मन्त्रिपरिषदमा पनि हावी हुनुपर्ने तर्क राख्छन् । प्रदेश सभामा दोहोरिनेमा डोल्पा (२) बाट बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही, सुर्खेत २ (१) बाट एमालेका प्रदेश इञ्चार्ज यामलाल कँडेल २ (२) बाट निर्वाचित माओवादीका विन्दमान विष्ट, हुम्ला (२) बाट निर्वाचित बहालवाला मुख्यमन्त्री जीवन बहादुर शाही रहेका छन् ।

यस्तै जाजरकोट (२) बाट निर्वाचित कांग्रेसका राजिवविक्रम शाह, दैलेख २ (२) बाट निर्वाचित एमालेका विनोद कुमार शाह, कालिकोट (१) बाट निर्वाचित दुर्गबहादुर रावतले यसअघि नै प्रतिनिधि सभाको अनुभव बटुलिसकेका छन् । कांग्रेसका शाहले ०७०, एमालेका शाहले ०५१ र माओवादीका रावतले ०७४ मा प्रतिनिधि सभामा चुनाव जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप