विवाहको भोजले पाल्पाका ८० जना भन्दा बढी बिरामी
![विवाहको भोजले पाल्पाका ८० जना भन्दा बढी बिरामी](https://rpcdn.ratopati.com/media/albums/bhoj-chepang_lqK7VD5AJB.webp)
विवाहमा भोज खाएपछि पाल्पाको चिर्तुङधारा गाउँका ८० जनाभन्दा बढी बिरामी परेका छन् ।
पाल्पाको बगनासकाली गाउँपालिका-१ चिर्तुङधारास्थित बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जना भन्दा बढी बिरामी परेका हुन् । मंसिर १७ गते शनिबार चिर्तुङधारास्थित एक विवाहमा भोज खाएकाहरु बिरामी परेको चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख सिअहेव अधिकृत नोदप्रसाद बस्यालले जानकारी दिए ।
घोरबन्दा गाउँका ताराबहादुर गाहा, रिखीराम गाहा, दलबहादुर गाहा, गुनबहादुर गाहा लगायत दर्जन बढी परिवारका सबै बिरामीलाई सोमबार जाँच गरिएको स्वास्थ्यचौकी प्रमुख बस्यालले बताए । बिरामी भएकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको थियो ।
स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि २२ जना बिरामीको तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा उपचार भएको वडाध्यक्ष शेरबहादुर रानाले जानकारी दिनुभयो । वडाध्यक्ष रानाका अनुसार विवाह भएको घरमा गएर भोज खाने प्रायः सबै बिरामी परेका हुन् । प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती गएका उनीहरू बिरामी भएका थिए । कतिपयले पानी धमिलो देखिएको र पानीकै कारण पनि हुन सक्ने आशंका गरेका छन् ।