शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तटबन्धसम्बन्धी विवाद सल्टाउन दुई देशका अधिकारीबीच छलफल

सोमबार, १९ मङ्सिर २०७९, ०२ : ००
सोमबार, १९ मङ्सिर २०७९

नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच आज जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको हो ।

आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो । ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए । सीमामा भारत पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेपछि नेपालतर्फ खलङ्गाका स्थानीयहरूले आइतबार चर्को विरोध गरेका थिए ।

सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । छलफलमा दार्चुलाका प्रअजिअ उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै हानिनोक्सानी हुने गरी काम नगर्न आग्रह गरे । 
 
छलफलमा विवाद भएको ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने र विवाद नभएको ठाउँमा मात्र निर्माण गरिने सहमति भएको सहायक प्रजिअ हेमन्ती साउदको भनाइ छ । भारतीय पक्षबाट एडिएम र एसडिम उपस्थित भएका थिए भने नेपालका तर्फबाट सुरक्षा निकायका प्रमुखहरू राजनीतिक दलका पदाधिकारीहरूसमेत उपस्थिति रहेको थियो । 

भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातदेखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको छ। सो ग्याविन जाली तत्काल हटाइदिन भारतीय अधिकारीलाई प्रजिअले आग्रह गरेका थिए । भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका थिए । स्थानीयवासीले तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप