आकाशे पुल मर्मत गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ । हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन् । जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन् ।
कामपाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण गरेको हो भने पुराना पुल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण भएका हुन् । पुराना पुलको अवस्था बुझ्न प्राविधिकलाई निर्देशन दिइएको र प्राविधिकको स्थलगत निरीक्षणपछि मर्मतको काम अघि बढ्ने कामपाले जानकारी दिएको छ ।
कामपाको लगानीमा निर्माण भएका बाहेक पुल निजी क्षेत्रले बनाएकाले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेको भनाइ छ ।
दुई दिनअघि कामपाको उपप्रमुख सुनिता डङ्गोलले पुरानो पुल असुरक्षित रहेको यात्रुबाट गुनासो आएकाले त्यस्ता पुलको समस्या यकिन गरी मर्मत गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई पत्राचार गर्न निर्देशन दिएकी थिइन् ।
महानगरले २०७६ सालमा पैदलयात्रुको अत्यधिक चाप भएका आठ स्थानमा नयाँ आकाशे पुल निर्माण गर्ने निर्णय गरेको थियो । तर हालसम्म चार वटा मात्र निर्माण भएको छ । महानगरले टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडकमा आकाशे पुल निर्माण गर्ने भने पनि लामो समय बितिसक्दा काम अघि बढ्न सकेको छैन ।
हाल कामपाभित्र सुन्धारा, वीर अस्पताल, रत्नपार्क-भोटाहिटी, जमल, रत्नपार्क-बागबजार, भद्रकालीमा पुराना आकाशे पुल सञ्चालनमा छन् भने रत्नपार्कमा एउटा सव–वे सञ्चालनमा छ । त्यसैगरी स्थानान्तरण गर्न सकिने गरी कामपाले चावहिल चोक, कोटेश्वर, रामशाह पथ र नेपाल विद्युत् प्राधिकरण केन्द्रीय भवन अगाडिका स्थानमा पुल सञ्चालनमा ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी