बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मिश्रको चुनावी हिसाब : ३३ लाख रुपैयाँ सहयोग प्राप्त, खर्च साढे २४ लाख

मङ्गलबार, २० मङ्सिर २०७९, १३ : ५३
मङ्गलबार, २० मङ्सिर २०७९

काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधि सभाका उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हालै सम्पन्न निर्वाचनका क्रममा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोग समक्ष पेश गरेका छन्।  आफूलाई निर्वाचनमा कूल ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको पनि मिश्रले खुलाएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘पहिलेजस्तै यस पटक पनि निर्वाचन लड्न मैले आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेको थिएँ। निर्वाचन आयोगले तोकेको खर्च सीमा रू २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देश मार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ। त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो, जसबाट प्राप्त कूल सहयोग लगभग रू ३३ लाख हुन गएको छ।’

सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा २१ लाख ५० हजार रुपैयाँ खर्च भएको र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम पार्टीलाई बुझाएको पनि उनले बताएका छन् । उनले भनेका छन्, ’यस पटक निर्वाचन खर्चपश्चात बचेको लगभग रू ८ लाख ५० हजार 'काठमाडौँ क्षेत्र नं १ सरोकार कोष' मा जानेछ।’ 

काठमाडौँ क्षेत्र नं एकका मतदाताप्रति आभार प्रकट गर्न मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने घोषणा उनले निर्वाचन लगत्तै गरेका थिए । 

उनले भनेका छन्, ‘निर्वाचनमा करोडौँ करोडको अपारदर्शी खर्चका कारण झनझन चुनावी विकृति बढिरहेको सन्दर्भमा निर्वाचनमा प्राप्त सहयोग, भएको खर्च र बचेको रकमबारे सबै उम्मेदवारले इमानदारीपूर्वक पारदर्शी हुने हो भने मात्र पनि निर्वाचन सुधार र लोकतन्त्रको उन्नयनमा उल्लेख्य रूपमा सकारात्मक असर पर्नेछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप