आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

लोकप्रिय मतसँगै एमाले र माओवादीको घट्यो सांसद सङ्ख्या

एमालेलाई ४३, माकेलाई २१ सिट घाटा
बुधबार, २१ मङ्सिर २०७९, १० : ५३
बुधबार, २१ मङ्सिर २०७९

निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनको समानुपातिकतर्फको मत गणना सकिएको जनाएको छ । जसमा कूल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको आयोगको भनाइ छ ।

निर्वाचन आयोगले आफ्नो आधिकारिक वेबसाइटमा राखेको समानुपातिक नतिजा अनुसार सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याएको छ । एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा अब उसका प्रतिनिधि सभाका सांसद ७८ जना हुने भएका छन् ।

५ वर्ष अघि २०७४ को निर्वाचनमा नेकपा एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो । अघिल्लो निर्वाचनमा पाएको मतको तुलनामा यो पटक एमालेको ३ लाख २७ हजार ८५३ मत कम आएको छ । लोकप्रिय मत कम आएपछि दलहरूले पाउने समानुपातिक सांसद सङ्ख्या पनि घट्न पुगेको छ ।

त्यस्तै प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो बनेको नेपाली कांग्रेसको पनि यो निर्वाचनमा समानुपातिकतर्फको लोकप्रिय मत घटेको छ । यो पटक कांग्रसेले २७ लाख १५ हजार २२५ मत ल्याएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी कांग्रेसका ८९ सिटसहित पहिलो दल बनेको छ । तर अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएकोमा यो पटक पहिलाको तुलनामा ४ लाख १३ हजार १६४ मत कम आएको छ ।

माओवादी केन्द्रको पनि यो पटक लोकप्रिय मत घटेको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको माओवादीले यो पटक समानुपातिकमा ११ लाख ७५ हजार ६८४ मत ल्याएको छ । समानुपातिकमा पाएको मत अनुसार माओवादीले यो पटक समानुपातिकबाट १४ सिट मात्र थपेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ गरी माओवादीका प्रतिनिधि सभाका सांसद ३२ सिट मात्र हुने भएको छ ।

यो पटकको निर्वाचन परिणाममा एमाले, कांग्रेस र माओवादी घट्न पुग्दा केही नयाँ दल अगाडि आएका छन् । रास्वपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी संसद्मा प्रवेश गर्दा राप्रपाले पनि विगतको तुलनामा आफ्नो सिट सङ्ख्या बढाएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेस ८९ सिटसहित पहिलो दल बन्दा एमाले ७८ सिटसहित दोस्रो, माओवादी केन्द्र ३२ सिटसहित तेस्रो स्थानमा रहेको छ । यसरी एमालेलाई ४३ र माओवादी केन्द्रलाई २१ सिट घाटा हुँदा कांग्रेसलाई २६ सिट नाफा भएको छ ।

रास्वपा प्रत्यक्ष सात र समानुपातिक १३ गरी चौथो दल बनेको छ । त्यसै गरी प्रत्यक्ष सात र समानुपातिक ७ गरी १४ सिटसहित राप्रपा पाँचौँ दल बनेको छ । जसपा प्रत्यक्षमा ७ र समानुपातिक ५ सहित १२ सिटसहित छैँठौँ दल बन्दा प्रत्यक्षमा एक स्थान जितेको जनमत पार्टीले समानुपातिकमा ३९४६५५ मत ल्याई रास्ट्रिय दलको मान्यता प्राप्त गर्नुका साथै चार सिटसमेत हात पारेको छ l

एकीकृत समाजवादी प्रत्यक्षतर्फमात्र १० सिट जित्न सफल भएको छ । यो पार्टीले तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिक मत खेर गएको छ । त्यसैगरी नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेमकिपा १ र स्वतन्त्र ५ सांसद निर्वाचित भएका छन् ।

यो निर्वाचनमार्फत १२ दल प्रतिनिधि सभामा प्रतिनिधित्व गर्न पुगे पनि थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न ७ दलमात्र सफल भएका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फ गनिएका सदर मत १ करोड ५ लाख ६० हजार ८२ मध्ये ४० दलले पाएका १२ लाख ८८ हजार ३ सय ७० मत खेर गएको छ। समानुपातिक निर्वाचन प्रणालीमा सहभागी ४७ दलमध्ये थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाउन नसक्दा ४० दलले पाएका मत खेर गएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप