बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अर्को नारायण गोपाल जन्माउनु जरुरी छ : प्रदीप पौडेल

सोमबार, १९ मङ्सिर २०७९, १९ : ०७
सोमबार, १९ मङ्सिर २०७९

नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् । सोमबार स्वरसम्राट नारायण गोपालको ३२ औँ पुण्य स्मृतिका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली गीत, संगीतमा मौलिकता हराउन लागेको भन्दै मौलिकता जोगाउनुपर्ने बताएका हुन् । 

नेता पौडेलले नेपाली गीत, संगीतको मौलिक आधार स्वर्गीय गायक नारायणगोपाल रहेको उल्लेख गर्दै मौलिकता बचाउनुको निम्ति अर्को नारायण गोपाल जन्माउनु आवश्यक रहेको बताए । उनले भने, ‘हाम्रो मौलिकताको आधार नारायणगोपाल गुरुवाचार्य हुनुहुन्छ । हामीले नारायण गोपाल अर्को जन्माउनु जरुरी छ मौलिकता बचाउने हो भने । हामीले आफ्नो मौलिकता बिर्सेर अर्कैतिर दौडिएका छौँ कि ? गम्भिर प्रश्न छ । मौलिकता सँग नजोडिएको सभ्यता, संस्कृति, मानव बस्ती आफ्नो पहिचान बोकेको हुन सक्दैन । पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत संगीत हस्तान्तरण गर्न यो क्षेत्रमा पछिल्लो पुस्ता पनि जन्मिनु जरुरी छ । त्यसको निम्ति राज्यले वातावरण बनाउनुपर्छ ।’

नेता पौडेलले गीतकार तथा संगीतकारहरुले राष्ट्रको प्रतिविम्ब झल्काउने बताए । गीतकार, संगीतकारहरुलाई राज्यले सम्मान गर्न नसकेको भन्दै उनले यस विषयमा राज्यले ध्यान पुर्‍याउनुपर्ने बताए । उनले भने – ‘गीत संगीत भनेको कुनै दलको हुँदैन । कुनै भाषा अथवा कुनै धर्मको हुँदैन । त्यो राष्ट्रको हुन्छ । गीतकार, संगीतकारहरुले राष्ट्रको प्रतिबिम्ब झल्काउने गर्नुहुन्छ । त्यस अनुसार हामीले उहाँहरूलाई सम्मान गर्न सकिरहेका छैनौँ । त्यो कुरालाई आगामी दिनमा महसुस गर्ने स्थिति निर्माण गर्न सक्नुपर्छ ।’

उनले पश्चिमा राष्ट्रहरूले आफ्नो सभ्यतासँग जोडेर संगीत र गीतको विकास गरिरहेको भए पनि नेपाली गीत, संगीत पछि परिरहेको बताए । उनले मौलिकतामा आधारित गीत, संगीतको विकास हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप