शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप फुटबल : अर्को सर्प्राइज देला जापानले ?

सोमबार, १९ मङ्सिर २०७९, १७ : ०३
सोमबार, १९ मङ्सिर २०७९

सर्प्राइजले भरिएको कतार विश्वकपमा जापानले नयाँ–नयाँ हेडलाइन बनाइरहेको छ । विश्वकपअघि सायदै कसैले कल्पना गरेका थिए होलान् स्पेन र जर्मनी जस्ता महारथी रहेको समूह ईबाट जापान समूह विजेता हुँदै नकआउट चरणमा प्रवेश गर्छ भनेर । तर अब यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको जापान क्वार्टरफाइनलमा प्रवेश गरे पनि कसैले आश्चर्य मान्ने छैनन् । जापान सोमबार राति सन् २०१८ को विश्वकपको फाइनलमा पुगेको क्रोएसियासँग अल जानुब स्टेडियममा अन्तिम १६ को खेलमा भिड्दैछ । आजको खेलमा जापानलाई नयाँ इतिहास रच्ने अवसर छ ।

तर, पछिल्लो समय विश्वकपमा क्रोएसियाको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । विश्वकपका पछिल्ला १० खेलमध्ये क्रोएसिया ९ मा अपराजित रहेको छ । पछिल्लोपटक क्रोएसिया विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित भएको थियो । प्रशिक्षक ज्लाटको डालिच आफ्नो टोली विश्व फुटबलको एउटा शक्तिको रूपमा स्थापित भएको दाबी गर्छन् । ‘मात्र ४० लाख जनसङ्ख्या भएको क्रोएसियाले हालसम्म प्राप्त गरेको नतिजा अद्भुत छ,’ रोयटर्ससँग कुराकानी गर्दै उनले भनेका छन् ।

त्यस्तै आफूले खेलका पछिल्ला दुई विश्वकपमा क्रोएसिया अन्तिम–१६ मा अपराजित छ । यता जापान भने कहिल्यै पनि अन्तिम १६ भन्दा माथि उक्लन सकेको छैन । जापान यसअघि सन् २००२, २०१० र २०१८ मा अन्तिम–१६ बाट नै बाहिरिएको थियो । गत विश्वकपमा बेल्जियमविरुद्ध २–० को अग्रता बनाउँदा पनि जापान पराजित हुन पुगेको थियो । 

जापान डिफेन्डर युटो नागामोटो भन्छन्, ‘हामीले त्यो खेल अझै पनि बर्सेका छैनौँ । पछिल्लो चार वर्ष हाम्रो लागि निकै कठिन थियो । तर यसपटक मानसिक र शारीरिक रुपमा हामीलाई विकसित गरेका छौँ । कुनै पनि विश्वकपमा भाग लिएका जापानको टोलीमध्ये अहिलेको टोली सबैभन्दा सशक्त रहेको छ ।’

सन् १९९७ यता यी दुई टोली तीन पटक भिडेका छन् । मैत्रिपूर्ण खेलमा जापानले क्रोएसियालाई हराए पनि सन् १९९८ को विश्वकपको समूह चरणमा क्रोएसिया विजयी भएको थियो । सन् २००६ को विश्वकपमा दुई टोली बीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप