शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मलखादको विषयलाई लिएर सिम्रौनगढमा तनाव

मङ्गलबार, २० मङ्सिर २०७९, १९ : ३५
मङ्गलबार, २० मङ्सिर २०७९

बाराको सिम्रौनगढ नगरपालिका वडा नं ४ मा रासायनिक मलको विषयलाई लिएर झडपको अवस्था सिर्जना भएको छ । २ दिनअघि रासायनिक मलको लागि आवेदन दिन पुगेका स्थानीयहरूले ३ बजेपछि नै वडा कार्यालय बन्द भएको देखेपछि स्थानीयहरूले वडा कार्यालयमा ताला लगाएका थिए । सिम्रौनगढ नगरपालिका वडा नं ४ का वडाध्यक्ष अवधेश सहनीले सोही ताला आज ताला खोल्ने क्रममा स्थानीयसँग झडप भएको सिम्रौनगढ नगरपालिकाका सूचना अधिकारी अर्जुन  यादवले जनाएका छन् । 

मलखादको लागि वडा कार्यालयमा आवेदन बुझाउन आएका स्थानीयहरूले लगाएको ताला वडाध्यक्षले तोड्न खोज्दा झडपको अवस्था सिर्जना भएको हो । सूचना अधिकारी यादवले खाद मल वितरण गर्न स्थानीयहरूसँग नागरिकता सङ्कलन गर्ने क्रममा ४ बजेसम्म कार्यालय खोल्नुपर्ने तर कर्मचारीले ३ बजे नै ताला लगाएर हिँडेपछि सुरु भएको विवादले झडपको अवस्था सिर्जना भएको बताए ।

वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मङ्सिर १५ गतेदेखि १८ गतेसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग गरिएको  थियो । केही किसान १८ गते अपराह्न मलका लागि आवेदन दिन पुगेका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले मलखादको विषयलाई लिएर सामान्य विवाद भएको बताएका छन् । ‘सामान्य धक्कामुक्की मात्रै हो ठुलो केही भएको छैन, अव भोलि दुवै पक्षबीच बैठक बसेर ताला खोल्ने र नगरपालिकाबाट मलखाद बाँड्ने सहमति भएको छ’ प्रहरी उपरीक्षक बोगटीले भने । आज सहमति हुन नसक्दा २ दिन अघि वडा कार्यालयमा लागेको ताला भने भोलि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप